पहाड र तराई–मधेशमा दशैँको टीका परम्परा फरक, आशीर्वादको अर्थ उस्तै

विजयादशमीमा पहाडमा जस्तो निधारमा रातो टीका र जमरा लगाउने चलन तराई–मधेशमा व्यापक छैन । तर परिवारका अग्रजले आफूभन्दा कान्छालाई आशीर्वाद दिने र विजयको उत्सव मनाउने परम्परा भने दुवै क्षेत्रमा समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँछन् । राकेशका अनुसार तराई–मधेशमा पनि विजयादशमीका दिन परिवारका ज्येष्ठ सदस्यले कनिष्ठलाई टीका लगाइदिने र आशीर्वाद दिने चलन छ । तर पहाडी क्षेत्रमा देखिने रातो टीका, अक्षता र जमराको संयोजन त्यहाँ उस्तै रूपमा प्रचलित छैन । दशैँ मनाउने विधिमा भिन्नता भए पनि यसको मूल भावना भने आशीर्वाद, विजय र पारिवारिक सम्बन्धसँग जोडिएको उनको भनाइ छ । ‘टीका लगाउनुको अर्थ आफूभन्दा सानालाई आशीर्वाद दिनु हो । त्यसैले विजयादशमी विजयको प्रतीक पनि हो,’ राकेश भन्छन् । उनका अनुसार विजयादशमीलाई रामले रावणमाथि विजय प्राप्त गरेको प्रसंगसँग जोडेर पनि व्याख्या गरिन्छ । विजयको उत्सवका रूपमा मनाइने यस पर्वले मानिसलाई आपसी भेटघाट, शुभकामना र खुसी साटासाट गर्ने अवसर दिन्छ । घरघरमा जमरा पुर्याउने चलन हराउँदै तराई–मधेशमा विगतमा दशैँका बेला ब्राह्मणहरू घरघरमा पुगेर जमरा लगाइदिने र दक्षिणा लिने चलन थियो । यो परम्परा ब्राह्मण समुदायका लागि आम्दानीको स्रोतसमेत बनेको राकेश बताउँछन् । तर पछिल्लो समय यस्तो अभ्यास घट्दै गएको छ । ‘पहिला ब्राह्मणहरू घरघरमा गएर मानिसको टाउकोमा जमरा राखिदिने र दक्षिणा लिने गर्थे । अहिले त्यो चलन पनि हराउँदै गएको छ,’ उनी भन्छन् । उनका अनुसार पहिले घरघरमा पुगेर जमरा लगाइदिने परम्परामा मानिसहरूको रुचि बढी थियो । अहिले भने यस्तो अभ्यास गर्ने र गराउने दुवै पक्षको सहभागिता घटेको छ । यसले दशैँसँग जोडिएका पुराना धार्मिक तथा सांस्कृतिक अभ्यासमा आएको परिवर्तनलाई देखाउँछ । रामलीला अझैं सांस्कृतिक आकर्षण तराई–मधेशमा दशैँको अर्को विशेषता रामलीला पनि हो । विशेषगरी पश्चिम तराईका विभिन्न गाउँमा रातिको समयमा रामको जीवन र रामायणका घटनामा आधारित रामलीला प्रदर्शन गर्ने परम्परा रहेको राकेश बताउँछन् । रामलीलाले धार्मिक कथा सुनाउने मात्र नभई समुदायका मानिसलाई एकै ठाउँमा भेला गराउने काम पनि गर्छ । दशैँका बेला हुने पूजापाठ, भजनकीर्तन र रामलीलाले धार्मिक आस्थासँगै सामूहिक सहभागिता र मनोरञ्जनलाई निरन्तरता दिएका छन् । दसैँका बेला जुवा खेल्ने चलन पनि पहिले रहेको तर अहिले कानुनी निषेध र सामाजिक परिवर्तनसँगै यस्तो अभ्यास घट्दै गएको राकेशको भनाइ छ । उनका अनुसार समयसँगै पर्व मनाउने विधि र त्यससँग जोडिएका अभ्यास परिवर्तन भइरहेका छन् । केही पुराना चलन हराउँदै गएका छन् भने केहीले नयाँ स्वरूप लिएका छन् । तर दसैँको मूल भाव—विजयको उत्सव, परिवारका सदस्यबीच आशीर्वादको आदानप्रदान र सामाजिक सम्बन्धको नवीकरण—अझै कायम रहेको उनको विश्लेषण छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

बंगलादेशका महेदी हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
४ कात्तिक, काठमाडौं । बंगलादेशका अलराउन्डर महेदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले बुधबार महेदीलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो। ३१ वर्षीय महेदी दायाँहाते ब्याटर र दायाँहाते अफ स्पिन बलर हुन्। उनी अहिले आईसीसी टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा आठौं स्थानमा छन्। महेदीले बंगलादेशका लागि ७८ टी–२०… ...

मनाइयो ब्रम्हायणी जात्रा, बालियो बत्ती (तस्वीरहरु)
व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै शरीरमा दियो बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसो गरेमा मनोकाक्षा पूरा हुने र पाप नष्ट हुने जनविश्वास छ । ...

सलमान खान थिए निशानामा, टाइगरलाई आक्रमण गर्नुअघि सलमानको घरको रेकी
बलिउड अभिनेता टाइगर श्रफमाथि भएको गोली प्रहारको घटनामा नयाँ खुलासा भएको छ । टाइगरमाथि गोली चलाउने आरोपितहरूले मुम्बई पुगेपछि अभिनेता सलमान खानको घर ‘ग्यालेक्सी अपार्टमेन्ट’को रेकी गरेका थिए । तर, सलमानको घरबाहिर कडा सुरक्षा व्यवस्था देखेपछि उनीहरूले आफ्नो योजना परिवर्तन गरेको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ । सलमानलाई छाडेर टाइगरलाई बनाए निशाना समाचारअनुसार, टाइगरमाथि… ...



