पशुबलिको विरोध धर्मको विरोध होइन : आशिका तामाङ

काठमाडौं, कात्तिक ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले पशुमाथि हुने क्रूरताको विरोध गर्नु धर्मको विरोध नभएको बताउनु भएको छ। उहाँले धार्मिक आस्थाको सम्मान गर्दै पशुलाई अनावश्यक पीडा नदिने व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ। पशुबलिका क्रममा जनावरलाई लखेट्ने, घोच्ने र तड्पाएर मार्ने अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्दै सांसद तामाङले बलि दिने स्थानको व्यवस्थापन र अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “म कसैको आस्था खोस्न खोजिरहेकी छैन, ती अबोध प्राणीको छटपटी पनि देखौँ भनेकी हुँ।” नेपालको संविधानले देशलाई धर्मनिरपेक्ष राज्य मानेको र २०७८ सालको जनगणनाअनुसार ८१ प्रतिशतभन्दा बढी नेपाली हिन्दु धर्मावलम्बी रहेको उल्लेख गर्दै उहाँले बहुसङ्ख्यक समुदायका चाडपर्व तथा धार्मिक अभ्यास बढी चर्चामा आउनु स्वाभाविक भएको बताउनुभएको छ। त्यस्ता अभ्यासका सकारात्मक पक्षसँगै सुधार गर्नुपर्ने विषयमा छलफल गर्नु धर्ममाथिको प्रहार नहुने उहाँको भनाइ छ। “जनावर पनि प्राणी हुन्, उनीहरूलाई पनि दुख्छ, पीडा र डर लाग्छ, बोल्न सक्दैनन् भन्दैमा उनीहरूको पीडा हुँदैन र ?” उहाँले प्रश्न गर्नुभएको छ। पशु मार्नैपर्ने अवस्था भए पनि सकेसम्म कम पीडा हुने तरिका अपनाउनुपर्नेमा जोड दिँदै सांसद तामाङले खुला ठाउँमा बालबालिकाले समेत देख्ने गरी पशुलाई तड्पाएर मार्ने चलन व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ। उहाँले बालबालिकालाई त्यस्ता दृश्य हेर्न बाध्य पार्न नहुने र बलि दिने स्थानको उचित व्यवस्थापन तथा नियमित अनुगमन हुनुपर्ने धारणा राख्नुभएको छ। सांसद तामाङले पशुमाथिको क्रूरता रोक्नुपर्ने विषयलाई भावनात्मक आग्रहमा मात्र सीमित नराखी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँग पनि जोड्नुभएको छ। उहाँका अनुसार मुलुकी अपराध संहिताको दफा २९० ले पशुलाई कुट्ने, सामर्थ्यभन्दा बढी दौडाउने तथा यातना दिने कार्यलाई निषेध गरेको छ। यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभएको छ। “कानुन लेखिएको छ भने लागू पनि हुनुपर्यो,” उहाँले भन्नुभएको छ। त्यस्तै, नेपाल विश्व पशु स्वास्थ्य सङ्गठन (WOAH) को सदस्य रहेको उल्लेख गर्दै उहाँले सङ्गठनको पशु स्वास्थ्य संहिताको अध्याय ७.१ ले पशुलाई अनावश्यक पीडा र त्रासबाट जोगाउने मान्यतालाई महत्त्व दिएको बताउनुभएको छ। उक्त संहिता आफैँमा नेपालको दण्ड कानुन नभए पनि त्यसमा उल्लिखित मान्यतालाई व्यवहारमा उतार्न सरकारले आवश्यक काम गर्नुपर्ने उहाँको धारणा छ। धार्मिक आस्था र पशु कल्याणलाई एकअर्काको विरोधीका रूपमा लिन नहुने बताउँदै सांसद तामाङले पशुमाथि हुने हिंसा र क्रूरता न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ। “बुद्ध जन्मिएको यो भूमिमा हिंसा र क्रूरता कम हुँदै जाओस्, भगवान् पशुपतिनाथसँग मेरो यही प्रार्थना छ,” उहाँले भन्नुभएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य,केही दिनमा डिस्चार्ज गर्ने तयारी
पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सामान्य हृदयाघात भएपछि धुम्बाराहीस्थित हेम्स अस्पतालमा भर्ना भएका खनालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार आइतबार भर्ना हुँदा उनको अवस्था असहज रहे पनि अहिले सामान्य छ । उनको उपचार डा. रोशन राउतसहितको चिकित्सक टोलीले गरिरहेको अस्पतालले जनाएको छ । खनालका प्रेस सहयोगी मिलन उपाध्यायका अनुसार अस्पतालले ...

वरिष्ठ नेता बनेलगत्तै चीन जाँदै विद्या भण्डारी : सम्बन्धको नवीकरण मात्रै या नयाँ राजनीतिक सन्देश पनि ?
काठमाण्डु- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेतामा मनोनीत भएपछि पहिलोपटक चीन भ्रमणमा जान लागेकी छन्। भण्डारीनिकट स्रोतका अनुसार, चीन सरकारको निमन्त्रणामा उनी दशैंको टीकापछि बेइजिङ जाने तयारीमा छिन्। भ्रमणबारे सरकारलाई जानकारी भए पनि यसको औपचारिक प्रयोजन, भेटघाटको कार्यसूची र सहभागीहरूको विवरण सार्वजनिक गरिएको छैन। भण्डारीको भ्रमणको समयले राजनीतिक चासो बढाएको छ। सात वर्षभन्दा बढी […] ...

दिल्लीमा अनौठो चुनाव: दिवंगत कुकुर 'गोला'ले जितिन् उपाधि, प्रतिद्वन्द्वी ३९ हजार मत पराजित
भारतको राजधानी नयाँ दिल्लीमा हुने चुनाव भनेपछि राजनीतिक दल, नेता र मतदाताबीचको प्रतिस्पर्धा सम्झिइन्छ । तर, यस पटक दिल्लीमा भएको एउटा चुनावले सबैको ध्यान तानेको छ । यहाँ न कुनै राजनीतिक दल मैदानमा थियो, न त कुनै नेता । चुनाव थियो, सहरका सबैभन्दा मोटो र प्रिय सामुदायिक कुकुरको उपाधिका लागि । ‘फ्याट डग्स अफ दिल्ली’ नामक प्रतियोगितामा दिल्लीकी दिवंगत पोथी कुकुर ...

एउटै जहाज, दुई पाइलट, तर खाना फरक: विमानमा क्याप्टेन र कोपाइलटलाई किन दिइँदैन एउटै खाना ?
एउटै विमानमा सँगै उडान भर्ने क्याप्टेन र कोपाइलटले एउटै खाना खाँदैनन् । सुन्दा सामान्य लाग्ने यो अभ्यासको पछाडि भने विमानमा सवार सयौँ यात्रुको जीवनसँग जोडिएको महत्त्वपूर्ण सुरक्षा रणनीति छ । कल्पना गर्नुहोस्, आकाशमा उडिरहेको विमानका क्याप्टेन र कोपाइलट दुवैले खाएको खाना दूषित रहेछ र दुवै एकैपटक बिरामी परे भने के होला ? विमान नियन्त्रण गर्ने जिम्मेवारीमा रहेका दुवै पाइलट अस्वस्थ भएमा ...


