इलामको पशुपतिनगरस्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरीले साढे १६ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा चौपाया बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि मंसिर ९ गतेसम्म विभिन्न समयमा गरेको कारबाहीका क्रममा १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरका सामान बरामद गरेको हो। गुल्मका अनुसार सूर्योदय नगरपालिकाका सातवटा छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीका क्रममा ३ हजार ५६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, ५७० किलो फर्सीको बियाँ, जुत्ता–चप्पललगायतका सामान तथा चौपाया बरामद गरिएको छ। बरामद गरिएका सामान मानेभञ्ज्याङ, चारमाइल, नाकापानी सीमा इलाका तथा खोलागोदाम क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बलका अनुसार बीओपी मानेभञ्ज्याङ र बीओपी छब्बिसेका संयुक्त टोलीले ती स्थानमा कारबाही गरेका थिए। सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती, पट्रोलिङ तथा निगरानी गर्दै आएको जनाएको छ। सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति एवं सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले आफ्नो कार्यक्षेत्रमा तस्करी नियन्त्रण तथा सीमा सुरक्षालाई प्राथमिकतामा राखेर निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएका छन्। उनी सशस्त्र प्रहरी बलका सहप्रवक्तासमेत हुन्।
पशुपतिनगरबाट साढे १६ लाखको अवैध सामान र चौपाया बरामद

Read Complete Original Article
Published originally on पर्दाफास






