पर्वको छेकोमा चलचित्र

दशैँ आयो कि नेपालको चलचित्र जगतमा आ–आफ्नो चलचित्र एक किसिमको भिडन्त हुने गर्दछ अचेल । आजभन्दा दश वर्षअगाडि त्यस्तो थिएन । त्यतिबेला सकभर दशैँमा आफ्नो चलचित्र चलाउन नपरोस् भन्ने हुन्थ्यो । विशेषगरी महानवमीको दिनसम्म कुनै नयाँ नेपाली चलचित्र चलाउन मानिँदैनथ्यो । विजया दशमीको दिनदेखिमात्रै नयाँ चलचित्र चलाउन होडबाजी हुन्थ्यो । दश वर्षयता दृश्य परिवर्तन भएको छ । हाल फूलपातीको दिनलाई विशेष रूपमा लिने होडबाजी बढेको छ ।
यसपालि फूलपातीभन्दा एकदिन अगाडि ‘१२ गाउँ २’ र फूलपातीको दिन ‘छ माया छपक्कै २’ र ‘ आ बाट आमा २’ प्रदर्शनमा आएको छ भने फूलपातीको भिडन्तलाई छलेर टिकाको पर्सिपल्ट ‘कबड्डी ५’ आउने भएको छ । यी चारवटा चलचित्रबाहेक ‘बाटुलो जुन’ पनि फूलपातीको दिन आउने योजना थियो तर चारवटा चलचित्र पहिला नै भिडन्तमा रहेकाले बाटुलो जुनका निर्माता निर्देशक भुवन केसीको भनाइ अनुसार अब यो चलचित्र कात्तिक २६ गते भाइटीकाको भोलिपल्टमात्रै आउने भएको छ ।
दशैँको फूलपातीको दिन आफ्नो चलचित्र चलाउने मामिलामा दीपकराज गिरी र दिपाश्री निरौलाको टिम अक्सर अगाडि सर्ने गरेको पाइन्छ । तीन वर्षअघि उनीहरूको लोकप्रिय सिक्वेल छक्का पञ्जाको पाँचौं भाग दशैँताका प्रदर्शनमाल्याएका थिए भने योसँगै अभिनेताबाट निर्देशक बनेका विराज भट्टको ‘१२ गाउँ’ र अभिनेता जितु नेपाल ‘मुन्द्रे’को ‘ज्वाइँ साब’ पनि प्रदर्शनमा ल्याइयो र भिडन्तमा ‘ज्वाइँ साब’ले सामान्य सफलतामात्रै हासिल गर्नसक्यो भने ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ले धेरै राम्रो व्यापार गरे ।

एकापसमा भिडेका समिर भट्ट र दीपकराज गिरीले एकअर्कालाई तथानाम लाञ्छना लगाउन भ्याएका थिए । समयलाई ठीक एक वर्ष पछाडि फर्काऔं । २०८२ भदौ तेस्रो साता, जब दशैँको छेको पारेर ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ भिड्ने तरखरमा थिए । त्यतिबेला दीपकराज गिरीले फेसबुकमा सांकेतिक पोष्ट गर्दै ‘आफ्नो हिरो बाघ, अरूको स्याल? बाघ पनि जनावर नै हो ।’ भनी लेख्न भ्याए ।

त्यो तिक्तता यति उग्र थियो कि लाग्थ्यो–यी दुईबीच अब जीवनभर बोलचाल हुने छैन, न पानी बाराबारको स्थिति अन्त्य हुनेछ । त्यो तिक्तता यति उग्र थियो कि लाग्थ्यो । तर, आज २०८३ असोजसम्म आइपुग्दा दृश्य १८० डिग्रीले बदलिएको छ ।
अर्कोतर्फ, दीपकराज गिरी आफ्नो नयाँ सिक्वेल ‘छ माया छपक्कै २’ लिएर बक्सअफिस कब्जा गर्न तम्तयार छन् । यही मौकामा सन्तोष सेनले फेसबुकमा दीपकराज गिरीका तीन फरक अवतारका तस्वीर पोष्ट गर्दै प्रशंसाको ओइरो लगाएका छन् । सेनले लेखेका छन्, ‘के हो दीपक दाइ, एउटै चलचित्रमा यति धेरै फरक–फरक अवतार...रिलिज मितिमा पनि एक्लै हुनुहुन्छ, आनन्द छ... समाजका घटनालाई कथामा जोडेर दर्शकलाई हँसाई–हँसाई हलबाट निकाल्ने तपाईंको शैली नै विशेष लाग्छ...‘छ माया छपक्कै’को सफलताको हार्दिक शुभकामना दीपक दाइ र टिम...।’

दशैँतिहार वा तीज नयाँ वर्षको छेको पारेर चलचित्र रिलिज गर्दा मनग्गे धन कमाइन्छ भन्ने सोचले गर्दा निर्माताहरू त्यही मितिमा चलचित्र चलाउन होडबाजी गरेको पाइन्छ । अरू दिन प्रदर्शनमा चलचित्रले राम्रो आर्जन गर्न नसकेको भन्ने चर्चामा धेरैले भन्ने गरेका छन् कि अहिले चलचित्रहरू आवश्यकताभन्दा संख्यामा आउने गरेको छ र दर्शकलाई ती सबै चलचित्र हेर्न हम्मेहम्मे पर्ने गरेको छ ।

सन्तोष सेनले आफ्नो स्टाटसमा ‘रिलिज मितिमा पनि एक्लै हुनुहुन्छ, आनन्द छ, असोज ३१ गते अरू चलचित्रसँग जुध्नुपरेको छैन’ भन्दै दीपकलाई मक्ख पार्ने प्रयास गरेका छन् । तर, भित्री बक्सअफिस यथार्थ भने सेनले भनेजस्तो सपाट छैन ।

यसपालिको दशैँको फूलपातीमा कुनै ‘एकलौटी राज’ हुने छैन, बरू तीनवटा बलिया सिक्वेलहरू आमनेसामने हुँदैछन् । दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै २’ असोज ३१ गते अर्थात् फूलपातीकै दिन रिलिज हुँदैछ । दीपक–दीपाको ब्राण्ड भ्यालुकै कारण उनीहरूले निर्माण गरेको फिल्मको समीक्षा जस्तो आए पनि लगानी सुरक्षित गरेर नाफै कमाउने गरेका छन् ।
विराज भट्ट र उनका छोरा समीर भट्टको एक्सन सिक्वेल हो, फिल्म ‘१२ गाउँ २’ । अघिल्लो भाग ब्लकबस्टर भए पनि विराजलाई पछिल्लो फिल्म ‘बलिदान’को असफलताको दबाब यसपालि पक्कै छ । यो फिल्म फूलपातीको एक दिनअगावै अर्थात् असोज ३० गते पर्दामा आउँदैछ ।

लामो समयपछि रजतपटमा फर्किएकी सदाबहार अभिनेत्री विपना थापा र स्टार अभिनेता पल शाहको मुख्य भूमिका रहेको भावनात्मक पारिवारिक ड्रामा ‘आ बाट आमा २’ पनि असोज ३० गते रिलिज हुँदैछ । दीपकराज गिरीको ‘छ माया छपक्कै २’ हलमा लाग्नुभन्दा २४ घण्टाअघि नै दुई ठूला प्रतिस्पर्धीले मल्टिप्लेक्सका स्क्रिनहरू ओगटिसकेका हुनेछन् ।
पोहोर सालको दशैँमा हरिवंश आचार्य अभिनित ‘हरिबहादुरको जुत्ता’ र प्रकाश सपूत अभिनित ‘माइतीघर’को साथमा परार सालको सफल ‘चलचित्र १२ गाउँ’का नायक समिर भट्टको ‘बलिदान’ पनि रिलिज गरियो तर यी तिनै चलचित्रको व्यापार सन्तोषजनक रहेनन् ।

असोज ३० गते नै रिलिज गर्ने तय गरेका भुवन केसीले, ‘बाटुलो जुन’पनि यसपालिको एउटा बलियो प्रतिस्पर्धि चलचित्र थियो तर दशैँमा पहिलेबाटै तीन–चारवटा चलचित्र भिडिरहेको देखेर भुवन पछि हटे । पछि हट्नुको कारण स्पष्ट पार्दै उनले ‘अन्तत ः हामीले चलचित्र बाटुलो जूनको नयाँ प्रदर्शन मिति सार्वजनिक गरेका छौं । यसअघि दशैँको अवसरमा प्रदर्शनमा आउने वाचा गरे पनि दशैँमा अन्य चार चलचित्र प्रदर्शनमा आउने र थप अर्को चलचित्र आउँदा पर्दाको बाँडफाँडमा समस्या आउने प्रदर्शक र वितरकको सुझावलाई मध्यनजर गर्दै हामीले नयाँ मितिमा प्रदर्शन गर्ने निधो गरेका हौं । भिडेर जानभन्दा मिलेर जानमा नेपाली चलचित्र उद्योगको भलाइ छ । योसँगै बडा दशैँमा प्रदर्शनमा आउने चारवटै चलचित्रलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं’ भने ।

निर्देशक रामबाबु गुरुङको ‘कबड्डी ५’ पनि फूलपातीको मिति माया मारेर टीकाको पर्सि पल्ट आउनेभएको छ । दशैँको फूलपातीमा रिलिज हुने पक्कापक्कीजस्तै मानिएको नेपाली सिनेमाको सफल ब्राण्ड ‘कबड्डी ५ ः आफ्टर द फाइनल म्याच’ अन्ततः बक्स अफिस भिडन्तबाट पछि हटेको छ । निर्माणपक्षले दशैँ लक्षित गर्दै सम्पूर्ण काम सकाए पनि फिल्मको रिलिज एकहप्ता पछाडि धकेल्दै कात्तिक ६ गते (विजयादशमीको दुई दिनपछि) पुर्याइएको छ । फूलपातीमा ‘छ माया छपक्कै २’, ‘आ बाट आमा २’ र ‘१२ गाउँ’ जस्ता प्रतीक्षित र स्थापित सिनेमाहरू एकसाथ आउने भएपछि ‘कबड्डी ५’ ले आफ्नो मिति सारेको हो ।

नेपाली फिल्म क्षेत्रमा रिलिज मिति सार्दा प्रायः निर्माता–निर्देशकहरू प्राविधिक कारण देखाउँदै पन्छिने गर्छन् । तर, ‘कबड्डी’का निर्देशक तथा निर्माता रामबाबु गुरुङले भने अन्य फिल्मको बहाव र बक्स अफिस भिडन्तको ‘डर’कै कारण आफूपछि सरेको खुला रूपमा स्वीकार गरेका छन् ।

‘आफ्नो बजार छ, दर्शक छन् भन्दै घमण्ड गर्नु हुँदैन,’ मिडियाकर्मीसँग खुलेर प्रस्तुत भएका निर्देशक गुरुङले भने, ‘फूलपातीमा आउने तीनवटै फिल्म आफैंमा स्थापित र दर्शकले अत्यधिक रुचाएका सिरिज हुन् । ती सिनेमाहरूको बलियो बहावले ठेल्छ कि भन्ने डर हामीलाई भएकै हो । त्यसैले पछाडि यसो टेक्ने ठाउँ पाइन्छ कि भन्ने आशामा एक हप्ता पछि सरेका हौं ।’
‘कबड्डी ४’ लाई ‘द फाइनल म्याच’ भन्दै निर्देशक गुरुङले यसअघि यो शृंखलाको अन्त्य भएको घोषणा गरेका थिए । तर, दर्शकको तीव्र मागकै कारण पाँचौं भाग जन्माउनुपरेको निर्माण टिमको भनाइ छ ।

फिल्मका मुख्य अभिनेता दयाहाङ राईले भने निर्देशक गुरुङले पाँचौं भाग नबनाएको भए आफू स्वयंले बनाउने सोच बनाएको खुलाए । दयाहाङले भने, ‘कथालाई अझै परसम्म तन्काउन सकिने ठाउँ थियो । यदि रामले नआँटेको भए, म आफैँ निर्माणको आँट गर्ने तयारीमा थिएँ ।’ फिल्ममा विशेष भूमिकामा देखिन लागेका भर्सटाइल अभिनेता विपिन कार्कीले ‘कबड्डी ५’ मा आफूले एक पैसा पनि पारिश्रमिक नलिई काम गरेको दाबी गरेर चर्चा बटुलेका छन् ।

एक अन्तर्वार्तामा भनेका छन्, ‘मैले यो फिल्मबाट पैसा नलिई खेलेको हुँ । दाइ (रामबाबु)ले पछि दिनुभयो भने प्रसाद ग्रहण गर्ने हो, म त भक्त हुँ ।’ यस विषयमा अभिनेता दयाहाङ राईले पनि कहिलेकाहीँ पैसाभन्दा टिम र कथा महŒवपूर्ण हुने धारणा राखे ।

‘कलाकारलाई लोभ त हुन्छ नै, तर आफूलाई स्क्रिप्ट र मेकरको नियत मन पर्यो भने पारिश्रमिक पहिलो सर्त बन्दैन’, दयाहाङले भने । दशैँ–तिहार वा तीज नयाँ वर्षको छेको पारेर चलचित्र रिलिज गर्दा मनग्गे धन कमाइन्छ भन्ने सोचले गर्दा निर्माताहरू त्यही मितिमा चलचित्र चलाउन होडबाजी गरेको पाइन्छ । अरू दिन प्रदर्शनमा चलचित्रले राम्रो आर्जन गर्न नसकेको भन्ने चर्चामा धेरैले भन्ने गरेका छन् कि अहिले चलचित्रहरू आवश्यकताभन्दा संख्यामा आउने गरेको छ र दर्शकलाई ती सबै चलचित्र हेर्न हम्मेहम्मे पर्ने गरेको छ ।

दशैँतिहारमा लामो बिदा हुने हुनाले चलचित्रहरू प्रदर्शन हुनु र तिनीहरूबीच बक्स अफिसमा प्रतिस्पर्धा हुनुलाई कलाकार तथा निर्माता दीपकराज गिरी व्यावसायिक दृष्टिकोणले स्वाभाविक मान्नुहुन्छ । धेरैवटा चलचित्र एकै पटक प्रदर्शनमा आए पनि त्यसको कथावस्तु भिन्दाभिन्दै हुने हुनाले दर्शक अवश्य बाँडिन्छन् । यो स्वाभाविक हो र दर्शकका लागि आफूले मनपरेको विषयको चलचित्र हेर्ने अवसर पनि हो । कुनै चलचित्रले आफ्नो लगानीसमेत उठाउन सकेका थिएनन् । यसपटक केही फरक होला कि उहाँको धारणा छ । अब चाडपर्व होस् या अन्य ‘चलचित्र भिडन्त हुनुभनेको स्वतन्त्र व्यापार हो । कसैले कसैलाई रोक्न सक्दैन,’ उहाँले भन्नुभयो ।

भारतमा पनि ईद, दिवाली, दशहरा आदि जस्ता दिनहरू रोजेर चलचित्र चलाउने चलन छ भने यसपालिको दशैँ अर्थात् दशहराको अवसरमा ‘जेलर–२’, ‘प्रहार’, ‘रानाबालि’जस्ता बिग बजेटका चलचित्रहरू रिलिज हँदैछन् । अर्थात् यसपालि नेपाली चलचित्रहरू एकापसमा मात्रै होइन हलिउड बलिउडका चलचित्रहरूसित भिड्नुपर्ने अवस्था छ ।
(लेखक विजयरत्न तुलाधर वरिष्ठ चलचित्र पत्रकार हुनुहुन्छ ।)

Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र... ...

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून... ...

हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’
आज फूलपातीको अवसर पारेर फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शन भएको छ। यस फिल्मले पहिलो दिन हलमा राम्रो शो पाएको छ। यस फिल्मले बक्सअफिसमा हिजोबाट प्रदर्शन भएका पल शाह अभिनीत ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ भिड्नुपर्नेछ। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भ... ...

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका ...