Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी । पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ । कोही क्यामेरा तेस्र्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल । सूर्यको पहिलो किरण हिउँचुचुरामा पर्दा सेता हिमशृङ्खला सुनौलो रङमा चम्किन्छन् । प्रकृतिको यही अनुपम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ । मनसुन सकिएपछि खुलेको नीलो आकाश, लहरै देखिने हिमाल र चिसो मौसमसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । दसैँतिहारको बिदा मनाउन र प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो गन्तव्य पर्न थालेको हो । दसैँअघि सुनसान बनेको घोडेपानी पुनहिलमा पछिल्ला दिनमा पाहुनाको आगमन बढ्न थालेको घोडेपानीका होटल व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए । “विपद्का कारण असोज महिनामा सुनसान भएको थियो”, उनले भने, “कात्तिक महिनाको सुरुआतसँगै दैनिक २०० जना विदेशी र ५० जनाको हाराहारीमा नेपाली पर्यटक आएका छन् ।” पोखराबाट घुम्न आएका सन्तोष बरालले घोडेपानी–पुनहिलको प्राकृतिक सौन्दर्यले मोहित बनाएको बताए । सहरको व्यस्त दैनिकीबाट केही समय टाढा रहेर हिमाल, वनजङ्गल र शान्त वातावरणमा रमाउन पाएको उनले बताए । चाडपर्वको बिदालाई घुमफिर र नयाँ अनुभवका लागि उपयोग गर्ने चलन बढेको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल घोडेपानीको प्रमुख आकर्षण हो । यहाँबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, गुर्जा, मानापाथी, माछापुच्छ्रे, मनास्लु र बराह शिखरलगायत १५ भन्दा बढी हिमाली टाकुराको अवलोकन गर्न सकिन्छ । मौसम खुलेका बेला टाढाटाढासम्म फैलिएका हिमशृङ्खला आँखैअघि उभिएझैँ देखिने स्थानीय व्यवसायी सुरेश पुनले बताए । सूर्योदयसँगै सूर्यास्त र हिमाली दृश्यावलोकनका लागि पनि पर्यटक यहाँ पुग्ने गर्छन् । बिहान पुनहिलमा सूर्योदय हेरेपछि पर्यटक घोडेपानी फर्केर आसपासका वनजङ्गल, गाउँबस्ती र प्राकृतिक सम्पदाको अवलोकन गर्छन् । शान्त वातावरण र हरियालीले यात्राको थकान बिर्साउन सहयोग गर्ने पोखराकी रोजी श्रेष्ठले बताए । “बिहान हिमालमा उदाउने सूर्य, दिनभरि देखिने हिमशृङ्खला र प्रकृतिको शान्त वातावरणले लोभ्यायो”, उनले भने, “प्रकृति प्रेमीहरूका लागि घोडेपानी–पुनहिललाई चाडपर्वको बिदा मनाउने र छोटो पदयात्रा गर्ने पर्यटकको लागि उपयुक्त छ ।” घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनका अनुसार पर्यटकको आगमन बढेसँगै होटल व्यवसायी व्यस्त भएका छन् । घोडेपानीमा दैनिक एक हजार जना बास बस्न सक्ने २५ वटा सुविधायुक्त होटलहरू छन् । चाडपर्वको बिदा र अनुकूल मौसमका कारण आगामी दिनमा पर्यटक अझै बढ्ने अपेक्षा गरिएको होटल व्यवसायी पुनले बताए । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी–पुनहिल छोटो अवधिको पदयात्राका लागि पनि लोकप्रिय छ । पोखराबाट कास्कीको नयाँपुल हुँदै उल्लेरीको बाटो पदयात्रा गरेर यहाँ पुग्न सकिन्छ । म्याग्दीको पोखरेबगर, घार र शिख हुँदै सडकमार्गबाट पनि घोडेपानी पुग्न सकिन्छ । घोडेपानीबाट करिब आधा घण्टाको पैदल यात्रापछि पुनहिल पुगिन्छ । पर्यटक पथप्रदर्शक सुन्दर बन्जाराका अनुसार यहाँको मुख्य आकर्षण हिमाली दृश्य र सूर्योदय हो । अनुकूल मौसममा एकै स्थानबाट धेरै हिमालको अवलोकन गर्न पाइने भएकाले पर्यटक घोडेपानी–पुनहिलप्रति आकर्षित हुने गरेका छन् । घोडेपानी र पुनहिलको पर्यटन इतिहास पनि रोचक छ । कुनै समय स्थानीय किसानको चरन क्षेत्र रहेको लुङटुङ डाँडा अहिले पुनहिलका नामले विश्व पर्यटन बजारमा परिचित छ । भारतीय सेनाबाट सेवा निवृत्त स्वर्गीय मेजर टेकबहादुर पुनले यस डाँडाको नामकरण गरी पर्यटन विकासको जग बसालेको स्थानीय व्यवसायी बताउँछन् । उनको स्मृतिमा पुनहिलमा दृश्यावलोकनस्थलसमेत निर्माण गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रको प्रचारप्रसारले अन्तरराष्ट्रियस्तरमा विस्तार पाएको हो । प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, जैविक विविधता र स्थानीय संस्कृति यहाँका थप आकर्षण हुन् । पछिल्लो समय विभिन्न क्षेत्रमा आएको बाढीपहिरोले नेपालको पर्यटन क्षेत्रमा असर पारेको भए पनि घोडेपानी–पुनहिल, घान्द्रुक र अन्नपूर्ण आधार शिविर क्षेत्रमा प्रत्यक्ष असर नपरेको पर्यटन व्यवसायीले बताएका छन् । विपद्बाट प्रभावित क्षेत्रका कारण समग्र नेपालको पर्यटन असुरक्षित रहेको सन्देश जान नदिन सुरक्षित गन्तव्यको वास्तविक अवस्था प्रचारप्रसार गर्नुपर्ने उनीहरूको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

मोटरबोट दुर्घटना अपडेट : ४ जना बेपत्ता,  ९ जना सकुशल
ताजा खबरJust now

मोटरबोट दुर्घटना अपडेट : ४ जना बेपत्ता, ९ जना सकुशल

काठमाडौँ । आइतबार सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा भएको... ...

रातोपाटी
‘राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ’
ताजा खबरJust now

‘राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ’

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति मात्रै नगरेर अनुसन्धान पनि गर्नुपर्ने बताएका छन् । भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको समापन गर्दै उहाँले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुपर्ने बताए । उनले राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताए । ...

केन्द्रबिन्दु
अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गोलीबारी, १२ जना घाइते
ताजा खबरJust now

अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गोलीबारी, १२ जना घाइते

घटनाका बेला फ्लोरिडा A&M विश्वविद्यालयको वार्षिक उत्सवको सप्ताहान्त चलिरहेको थियो। स्थानीय प्रहरीका अनुसार घाइतेहरूमध्ये ६ जना बालबालिका छन्। ...

कान्तिपुर
२९.६ प्रतिशत सामुदायिक विद्यालयमा आइसिटी ल्याब
ताजा खबरJust now

२९.६ प्रतिशत सामुदायिक विद्यालयमा आइसिटी ल्याब

काठमाडौं । मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना भएको छ । विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार ६०८ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला ९आइसिटी ल्याब० निर्माण भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८२र०८३ का अनुसार पूर्वाधार विकास र सूचना प्रविधिको विस्तारले शैक्षिक गुणस्तर वृद्धिमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play