पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकड र पक्राउका घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगदीश खरेलले समाचार कक्षमै पुगेर पत्रकारमाथि सोधपुछ, धरपकड तथा पक्राउ गर्ने कार्य गलत भएको बताउनुभयो। ‘राष्ट्रिय स्वतन्त्र पार्टी संविधानले दिएको मौलिक अधिकारका रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दछ। विधिको शासन र मानव अधिकारको सम्मान गर्दछ। प्रेस स्वतन्त्रताको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी कहिल्यै कोहीसँग पनि सम्झौता गर्दैन,’ उहाँले भन्नुभयो। पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकड र पक्राउका घटनामा कसले, किन र कसरी यस्तो गतिविधि गर्यो भन्ने विषयमा छानबिन गर्न सरकारलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो। दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै सम्झौता नगर्न र ढिलासुस्ती नगरी शीघ्र परिणाम देखाउन पनि पार्टीले सरकारलाई निर्देशन दिएको उहाँको भनाइ छ। आगामी दिनमा समाचार लेखेकै आधारमा कुनै पनि सञ्चारमाध्यम, प्रकाशक, प्रसारक वा सञ्चारकर्मीले यस्तो अवस्था भोग्न नपर्ने गरी प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सरकारलाई निर्देशन दिइएको खरेलले बताउनुभयो। यसैगरी, रास्वपाले न्यायालयमा देखिएका विकृति, विसङ्गति तथा विभिन्न न्यायाधीशसँग जोडिएर सार्वजनिक भएका विवादबारे संसद्मार्फत प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। न्यायालयको समग्र पुनर्संरचनाको आवश्यकता महसुस गर्दै पार्टीले संसदीय दललाई यस विषयमा संसद्मार्फत प्रक्रिया अघि बढाउन निर्देशन दिएको खरेलले जानकारी दिनुभयो। ‘यो अदालतबाट मात्रै अथवा न्याय परिषद्बाट मात्रै टुङ्गिन सक्दैन। यदि हामीले समग्र न्याय क्षेत्रकै पुनर्संरचना गर्ने हो भने त्यसको संवैधानिक बाटो संसद् नै हो र अब संसद्मार्फत यसको प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उहाँले भन्नुभयो। न्यायाधीशसँग जोडिएर सार्वजनिक भएका विवादका विषयमा महाभियोग लगाउने वा छानबिन गर्ने भन्नेबारे भने संसद्ले नै प्रक्रिया निर्धारण गर्ने उहाँले स्पष्ट पार्नुभयो। बैठकले मधेस प्रदेश तथा जिल्लामा देखिएका पार्टीका आन्तरिक समस्याबारे सहमहामन्त्री हरिलालको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनका लागि पेस भएको पनि खरेलले बताउनुभयो। उक्त प्रतिवेदनका आधारमा पार्टीले आगामी कदम चाल्ने उहाँको भनाइ छ। त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीका केही सदस्यसहितको प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमणमा जाने निर्णय भएको उहाँले जानकारी दिनुभयो।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

आर्थिक लेखक तथा पत्रकार रिसव गौतम ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’बाट सम्मानित
काठमाडौँ । शब्दयात्रा प्रकाशनले लेखन तथा पत्रकारिताको क्षेत्रमा योगदान दिएबापत आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमलाई २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ। शब्दयात्रा प्रकाशनले शनिबार बनेपास्थित आफ्नै सभाकक्षमा... ...

सत्ताको सुनौलो वाचा र विवेकको परीक्षा
सरकार वा पार्टीले आलोचकलाई झन्झट ठान्दा उनीहरूलाई सोध्नुपर्छ: नागरिकको भूमिका ताली बजाउनुमा सीमित छ ? लोकप्रियताले जवाफदेही हुनु नपर्ने छुट दिन्छ? ...

जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
• सिन्धुपाल्चोकको जुगल-२ हिमालमा स्पेनका तीन पर्वतारोहीले पहिलोपटक सफल आरोहण गरेका छन्। • यस सफलताले नेपालको पर्वतीय पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ। • जुगल गाउँपालिकाले हिमाल आरोहण र पर्यटन प्रवर्द्धनका लागि 'जुगल भ्रमण वर्ष २०८३' सञ्चालन गरिरहेको छ। ...

सुदूरपश्चिमले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ । यो खेल ५-५ ओभरको हुने भएको छ । सुदूरपश्चिमका विदेशी खेलाडीले मैदान खेल्न योग्य नरहेको बताएर खेल्न तयार नभएपछि टसमा ढिलाई भएको थियो । लामो छलफलपछि म्याच रेफ्रीले खेल नखेलेमा विराटनगर किंग्सलाई २ अंक दिने ...


