Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

नेपालमा काम गर्ने उमेर समूहको जनसंख्या सन् २०४७ मा उच्च बिन्दुमा पुग्ने अनुमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमा काम गर्ने उमेर समूहको जनसंख्या सन् २०४७ मा उच्च बिन्दुमा पुग्ने अनुमान
Photo / Coverage: पर्दाफास

नेपालमा काम गर्ने उमेर समूहको जनसंख्या सन् २०४७ मा उच्च बिन्दुमा पुग्ने र त्यसको १२ वर्षपछि अर्थात् सन् २०५९ मा नेपाल वृद्ध समाजमा प्रवेश गर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले ‘डेमोग्राफिक चेन्ज इन साउथ एशियाः फ्रम टेलविन्ड्स टु हेडविन्ड्स फर डेभलपमेन्ट’ प्रतिवेदनमार्फत नेपालसहित दक्षिण एशियाली मुलुकले जनसांख्यिकीय परिवर्तनबाट प्राप्त अवसर उपयोग गर्न र वृद्ध जनसंख्याको व्यवस्थापनका लागि समयमै तयारी गर्नुपर्ने निष्कर्ष निकालेको छ । काम गर्ने उमेरको जनसंख्याबाट आर्थिक लाभ लिने समय सिमित रहेकाले रोजगारी सिर्जना, सीप विकास र सामाजिक सुरक्षा विस्तारमा अहिले नै ध्यान दिन विश्व बैंकले भनेको छ । नेपालसँग अन्य दक्षिण एसियाली मुलुकको तुलनामा तयारीका लागि केही बढी समय भए पनि संरचनागत चुनौती भने गम्भीर रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा विप्रेषणको योगदान करिव २५ प्रतिशत छ । सन् २००१ देखि २०११ सम्म गरिबी न्यूनीकरणमा विप्रेषणको योगदान करिव ४० प्रतिशत रहेको थियो । तर वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकले स्वदेश फर्किएको करिव तीन वर्षसम्म गैरआप्रवासी श्रमिकको तुलनामा कम तलब पाउने गरेका छन् । यसले वैदेशिक रोजगारीबाट आर्जित सीप, अनुभव र पुँजीलाई स्वदेशमै दीर्घकालीन उत्पादकत्व वृद्धिमा रूपान्तरण गर्न नसकिएको देखाउने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनकाअनुसार नेपालमा रोजगारीको आधार पनि सीमित छ । जलविद्युत क्षेत्रको विस्तारले निर्माण क्षेत्रमा रोजगारी वृद्धि भएपनि अर्थतन्त्रका अन्य क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन । काम गर्ने उमेर समूहको जनसंख्यालाई उत्पादनशील क्षेत्रमा समेट्न नसके जनसांख्यिकीय लाभ आर्थिक विकासमा रूपान्तरण नहुने जोखिम छ । प्रतिवेदनले नेपालको श्रम बजारमा महिला सहभागिता र स्वास्थ्य सेवाको पहुँचलाई पनि चुनौतीका रूपमा औँल्याएको छ । नेपाली महिलाले पुरुषको तुलनामा औसतमा सातामा नौ घण्टा कम काम गर्ने गरेका छन् । घरपरिवार तथा हेरचाहसम्बन्धी जिम्मेवारीको असमान भारले महिलाको श्रम बजारमा सहभागिता प्रभावित भएको प्रतिवेदनले निष्कर्श निकालेको छ । विश्व बैंकको अध्ययनअनुसार करिव ६० प्रतिशत चिकित्सक सहरी क्षेत्रमा केन्द्रित छन् । यसले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच कमजोर बनाएको छ । स्वास्थ्य संस्थाहरूको नसर्ने रोगसम्बन्धी सेवा तयारीको अवस्था पनि २८.४ प्रतिशत मात्रै छ । किशोरावस्थामा हुने प्रजनन दर उच्च रहँदा किशोरीहरूको शैक्षिक उपलब्धिमा समेत असर परेको प्रतिवेदनमा उल्लेख छ । वृद्धावस्थाको सामाजिक सुरक्षा कमजोर विश्व र्बैंकको प्रतिवेदनले वृद्धावस्थाको सामाजिक सुरक्षा कमजोर देखाएको छ । नेपालमा वृद्ध जनसंख्या बढ्दै जाँदा उनीहरूको आर्थिक सुरक्षाको चुनौती थपिने देखिएको छ । ६५ वर्ष वा सोभन्दा माथिका उमेर समूहका कामदारमध्ये करिब ९१ प्रतिशत अनौपचारिक क्षेत्रमा कार्यरत छन् । यसले अधिकांश वृद्ध श्रमिक योगदानमा आधारित पेन्सन प्रणालीको पहुँचबाहिर रहेको देखाएको छ । नेपालले सामाजिक सुरक्षा विस्तारका लागि सन् २०१८ मा सामाजिक सुरक्षा कोष स्थापना गरेको छ । योगदानमा आधारित उक्त योजनामा ३१ प्रतिशत योगदान दरको व्यवस्था छ । अनौपचारिक क्षेत्रका श्रमिकका लागि सरकारले ९ प्रतिशत योगदान बराबरको रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । यस्तो प्रणालीलाई विस्तार गर्न सके वृद्धावस्थाको आम्दानी सुरक्षा बढाउन सकिने प्रतिवेदनको सुझाव छ । त्यस्तै, सरकारले ७० वर्ष वा सोभन्दा माथिका सबै नागरिक तथा दलित र कर्णाली क्षेत्रका ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई मासिक चार हजार रुपैयाँ ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउँदै आएको छ । योगदानमा आधारित पेन्सन प्रणालीमा पहुँच नभएका नागरिकका लागि यस्तो गैरयोगदानमा आधारित भत्ता न्यूनतम आम्दानी सुरक्षाको महत्त्वपूर्ण आधार भएको प्रतिवेदनले उल्लेख गरेको छ । यसलाई संरक्षण गर्दै क्रमशः विस्तार गर्नुपर्ने सुझाव दिइएको छ । दक्षिण एशियामै जनसांख्यिकीय अवसर खुम्चिँदै विश्व बैंककाअनुसार दक्षिण एशियामा अहिले काम गर्ने उमेर समूहका १ अर्ब १७ करोड जनसंख्या छन् । तर एक दशकभन्दा कम समयमै यो जनसंख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्नेछ । सन् २०४९ सम्ममा क्षेत्रको कुल जनसंख्याको १४ प्रतिशत ६५ वर्ष वा सोभन्दा माथिका हुनेछन् । सन् २००० यता काम गर्ने उमेर समूहको हिस्सा बढ्दा दक्षिण एसियाको जीडीपी वृद्धिमा वार्षिक ०.४ प्रतिशत र श्रम उत्पादकत्वमा १.१ प्रतिशत योगदान पुगेको थियो। तर सन् २०५० सम्ममा जीडीपी वृद्धिमा जनसांख्यिकीय योगदान वार्षिक ०.१ प्रतिशतमा झर्ने प्रक्षेपण छ । क्षेत्रको काम गर्ने उमेर समूहको जनसंख्यामध्ये ६० प्रतिशत मात्रै रोजगारीमा छन् । रोजगारीमा रहेकामध्ये ८८ प्रतिशत अनौपचारिक क्षेत्रमा कार्यरत छन् । त्यस्तै, काम गर्ने उमेर समूहका १७ प्रतिशतले मात्रै पेन्सन योजनामा योगदान गरिरहेका छन् भने वृद्ध जनसंख्यामध्ये १० प्रतिशतले मात्रै कुनै न कुनै प्रकारको पेन्सन सुविधा पाएका छन् । यो विश्वकै न्युन पेन्सन पहुँचमध्ये एक हो । विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष जोहानेस जुटले दक्षिण एशियाली अर्थतन्त्र विकासको तुलनात्मक रूपमा प्रारम्भिक चरणमै तीव्र गतिमा वृद्ध हुँदै गएको बताएका छन् । उनका अनुसार बढी र गुणस्तरीय रोजगारी सिर्जना गर्ने तथा स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको पूर्वाधार निर्माण गर्ने काम तत्काल अघि बढाउनुपर्छ । विश्व बैंकले साना तथा मझौला उद्यममा वित्तीय पहुँच विस्तार, व्यावसायिक नियमन सरलीकरण, सीप विकास, स्वास्थ्य र शिक्षामा सुधार तथा महिलाको रोजगारीमा रहेका अवरोध हटाउन सुझाव दिएको छ । साथै वृद्ध जनसंख्याका लागि स्वास्थ्य सेवा, दीर्घकालीन हेरचाह र पेन्सन प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिएको छ । नेपालले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई स्वदेशमै उत्पादनशील रोजगारीमा जोड्न व्यावसायिक तालिमसँगै रोजगारीमा आवद्ध गराउने र जीवनोपयोगी सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रतिवेदनको सुझाव छ । अहिलेको काम गर्नसक्ने उमेर समूहको जनसंख्यालाई रोजगारी र उत्पादकत्वसँग जोड्न सके मात्रै भविष्यमा वृद्ध जनसंख्याको आर्थिक तथा सामाजिक सुरक्षा धान्न सकिने विश्व बैंकको निष्कर्ष छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
OthersJust now

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो । सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा मन्त्रिपरिषद्को निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरेको आरोप उनीहरूमाथि लगाइएको छ । अख्तियारका अनुसार माधवकुमार नेपाल प्रधानमन्त्री ...

पर्दाफास
भोटेकोशी र कालीगण्डकी करिडोरका विपद् प्रभावितको संरक्षणमा ७३ करोड खर्चिँदै
OthersJust now

भोटेकोशी र कालीगण्डकी करिडोरका विपद् प्रभावितको संरक्षणमा ७३ करोड खर्चिँदै

भोटेकोशी तथा कालीगण्डकी करिडोरमा गएको विपद्पछि प्रभावित महिला, बालबालिका, किशोरी तथा जोखिममा रहेका समुदायको संरक्षणका लागि सरकारले ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ बराबरको कार्ययोजना कार्यान्वयन गरिरहेको जनाएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विपद्पछिको उद्धार, संरक्षण तथा पुनःस्थापनाका लागि विभिन्न कार्यसमूह परिचालन गरी कार्ययोजना कार्यान्वयन भइरहेको जानकारी दिएका हुन् । मंगलबार ...

पर्दाफास
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा, साढे ७३ करोड बिगो
OthersJust now

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा, साढे ७३ करोड बिगो

मन्त्रिपरिषदबाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले नेपाल र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play