Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

‘नेपाल-भारत सम्बन्ध हिमालयजत्तिकै अटल’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘नेपाल-भारत सम्बन्ध हिमालयजत्तिकै अटल’
Photo / Coverage: नेपालन्युज

नेपाल र भारतबीचको सम्बन्ध केवल दुई छिमेकी मुलुकबीचको सम्बन्ध होइन। यो आत्मीयता, आपसी सम्मान, अटुट विश्वास, साझा इतिहास, संस्कृति र जनस्तरको गहिरो सम्बन्धले जोडिएको साझेदारी हो। यो सम्बन्धको केन्द्रमा दुवै देशका जनता छन्। नेपाल र भारतबीचको सम्बन्ध हिमालयजत्तिकै अटल र महासागरजत्तिकै विशाल छ। यो यति गहिरो आत्मीयता हो, जसलाई शब्दले मात्र व्यक्त गर्न सकिँदैन। भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यूको गरिमामय निमन्त्रणा र न्यानो आतिथ्यका लागि म हार्दिक आभार व्यक्त गर्दछु। भगवान् श्री पशुपतिनाथ, माता जानकी तथा करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद एवं नेपाली जनताको स्नेह, प्रेम र सद्भाव भारत र भारतीय जनताप्रति बोकेर म यहाँ आएको छु। आपसी सम्मान, अटल विश्वास र अटुट सद्भाव नेपाल–भारत सम्बन्धका आधारशिला हुन्। यो अतुलनीय सम्बन्धको केन्द्रमा हाम्रा दुवै देशका जनता रहेका छन्। एकअर्काको प्रगतिमा साथ दिने र कठिन घडीमा सहयोग गर्न उभिने भावना नै हाम्रो मित्रताको वास्तविक शक्ति हो। एक भरपर्दो र विश्वसनीय छिमेकीका रूपमा भारत प्राकृतिक विपद् र कठिन घडीहरूमा सधैँ अग्रपङ्क्तिमा रहेर सहयोग गर्न उभिएको छ। यसका लागि म भारत सरकार र भारतीय जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु। भर्खरै हामीले शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र आधुनिक बनाउने लक्ष्यका साथ प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न गरेका छौँ। यस क्रममा हाम्रो बहुआयामिक द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षमा स्पष्ट, सारगर्भित र अग्रगामी छलफल भएको छ। प्रमुख पूर्वाधार परियोजनाहरूको उद्घाटन र शिलान्यासका साथै नेपाल–भारत सहकार्यका विविध क्षेत्रमा महत्त्वपूर्ण समझदारी भएका छन्। आज हामीबीच भएका समझदारी र अघि बढाइएका परियोजनाहरूको प्रतिफल हाम्रा किसानहरूको खेतबारीमा समृद्धिका रूपमा, युवाहरूको हातमा रोजगारी र अवसरका रूपमा, विद्यार्थीहरूका सपनामा नयाँ क्षितिजका रूपमा र उद्यमीहरूका लागि नयाँ बजार, लगानी तथा व्यवसाय विस्तारका ठोस मार्गका रूपमा रूपान्तरित हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ। मित्रहरू, यी ऐतिहासिक कोसेढुङ्गाहरूले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेछन् भन्नेमा म विश्वस्त छु। यो चिरस्थायी सम्बन्धको बलियो जगमा उभिएर भविष्यका लागि बलिया स्तम्भहरू निर्माण गर्नु आजको आवश्यकता हो। साझा प्राकृतिक सम्पदा र जलवायु चुनौती स्वच्छ पानीका स्रोतका रूपमा रहेका हाम्रा हिमालहरूले यस क्षेत्रका करोडौँ मानिसको जीवन धानेका छन्। हिमालयबाट बगेर गङ्गामा मिसिने कञ्चन नदीहरूले हामीलाई हाम्रो साझा भविष्य र नियतिको स्मरण गराउँछन्। यी नदीहरूले हामीलाई सामूहिक प्रयासबाट जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्नुपर्ने अपरिहार्यताको पनि बोध गराउँछन्। हिमाल र नदी केवल प्राकृतिक सम्पदा होइनन्, यी हाम्रो साझा जीवन र भविष्यका आधार हुन्। हिमाली क्षेत्रमा हुने परिवर्तनले नदी प्रणाली हुँदै तल्लो भूभागसम्म प्रभाव पार्छ। त्यसैले जलवायु परिवर्तनका चुनौतीको सामना गर्न नेपाल र भारतले साझा प्रयास गर्न आवश्यक छ। प्राकृतिक स्रोतको संरक्षण, जलस्रोतको दिगो उपयोग र वातावरणीय सन्तुलन कायम गर्नु दुवै देशको साझा जिम्मेवारी हो। हाम्रो भौगोलिक निकटताले साझा चुनौती सिर्जना गरेको छ भने त्यसको समाधानका लागि सहकार्य गर्ने अवसर पनि दिएको छ। साझा आस्था र सभ्यताको सम्बन्ध भगवान् राम र माता जानकीको पावन युगदेखि नै नेपाल र भारत ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत बन्धनमा बाँधिएका छन्। हाम्रा साझा आस्था, परम्परा र सांस्कृतिक सम्बन्धले दुई देशका नागरिकलाई पुस्तौँदेखि जोड्दै आएका छन्। यो सम्बन्ध हाम्रो इतिहासको अमूल्य सम्पत्ति हो। हाम्रा पूर्वजहरूले राखिदिनुभएको बलियो ऐतिहासिक जगमा टेकेर यसलाई नयाँ पुस्ताका लागि अझ अर्थपूर्ण बनाउन आवश्यक छ। परम्पराले जोडेको सम्बन्धलाई आधुनिक विकास, सम्पर्क र आर्थिक अवसरसँग जोड्न सकिएमा हाम्रो मित्रता अझ बलियो हुनेछ। आज हामीले यस बन्धनलाई अझ जीवन्त बनाउन रेल सम्पर्कको उद्घाटन गरेका छौँ। रेल सम्पर्कले दुई देशका नागरिकबीचको आवागमन सहज बनाउनेछ। यसले धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान र आर्थिक गतिविधिलाई नयाँ गति दिनेछ। हाम्रा पूर्वजहरूले निर्माण गरेको ऐतिहासिक सम्बन्धलाई नयाँ पुस्ताका लागि अवसरको माध्यम बनाउनु आजको आवश्यकता हो। आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत नेपाल–भारत सम्बन्धलाई युवा पुस्ताका लागि अवसरका ढोका खोल्ने रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने असाधारण जिम्मेवारी हामीसामु छ। लगानी र आर्थिक समृद्धिको साझा यात्रा मित्रहरू, यस अवसरमा म भारतीय लगानीकर्ताहरूलाई हाम्रा दुवै देशको आर्थिक समृद्धिमा साझेदार बन्न नेपालमा हार्दिक स्वागत गर्दछु। नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई अझ फराकिलो र परिणाममुखी बनाउने प्रशस्त सम्भावना छन्। भौगोलिक निकटता, ऐतिहासिक व्यापारिक सम्बन्ध र जनस्तरको आत्मीयताले दुवै देशका व्यवसायी तथा लगानीकर्ताका लागि नयाँ अवसर सिर्जना गरेको छ। नेपालमा लगानीका सम्भावना रहेका ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि, उद्योग, सूचना प्रविधि तथा सेवा क्षेत्रमा भारतीय लगानीले महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ। नेपालको आर्थिक विकासका लागि पुँजी, प्रविधि, सीप र बजारको विस्तार आवश्यक छ। भारतीय लगानी र प्रविधिले नेपालको उत्पादन क्षमता बढाउन, रोजगारी सिर्जना गर्न तथा औद्योगिक विकासलाई गति दिन सहयोग पुर्‍याउन सक्छ। यसबाट दुवै देशका व्यवसायी र नागरिक लाभान्वित हुनेछन्। हाम्रो आर्थिक सहकार्य व्यापारमा मात्र सीमित हुनु हुँदैन। उत्पादन, प्रविधि, लगानी र व्यवसाय विस्तारसम्म फैलिनुपर्छ। निजी क्षेत्रको सहभागिता र लगानीकर्ताबीचको साझेदारीले दुई देशको आर्थिक सम्बन्धलाई थप गतिशील बनाउन सक्छ। शिक्षा र प्रविधिमा सहकार्य आगामी दिनहरूमा हामीले नेपालमा स्थापना हुने आइआइटी मा भारतीय विद्यार्थीहरूसमेत अध्ययन गर्न आउने वातावरण तयार पार्नुपर्छ। यो सोचले नेपाल र भारतबीचको शैक्षिक सहकार्यलाई नयाँ आयाम दिनेछ। शिक्षा र प्रविधि आधुनिक विकासका आधार हुन्। विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्ताबीचको सहकार्य विस्तार गर्न सकेमा दुवै देशका लागि ज्ञान, अनुसन्धान र नवप्रवर्तनका नयाँ अवसर खुल्नेछन्। नेपालमा स्थापना हुने आइआइटीलाई दुवै देशका विद्यार्थीका लागि साझा शैक्षिक अवसरको केन्द्रका रूपमा विकास गर्न सक्नुपर्छ। यसले शैक्षिक आदानप्रदानलाई प्रवर्द्धन गर्नुका साथै नेपाल र भारतका युवा पुस्ताबीचको सम्बन्धलाई पनि थप बलियो बनाउनेछ। नयाँ पुस्ताको क्षमता, सिर्जनशीलता र ज्ञानलाई विकाससँग जोड्नु हाम्रो साझा जिम्मेवारी हो। शिक्षा र प्रविधिमा सहकार्य विस्तार हुँदा दुवै देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्नेछ। हवाई सम्पर्क विस्तारको आवश्यकता दुई देशका नागरिकको सुविधाका लागि दुवै देशका सहरहरूबीचको सिधा हवाई सम्पर्क विस्तार गर्नुपर्छ। नेपाल र भारतबीचको सम्बन्धलाई थप सहज र व्यावहारिक बनाउन हवाई सम्पर्कको महत्त्वपूर्ण भूमिका छ। सिधा हवाई सम्पर्क विस्तार हुँदा नागरिकको आवागमन सहज हुनेछ। यसले पर्यटन, व्यापार, पारिवारिक सम्बन्ध र जनस्तरको सम्पर्कलाई थप विस्तार गर्नेछ। यात्राको समय घट्नुका साथै दुई देशका सहरहरूबीच आर्थिक तथा सामाजिक गतिविधि बढाउन पनि सहयोग पुग्नेछ। नेपाल र भारतबीचको सम्बन्धलाई अझ गतिशील बनाउन सडक, रेल र हवाई सम्पर्कको विस्तार आवश्यक छ। भौतिक सम्पर्क जति सहज हुन्छ, त्यति नै नागरिक, व्यवसायी र पर्यटकका लागि अवसर विस्तार हुन्छन्। हाम्रो उद्देश्य दुई देशका नागरिकबीचको दूरी घटाउनु र आपसी सम्बन्धलाई व्यवहारमा अझ सहज बनाउनु हो। यसका लागि दुवै देशले आवश्यक पूर्वाधार र सम्पर्क विस्तारमा सहकार्य गर्नुपर्छ। संयुक्त दृष्टिकोण र साझा उपलब्धि साझा र समृद्ध भविष्यतर्फ हाम्रो संयुक्त कार्यलाई अगाडि बढाउन हामी संयुक्त दृष्टिकोण दस्ताबेज (ज्वाइन्ट भिजन डकुमेन्ट) प्रस्तुत गर्नेछौँ। संयुक्त प्रेस विज्ञप्तिमार्फत हाम्रा साझा उपलब्धिहरूलाई उजागर गर्नेछौँ। संयुक्त दृष्टिकोण दस्ताबेजले नेपाल–भारत सम्बन्धलाई आगामी दिनमा कुन दिशामा अघि बढाउने भन्ने साझा आधार तयार गर्नेछ। यसले दुई देशबीचका प्राथमिकता, सहकार्यका क्षेत्र र साझा प्रतिबद्धतालाई व्यवस्थित रूपमा अघि बढाउन सहयोग गर्नेछ। हामीले अघि बढाएका परियोजना र समझदारीको वास्तविक सफलता तिनको कार्यान्वयनमा निर्भर हुनेछ। ती परियोजनाबाट किसान, युवा, विद्यार्थी र उद्यमीले लाभ प्राप्त गर्न सक्नुपर्छ। विकास साझेदारीको प्रतिफल नागरिकको जीवनमा देखिनुपर्छ। नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन राजनीतिक नेतृत्वको संवादसँगै जनस्तरको सम्बन्ध, आर्थिक सहकार्य र साझा विकासका प्रयासलाई निरन्तरता दिनुपर्छ। आपसी विश्वास र सहकार्यलाई परिणाममा बदल्न सक्नु नै हाम्रो साझा उपलब्धि हुनेछ। नेपाल भ्रमणको हार्दिक निमन्त्रणा यस महत्त्वपूर्ण अवसरमा सम्पूर्ण नेपाली जनताका तर्फबाट म प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई नेपाल भ्रमणको हार्दिक निमन्त्रणा गर्दछु। नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र निरन्तर संवादको महत्त्वपूर्ण भूमिका रहन्छ। प्रधानमन्त्री मोदीज्यूको नेपाल भ्रमणले दुई देशका नागरिकबीचको आत्मीयता र मित्रतालाई थप प्रगाढ बनाउनेछ भन्ने मेरो विश्वास छ। साथै, म मित्रराष्ट्र भारतका जनतालाई हिमालको काखमा अवस्थित मुक्तिनाथ, भगवान् पशुपतिनाथ, तराईको उर्वर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भूमि नेपाल भ्रमण गर्न हार्दिक आमन्त्रण गर्दछु। नेपाल धार्मिक, सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक सम्पदाले सम्पन्न देश हो। यहाँको विविधता, आतिथ्य र सांस्कृतिक सम्पदाले भारतसहित विश्वभरका पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्छ। दुई देशबीचको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनले जनस्तरको सम्बन्धलाई थप बलियो बनाउनेछ। नेपाल र भारतबीचको मित्रता हिमालयजत्तिकै अग्लो विश्वास, नदीजत्तिकै निरन्तर बगिरहने सहकार्य र हाम्रो साझा आकाशमुनि दुवै राष्ट्रको समृद्धि फस्टाउने किसिमको रहोस्। हामी सबैको कल्याण होस्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा व्यक्त मन्तव्यको पूर्णपाठमा आधारित।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहसँग प्रवासी नेपालीको माग- विदेशबाटै मतदान र समानुपातिक प्रतिनिधित्व
Latest NewsJust now

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहसँग प्रवासी नेपालीको माग- विदेशबाटै मतदान र समानुपातिक प्रतिनिधित्व

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतस्थित नेपालीहरूले आफू कार्यरत रहेकै देशबाट मतदान गर्न र समानुपातिक निर्वाचन प्रणालीमा चुनिन पाउनुपर्ने माग गरेका छन्। भारतस्थित नेपालीका चारवटा संगठनहरूले नेपाली दूतावासमार्फत ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन्।  प्रधानमन्त्री वालेन्द्र शाहलाई नै भेट गरी माग पत्र बुझाउने प्रयास भएपनि समय उपलब्ध नगराइए... ...

नेपालखबर
टीभीएस र जगदम्बा मोटर्सद्वारा नुवाकोट र रसुवाका विभिन्न संस्थालाई २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण
Latest NewsJust now

टीभीएस र जगदम्बा मोटर्सद्वारा नुवाकोट र रसुवाका विभिन्न संस्थालाई २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण

काठमाडौं । टीभीएस मोटर कम्पनी र यसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नुवाकोट र रसुवाका विभिन्न सरकारी तथा सामाजिक संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्थानीय समुदायलाई सेवा प्रदान गर्दै आएका सरकारी कार्यालय, अस्पताल, प्रहरी कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थालाई मोटरसाइकल प्रदान गरिएको हो । हस्तान्तरण गरिएका […] ...

लोकपथ
नुवाकोट र रसुवाको बाढी प्रभावित क्षेत्रको सेवाका लागि २५ मोटरसाइकल प्रदान
Latest NewsJust now

नुवाकोट र रसुवाको बाढी प्रभावित क्षेत्रको सेवाका लागि २५ मोटरसाइकल प्रदान

काठमाडौँ । टीभीएस मोटर कम्पनीले आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नुवाकोट र रसुवाका विभिन्न सरकारी कार्यालय, अस्पताल, प्रहरी कार्यालय, विद्यालय तथा स्थानीय संस्थाहरूलाई २५... ...

रातोपाटी
भारतको २ दिने राजकीय भ्रमण सकेर आजै स्वदेश फर्किंदै प्रधानमन्त्री शाह
Latest NewsJust now

भारतको २ दिने राजकीय भ्रमण सकेर आजै स्वदेश फर्किंदै प्रधानमन्त्री शाह

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारतको २ दिने राजकीय भ्रमण पूरा गरी आज सोमबारै साँझ स्वदेश फर्किंदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आईतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्थानीय समयअनुसार बिहान ११ बजे द्विपक्षीय भेटवार्ता गरेका थिए । सो भेटमा २ देशका पारस्पारिक हितका विविध […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement