धरानमा फस्टाउदै सुकुटी व्यापार, सामाजिक सञ्जालले बढायो अनलाईन कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ। घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन्। टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उत्पादनको प्रचारप्रसार गर्दा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउने गरेको व्यापारी बताउँछन्। धरानको मुख्य चोक भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन्। यहाँ बिहानदेखि बेलुकासम्म सुकुटी किन्ने ग्राहकको चहलपहल हुन्छ। गल्लीमा पसल सञ्चालन गरेर बिक्री गर्ने मात्र नभई घरमै सुकुटी र अचार बनाएर सामाजिक सञ्जालमार्फत अर्डर लिने महिलाको सङ्ख्या पनि बढ्दै गएको छ। धरान उपमहानगरपालिका–१५ की निता तामाङले सुकुटी बिक्री गर्न थालेको ६ वर्ष भयो। उनले निकेतन गल्लीमा बिहानदेखि बेलुकासम्म सुकुटीसँगै त्यसबाट बनाइएको अचार बिक्री गर्दै आएकी छन्। उनले तयार पारेको सुकुटी र अचारको माग नेपालमा मात्र नभई विदेशमा समेत रहेको बताइन्। विशेषगरी बेलायत,अमेरिका र हङकङलगायतका देशबाट सुकुटी तथा अचारको अर्डर आउने गरेको उनको भनाइ छ। सामाजिक सञ्जाल अहिले व्यापारका लागि प्रभावकारी माध्यम बनेको छ। ‘दिनभर गल्लीमा बसेर ग्राहक पर्खनुभन्दा टिकटक र फेसबुकमार्फत उत्पादनको प्रचार गर्न सके धेरै ग्राहकसम्म पुग्न सकिन्छ। सामाजिक सञ्जालमा सुकुटी र अचार देखेर अनलाइनमार्फत अर्डर गर्ने ग्राहक धेरै छन्’, तामाङले भनिन्। तामाङले एक पटकमा १२० केजीसम्म राँगाको मासु किनेर घरमै सुकुटी बनाउने गरेको जानकारी दिइन्। घाम लागेका बेला सुकुटी सुकाउन सहज हुने उनको अनुभव छ। अहिले राम्रो घाम लाग्ने भएकाले तीन दिनमै सुकुटी सुक्ने गरेको उनले बताइन्। जाडोयाममा सुकाउन एक हप्तासम्म लाग्ने र घाम नलाग्दा आगोमा समेत सुकाउनुपर्ने हुँदा बढी समय लाग्ने उनको भनाइ छ। सुकुटीको व्यापारबाट मासिक रु ८० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको तामाङले बताइन्। धरान–१५ कै बिनिता गिरीले पनि ९ वर्षदेखि सुकुटी र त्यसबाट बनाइएको अचार बिक्री गर्दै आएकी छन्। उनका अनुसार बजारमा गुणस्तरअनुसार सुकुटी प्रतिकिलो रु एक हजार ६०० देखि रु तीन हजारसम्ममा बिक्री हुने गरेको छ। त्यस्तै, सुकुटीको अचार प्रतिकिलो रु एक हजार ६ सयदेखि दुई हजारसम्ममा बिक्री हुने गरेको उनले बताइन्। गिरीले तयार पारेको सुकुटी धरान, इटहरी, झापा तथा काठमाडौँसम्म पुग्ने गरेको छ। हङकङ र बेलायतलगायतका देशमा समेत सुकुटी पठाउने गरिएको उनले जानकारी दिइन्। सामाजिक सञ्जाल टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता माध्यमको प्रयोग बढेसँगै अनलाइनबाट व्यापार गर्न सहज भएको उनको अनुभव छ। घाम लाग्दा सुकुटी सुकाउन सहज हुने भए पनि घाम नलाग्दा दाउरा किनेर सुकाउनुपर्ने बाध्यता रहेको गिरीले बताइन्। यसले उत्पादन लागत बढाउने र व्यापारबाट हुने आम्दानीमा असर पार्ने उनको भनाइ छ। निकेतन गल्लीमा सुकुटी बिक्री गर्दै आएकी दिलकुमारी तामाङले बिहानदेखि बेलुका ६ बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको बताइन्। अलिकति मेहनत गर्ने हो भने सुकुटीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ। उनले भनिन्, ‘सुकुटीको व्यापारबाटै घरव्यवहार चलाउँदै आएको छु सुकुटी तयार पार्न धेरै समय र मेहनत लाग्छ।’ धरानमा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन्। उनीहरूले राँगाको मासु किनेर घरमै सुकुटी तयार पार्ने र बजारमा बिक्री गर्ने गरेका छन्। कतिपयले सुकुटीसँगै अचार बनाएर बिक्री गर्छन्। भानुचोक र निकेतन गल्लीमा पसल सञ्चालन गरेर बिक्री गर्ने महिलासँगै घरबाटै अर्डरअनुसार सुकुटी तथा अचार बिक्री गर्नेहरू पनि छन्। सुकुटी र अचारको व्यापारले महिलालाई स्वरोजगार बन्न, घरखर्च चलाउन र व्यवसाय विस्तार गर्न ठुलो सहयोग पुगेको छ। एउटै उत्पादनबाट विभिन्न परिकार तयार पारेर बिक्री गर्न सकिने तथा सामाजिक सञ्जालमार्फत टाढाका ग्राहकसम्म पुग्न सकिने भएकाले यस व्यवसायप्रति महिलाको आकर्षण बढ्दै गएको व्यापारी बताउँछन्। रासस
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पाइरेसीविरुद्ध क्यानका सचिव खड्का, एनपीएल आधिकारिक माध्यमबाट मात्र हेर्न आग्रह
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आधिकारिक माध्यमबाट मात्र हेर्न प्रशंसकहरूसँग विशेष अपील गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश... ...

अमेरिकी अधिकारीहरूले बन्द कोठामा किन हप्काए जेलेन्स्कीलाई
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरूको आलोचना गर्छन्, तर कसैले उनलाई जवाफ फर्काए भने उनी रिसाउँछन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि एकपटक यस्तै अवस्थाको सामना गर्नुपरेको छ। न्युयोर्क टाइम्समा प्रकाशित एक सामग्रीका अनुसार, नर्वेको राजधानी ओस्लोमा मङ्गलबार बन्द कोठामा एक बैठक भएको थियो। यस क्रममा ट्रम्पका प्रतिनिधिहरू स्टिभ विटकफ (पश्चिम एसियाका लागि विशेष दूत) र ट्रम्पका ज्वाइँ जेरेड कुस्नरले जेलेन्स्कीलाई ...

रवि लामिछाने भारत भ्रमणका लागि प्रस्थान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि आज शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। उनी पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका हुन्। त्यहाँबाट भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको सचिवा... ...

जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
नौरते नेपालीसिँजा (जुम्ला), कात्तिक ६ गते । जुम्लाबाट करिब ७ हजार बढी मेट्रिक टन स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करि... ...


