काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई लक्षित गरी भइरहेको आलोचना र बहिष्कारको प्रयासले कुनै असर नपर्ने बताएका छन्। मङ्गलबार अखिल नेपाल किसान महासङ्घको बैठकलाई सम्बोधन गर्दै उनले देशी र विदेशी शक्तिहरू एकै ठाउँमा उभिँदा पनि एमालेलाई सिध्याउन नसकेको दाबी गरे। अध्यक्ष ओलीले एमालेलाई ‘झोले’ भन्दै गरिएको टिप्पणी असहिष्णुताको पराकाष्ठा भएको टिप्पणी गरे। उनले भने, ‘हामीलाई कसैले बहिष्कार गर्छ कि गर्दैन भन्ने मतलब पनि छैन। हामी बहिष्कारको नीति र असहिष्णुताको पराकाष्ठामा उत्रिँदैनौं।’ उनले आफ्नो पार्टी नेपालको सबैभन्दा मजबुत, देशभक्त र स्पष्ट दृष्टिकोण भएको शक्ति रहेको जिकिर गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै ओलीले हावाहुरीको भरमा धाक नलगाउन चेतावनी दिए। उनले चुनावको माध्यमबाट पार्टी बनाउन खोज्नुभन्दा पनि पार्टी लिएर चुनाव जित्न जानुपर्नेमा जोड दिए। उनले नेता तथा कार्यकर्तालाई आन्दोलन र चुनाव दुवैको तयारीमा जुट्न निर्देशन दिएका छन्। महासङ्घका नेताहरूलाई किसानको घरदैलोमा पुगेर सङ्गठन विस्तार गर्न आग्रह गर्दै उनले आगामी माघमा हुने महाधिवेशनमा आन्तरिक रस्साकसी नगर्न सचेत गराए। उनले लोकतन्त्रका नाममा आन्तरिक झगडा गर्नुभन्दा विपक्षीसँग प्रतिस्पर्धा गर्न एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। अधिवेशनमा सहमतिबाट नेतृत्व चयन गर्न जोड दिँदै उनले चुनाव लड्न चाहनेलाई पार्टीले नरोक्ने स्पष्ट पारे।
देशी र विदेशी शक्ति मिल्दा पनि एमाले सिद्धिएन: ओली

Read Complete Original Article
Published originally on नेपालन्युज






