काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका नेपाली कामदारलाई दुई दिनभित्र स्वदेश फर्काउने तयारी थालिएको छ। हाल दुबईमा रहेका गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत पीडितहरूलाई उद्धार गर्ने प्रतिबद्धता जनाएका छन्। युएईको जाबेल अलीस्थित लेबर क्याम्पमा रहेका नेपाली युवाहरूले सार्वजनिक गरेको भिडियो सन्देशपछि गृहमन्त्री गुरुङले उक्त प्रतिक्रिया दिएका हुन्। उनले दूतावासबाट उद्धारका लागि टोली खटाइसकिएको जानकारी दिँदै उद्धार प्रक्रिया अघि बढेको बताएका छन्। गृहमन्त्री गुरुङले भने, ‘दूतावासबाट हिजै एउटा टोली पठाइसकिएको छ, उनीहरूको उद्धार गरी २ दिनभित्र स्वदेश फर्काइनेछ।’ साथै, स्वदेश फर्कन चाहनेहरूको सङ्ख्या निकै कम देखिएको उनले उल्लेख गरेका छन्। अलपत्र परेका युवाहरूले प्याराडाइज म्यानपावरमार्फत आफूहरू युएई पुगेको बताएका छन्। वीरगञ्ज, धादिङ, दोलखा, काठमाडौं र काभ्रे लगायतका जिल्लाबाट आएका उनीहरूले आफूहरूसहित २ सयदेखि ३ सय नेपाली बिचल्लीमा परेको दाबी गरेका छन्। सरकारले तोकेको सेवा शुल्कभन्दा बढी जनही दुईदेखि तीन लाख रुपैयाँसम्म म्यानपावर कम्पनीले असुलेको उनीहरूको आरोप छ। कामदारहरूले आफूहरूलाई प्याकिङ, वेयरहाउस र लोडिङ-अनलोडिङको काम दिने भन्दै लगिए पनि त्यहाँ निकै कठिन अवस्थामा काम गर्न बाध्य पारिएको गुनासो गरेका छन्। समयमा काम नसके गाली गर्ने, तलबबाट पैसा काट्ने र सम्झौताअनुसारको सेवासुविधा नदिएको उनीहरूको भनाइ छ। उनीहरूले म्यानपावर कम्पनी बन्द गर्न र आफूहरूको राहदानी तथा भिसा फिर्ता गराई स्वदेश फर्काउने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन्।
युएईमा अलपत्र नेपालीलाई दुई दिनभित्र स्वदेश फर्काइने गृहमन्त्रीको प्रतिबद्धता

Read Complete Original Article
Published originally on नेपालन्युज






