दुई महिनामा २८ करोड ३ लाख ३५ हजार रुपैयाँको सिमेन्ट निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा २८ करोड ३ लाख ३५ हजार रुपैयाँको मात्रै सिमेन्ट निर्यात भएको छ । जुन गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा १७ करोड १० लाख रुपैयाँ कम हो । गत आर्थिक वर्षको साउन र भदौमा ४५ करोड १३ लाख ३६ हजारको सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांक छ । तयारी सिमेन्ट निर्यात घटे पनि क्लिंकर निर्यात भने बढेको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको साउन र भदौमा १४ करोड ५९ लाख ५० हजार रुपैयाँको क्लिंकर निर्यात भएको छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ९७ लाख ८ हजार रुपैयाँको मात्रै क्लिंकर निर्यात भएको थियो । भारतमा निर्यातका लागि आवश्यक भारतीय मानक ब्युरो (बीआईएस) को प्रमाणपत्र नवीकरणमा ढिलाइ हुँदा सिमेन्ट निर्यात घटेको हुन सक्ने सरोकारवाला बताउँछन् । बीआईएस नवीकरण ढिलाइ हुँदा पनि निर्यात घटेको नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष राजेशकुमार अग्रवालले बताए । बीआईएस प्रमाणपत्र नवीकरणमा हुने ढिलाइका कारण अर्डर भइसकेको सिमेन्टसमेत निर्यात गर्न नसकिने उनको भनाइ छ । ‘भारतमा सिमेन्ट निर्यात गर्न हामीले त्यहाँको बीआईएस चिह्न लिनुपर्छ । पहिला तीन वर्षको दिन्थ्यो, अहिले एक वर्षको मात्र दिन्छ । एक वर्षपछि नवीकरण जाँदा ढिलो गरिदिन्छ । दुई–तीन महिना लाग्छ । त्यसले गर्दा निर्यात घट्छ,’ अग्रवालले भने । आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट २ अर्ब ३ करोड ६१ लाख २९ हजार रुपैयाँ बराबरको ९ लाख २३ हजार ३ सय ७६ टन सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब २१ करोड ९४ लाख २९ हजार रुपैयाँ बराबरको ३ लाख ५६ हजार ४ सय ७३ टन सिमेन्ट निर्यात भएको थियो । उक्त तथ्यांक अनुसार एक वर्षमा सिमेन्ट निर्यातको परिमाण ५ लाख ६६ हजार ९ सय ३ टनले बढेको छ । तर निर्यातबाट प्राप्त रकम भने अघिल्लो वर्षको तुलनामा १८ करोड ३३ लाख रुपैयाँले घटेको छ । सिमेन्टको निर्यात परिमाण उल्लेख्य बढे पनि त्यसबाट हुने आम्दानी घटेको छ । अघिल्लो वर्षको तुलनामा धेरै परिमाणमा सिमेन्ट निर्यात भए पनि कम मूल्यमा बिक्री हुँदा कुल निर्यात आम्दानी घटेको छ । ‘सिमेन्टमा मुख्यतया दुई किसिमका उत्पादन ओपीसी र पीपीसी हुन्छन् । पीपीसी सिमेन्टको मूल्य ओपीसीको तुलनामा कम हुन्छ । त्यसैले पीपीसीको हिस्सा बढेकाले निर्यात परिमाण बढे पनि मूल्य घटेको देखिन्छ,’ उनले भने, ‘हाम्रो सिमेन्टको गुणस्तरमा केही समस्या छैन । बीआईएस समयमा नवीकरण नहुँदा अर्डरअनुसार सामान दिन सकेका छैनौं ।’ बीआईएस प्रमाणपत्र नवीकरणमा हुने ढिलाइ नै निर्यातमा समस्या बनिरहेको अग्रवालको भनाइ छ । बीआईएस प्रमाणपत्र नवीकरणमा ढिलाइ हुँदा अर्डर भइसकेको सामानसमेत निर्यात गर्न नसक्ने अवस्था आउने उनले बताए । ‘मैले भारतमा सिमेन्ट निर्यात गरिरहेको छु । तर बीआईएसको समय सकिएपछि अर्डर भएको पनि निर्यात गर्न पाउँदैनौं, त्यो नवीकरण भएपछि मात्रै सकिन्छ,’ उनले भने । नेपाल र भारतबीच गुणस्तरसम्बन्धी मापदण्डलाई समकक्षी (इक्विभ्यालेन्ट) मान्यता दिन सके दीर्घकालीन रूपमै उक्त समस्या समाधान हुने अग्रवालको भनाइ छ । आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट १ अर्ब ९७ करोड ८ लाख ३३ हजार रुपैयाँ बराबरको २३ लाख ३२ हजार ३ सय ७८ टन सिमेन्ट निर्यात भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा सिमेन्ट निर्यातको परिमाण घटेर ३ लाख ५६ हजार ४ सय ७३ टनमा झरे पनि आम्दानी भने बढेर २ अर्ब २१ करोड ९४ लाख रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०७९/८० मा ६ लाख ७ हजार ७३ टन सिमेन्ट निर्यात हुँदा ३५ करोड ८९ लाख ५१ हजार रुपैयाँ आम्दानी भएको थियो । २०७८/७९ मा १५ हजार १ सय ८९ टन सिमेन्ट निर्यात हुँदा १ करोड २९ लाख ३ हजार रुपैयाँ आम्दानी भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा भने ११ टन मात्रै सिमेन्ट निर्यात भएको थियो, जसबाट ८३ हजार रुपैयाँ आम्दानी भएको थियो । सिमेन्टसँगै पहिला क्लिंकर आयात गर्ने गरिए पनि अहिले निर्यात गर्न थालेको छ । आर्थिक वर्ष २०८२/८३ मा ७९ करोड ७८ लाख २६ हजार रुपैयाँ बराबरको ५ लाख ६१ हजार १ सय २६ टन क्लिंकर निर्यात भएको छ । आर्थिक वर्ष २०८१/८२ मा ६९ करोड ७३ लाख ७८ हजार रुपैयाँ बराबरको ४ लाख ९० हजार २ सय ७२ टन क्लिंकर निर्यात भएको थियो । क्लिंकर निर्यात ७० हजार ८ सय ५४ टन अर्थात् करिब १४ प्रतिशतले बढेको छ । निर्यात रकम १० करोड ४ लाख ४८ हजार रुपैयाँले बढेको विभागको तथ्यांक छ । मुलुकका खानी एवं सिमेन्ट उद्योगहरूले नै क्लिंकर उत्पादन गर्न थालेका छन् । ‘उद्योगहरूले क्लिंकरबाट आफ्नै सिमेन्ट बनाउँछन् । बढी भएको क्लिंकर ग्राइन्डिङ युनिटहरूलाई बिक्री गर्छन् । केही मात्रामा भारततर्फ निर्यात पनि गर्ने गरेका छन्,’ अग्रवालले भने । नेपालबाट उत्पादित सिमेन्ट र क्लिंकर मुख्यतया सीमावर्ती भारतीय क्षेत्र यूपी र बिहारमा निर्यात हुने गर्छ । नेपालबाट सामान बोकेर आएका भारतीय ट्रकहरूले नेपालमा खाली गरेपछि सोही ट्रकमा सिमेन्ट लोड गरेर फर्किन नपाउने भन्सार नियमले पनि समस्या पारेको अग्रवाल बताउँछन् । ‘ट्रकले ल्याएको सामान खाली गरेर फेरि भारत फर्केर भन्सार पास गरी पुनः लोडका लागि आउनुपर्छ, यो झन्झटिलो नियमका कारण लागत बढ्ने र समय लाग्छ,’ उनले भने । पछिल्ला वर्षमा पाल्पा सिमेन्टको तानसेन, अर्घाखाँची, बालाजी र सर्वोत्तमलगायत सिमेन्ट भारत निर्यात हुन थालेका छन् । झन्डै एक दशकअघि पनि आरएमसी सिमेन्टले भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग (पीएससी) सिमेन्ट निर्यात गरेको थियो । त्यसबेला नेपालले भारतबाटै कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था थियो । तर सिमेन्ट निर्यातले निरन्तरता पाउन सकेको थिएन । अहिले नेपालमै कच्चा पदार्थ पाइने भएकाले निर्यात बढ्दै गएको छ । सिमेन्ट उत्पादक संघको तथ्यांकअनुसार नेपालमा ६० भन्दा बढी सिमेन्ट उद्योग सञ्चालनमा छन् । त्यसमध्ये करिब १५ भन्दा बढी उद्योगले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झन्डै २ करोड २० लाख टन रहेको अनुमान छ । सरकारले दिने अनुदान कटौती र बीआईएस नवीकरणमा ढिलाइ र भारतजस्तो ठूलो मूलुकमा प्रतिस्पर्धा गर्न गाह्रो हुँदा सिमेन्ट निर्यात घटेको संघका पूर्वअध्यक्ष ध्रुव थापा बताउँछन् । ईकान्तिपुर
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही
काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनका चालक कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रा... ...

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
याङगुन।म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो। विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ...

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
बाढीले केही आयोजना बन्द गराए पनि द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत निर्यात कारोबार बढेको हो। ...



