दसैँको टीका र जमराको धार्मिक महत्व के हो?

काठमाडौं। विजयादशमी हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व मात्र नभई नवरात्रभर गरिएको देवीको पूजा-आराधनाको प्रसाद र आशीर्वाद ग्रहण गर्ने विशेष दिन हो। धार्मिक मान्यताअनुसार यो पर्व भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग जोडिएको छ। उपप्राध्यापक डा. नारायणप्रसाद निरौलाका अनुसार विजयादशमीको मूल भाव देवी भगवतीको प्रसाद ग्रहण गर्नु र मान्यजनबाट आशीर्वाद लिनु हो। नवरात्रभर गरिने पूजा-आराधनाको समापन दशमीमा विसर्जनसँगै हुने र त्यसपछि टीका तथा जमरा ग्रहण गर्ने परम्परा छ। निरौलाले भने, ‘विजयादशमीको दिन विशेषगरी भगवतीको प्रसाद लिने हो। नवरात्रभरि गरिएको देवीको शक्तिबाट प्राप्त हुने प्रसाद ग्रहण गर्ने यो उत्तम समय हो।’ उनले सप्तमीको फूलपातीदेखि नवमीसम्म विशेष पूजा-आराधना गरिने र दशमीमा टीका, जमरा र प्रसाद ग्रहण गर्ने परम्परा रहेको बताए। उनका अनुसार रातो टीका शक्ति, शुभ र मङ्गलको प्रतीक हो। देवीलाई रातो रङ प्रिय मानिने भएकाले शक्तिको उपासना गर्ने परम्परामा रातो टीका लगाउने चलन छ। यद्यपि, केही समुदायमा स्थानीय तथा कुल परम्पराअनुसार सेतो टीका लगाउने प्रचलनसमेत रहेको छ। घटस्थापनाका दिन रोपेर हुर्काइएको जमरालाई पनि देवीको प्रिय वस्तु र प्रसादका रूपमा लिइन्छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका र प्रसाद ग्रहण गर्न विशेष साइत नै कुर्नुपर्ने बाध्यता नरहेको निरौलाले बताए। शास्त्रमा विजयादशमीलाई सम्पूर्ण कार्य सिद्धिका लागि उत्तम समयका रूपमा उल्लेख गरिएको छ। दसैँमा दिइने आशीर्वचनको पनि विशेष महत्व छ। ‘आयुर्द्रोणसुते श्रियो दशरथे, शत्रुक्षयो राघवे, ऐश्वर्यं नहुषे, बलं हलधरे, सत्यञ्च कुन्तीसुते, विज्ञानं विदुरे, कीर्तिश्च नारायणे’ भन्दै दिइने आशीर्वादमा दीर्घायु, श्री, शत्रुनाश, ऐश्वर्य, बल, सत्यनिष्ठा, ज्ञान र कीर्तिको कामना गरिन्छ। यसरी विजयादशमी केवल टीका र जमरा लगाउने पर्व मात्र नभई देवी आराधनाको प्रसाद ग्रहण गर्ने, शक्ति र शुभताको कामना गर्ने तथा अग्रजबाट आशीर्वाद लिने महत्वपूर्ण धार्मिक अवसरका रूपमा मनाइन्छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाख ६६ हजार बिगो असुल
गण्डकी । कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पक्राउ पर्नेमा २३ पुरुष र नौ महिला छन् । उनीहरूलाई कैद सजाय भुक्तान गराउन र जरिवाना असुल गर्न अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी ...

विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
काठमाडौं। बडादशैँको मुख्य दिन विजयादशमीका अवसरमा आज बिहानैदेखि देशभर हर्षोल्लासका साथ मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०:२६ बजेको समयलाई टीका लगाउने उत्तम साइतका रूपमा सार्वजनिक गरेको थियो। घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट वैदिक विधिपूर्वक अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र पहेँलो जमरा लगाउने परम्परा छ। शास्त्रीय ...
मुक्तिनाथ मन्दिरमा दर्शनका लागि आएकालाई टीका
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), कात्तिक ४ गते । हिन्दू धर्मालम्बीहरूको पवित्र तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शनका लागि... ...

दशैँमा नगरपालिकाले दियो मासुसहित खाद्यन्न
अलपत्र परेका निर्माण मजदुरहरूलाई धादिङको नीलकण्ठ नगरपालिकाले मासुसहितका खाद्यान्न सामग्री उपलब्ध गराएको छ। ...


