दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तको हातबाट आशीर्वाद थाप्ने दिन । घरआँगन आफन्तले भरिएका छन् । कोही टीका र जमरा लगाएर तस्बिर खिचिरहेका छन्, कोही सामाजिक सञ्जालमा खुसी साटिरहेका छन् । कतै पिङको मच्चाइ छ । धेरैका लागि दशैँ उमंग, भेटघाट र मीठोमसिनो खाने पर्व बनेको छ । गाउँबस्ती र सहरका टोल टोलमा दशैँका गीत गुञ्जिरहेका छन् । ‘आउँथ्यो दशैँ आउन त पहिला नि,यस्तो मज्जा भा’थे’न कहिल्यै नि…’ गायक हेमन्त शर्मा र गायिका मेलिना राईको स्वरमा रहेको यो गीतमा ‘लिपसिङ’ मिलाउँदै टिकटकमा रमाउनेहरू पनि कम छैनन् । तर ठीक यसको उल्टो, ‘यस्तो नमज्जा कहिल्यै भएको थिएन’ भन्ने अवस्था यसपाली भोटेकोशी बाढीपीडितले भोग्नुप¥यो । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण घरबार गुमाएका र आफन्त गुमाउनेहरूका लागि यस वर्षको दशैँजस्तो पीडादायी दशैँ सायद पहिला कहिल्यै भएन होला । आज दशैँको टिका, कसैका निधारमा रातो टीका टल्किएको छ, कतै प्रियजनको सम्झनाले आँखा रसाएका छन् । कतै आफन्तको हातबाट टिका जमरा लगाउँदै आशिर्वाद लिन भ्याईनभ्याई छ होला । तर कतिको आशिर्वाद दिने आफन्त नै बाढीले बगायो । बाढीका कारण वेपत्ता हुने आफन्तको कहिकतैबाट फर्कि पो आउने हुन् कि भन्ने प्रतिक्षा गर्न पनि छाडेको छैन मन । कतै घरमा दशैँको रौनक छ, कसैको घर नै छैन । कतै गाउँमा रमझम बढिरहेको बेलामा कतै गाउँ नै बगर बनेको छ । विनाशकारी बाढीले घरबार र सम्पत्ति मात्र बगाएन । त्योभन्दा पिडादायी परिवारका सदस्य र आफन्त गुमादा भयो । बाढी गएदेखि नै कयाँै प्रभावित परिवारलाई पीडा बिर्सन मुस्किल भएको छ । वर्षदिनमा एकपटक आउने दशैँले समेत उनीहरूको मनमा खुसी फर्काउन सकेन । नुवाकोटको विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपाललाई यस वर्षको दशैँले विगतका वर्षभन्दा बढी पीडा दिएको छ । बाढीले प्रभावित परिवारका घर, सम्पत्ति र आफन्त खोसिएका छन् । यस्तो अवस्थामा टीका लगाउने र उत्सव मनाउने कुरा उनीहरूका लागि निकै परको विषय बनेको छ । ‘यहाँ न बस्ने घर छ, न अलिअलि गरेर जोडेको सम्पत्ति छ, न आफ्ना प्रियजन छन् । दशैँमा टीका लगाउने त कुरै भएन,’ उनी भन्छन्, ‘टीका लगाउन मिल्नेहरूलाई पनि खुसी छैन । सामाजिक सञ्जालमा देखिने तस्बिरले मात्रै दशैँ आएछ भन्ने थाहा हुन्छ । यहाँ त केही छैन् । दशैँ आएको हो कि होइन भन्ने पत्तै हुँदैन ।’ दशैँमा घर फर्किने, आफन्तसँग भेटघाट गर्ने र मीठोमसिनो खाने चाहना सबैको हुन्छ । तर, घर नै नरहेपछि र आफ्ना मान्छे नै गुमाएपछि पर्वको अर्थसमेत फेरिएको महसुस भएको छ वडाअध्यक्ष नेपाललाई । अरूका घरमा टीका र जमराको रौनक देख्दा आफ्नै विगत सम्झिएर मन भक्कानिएको छ उनको । विदुर नगरपालिकाकै वडा नं ११ मा बाढीको प्रत्यक्ष प्रभाव खासै परेन । तर, छिमेकी वडाका बासिन्दाले भोगेको पीडाले त्यहाँका स्थानीयको मन पनि दुखाएको छ । आफ्नो घर सुरक्षित रहेपनि छिमेकीको घर उजाडिएको र आफन्त गुमाएको दृश्यले दशैँको उत्साह घटाएको वडाध्यक्ष बाबुराम तामाङ बताउँछन् । ‘गत वर्ष पिङ खेल्ने, बाजा बजाउने, नाचगान गर्ने, आफन्त भेट्ने, मिठा खाने र राम्रा लुगा लगाउने गरिन्थ्यो । दशैँको रौनक नै अर्कै हुन्थ्यो,’ उनी भन्छन्, ‘यस वर्ष त छिमेकीलाई परेको पीडा देखेर हाम्रोमा पनि दशैँको उत्साह छैन ।’ दशैँ आफन्तसँगको भेटघाट र आपसी सद्भावको पर्व हो । त्यसैले आफ्नो छिमेकीको आँसु देखेर रमाउन सकिँदैन । यस वर्ष विदुर–११ का बासिन्दाले पनि त्यही अनुभूति गरिरहेका छन् । बाढीले प्रत्यक्ष क्षति नपु¥याएको बस्तीमा समेत दशैँको उल्लास पहिले झैँ फर्किन सकेको छैन । रसुवाको उत्तरगया गाउँपालिका–५ का बासिन्दा बासुदेव लामिछानेले जीवनका छ दशक पार गरिसक्दा पनि अहिलेको जस्तो पीडादायी दशैँ कहिल्यै अनुभव गरेका थिएनन् । बाढीले आफन्त र गाउँले गुम्यो । उनको सम्पत्ति बगायो । गाउँले र आफन्तसँगको पुरानो सामीप्य पनि बाढीसँगै हराएको छ । ‘आफ्नो सम्पत्ति सबै बगायो । आफन्त छैनन्, गाउँले छैनन् । दुई महिना बित्न लाग्दा पनि हामी शोकमै छौँ,’ उनी भन्छन्, ‘ओहो, आज टीका पो रहेछ भन्ने लाग्छ । दशैँ आएको हो कि गएको हो, त्यसको महत्व नै छैन ।’ विगतका वर्षमा दशैँ नजिकिँदै गर्दा घरआँगन सफा गर्ने, नयाँ लुगा किन्ने, आफन्तलाई बोलाउने र टीकाको तयारी गर्ने चटारो हुन्थ्यो । यस वर्ष भने लामिछानेका लागि ती सबै सम्झनामा सीमित भयो । उनलाई आफ्नो ठाउँमा फेरि पहिलेजस्तै रमझमसहित दशैँ फर्किएला कि नफर्किएला भन्ने चिन्ताले पनि सताएको छ । उत्तरगया गाउँपालिकाकै अर्का स्थानीय सपना तामाङलाई पनि यसपटक दशैँ आएको अनुभूतिसमेत हुन सकेको छैन । विगतमा खुसी र उल्लास बोकेर घरभित्रिने दशैँ यस वर्ष पीडा र विछोडका सम्झना लिएर आएको उनको अनुभव छ । चाडपर्वले विगतका सुखद क्षण सम्झाउँछन्, तर त्यही सम्झनाले प्रियजन गुमाएकाहरूको घाउ थप बल्झाउँछ । बाढीको प्रत्यक्ष मारमा परेका परिवारको पीडा आफ्नै ठाउँमा छ । तर, घर सुरक्षित रहेकाहरूका लागि पनि यस वर्षको दशैँ सहज छैन । कुनै समय सँगै चाडपर्व मनाएका छिमेकी नहुँदा गाउँबस्ती नै सुनसान बनेको छ । एकै ठाउँमा हुर्किएका, दुःखसुख साटेका र वर्षौंदेखि दशैँमा भेटघाट गर्दै आएका मानिसहरू नहुँदा चाडको रौनक हराएको छ । गोरखाको पालुङटार नगरपालिका–५ मा पनि यस वर्ष विगतका दशैँमा जस्तो चहलपहल छैन । घरआँगनमा आफन्त भेला हुने र गाउँमा चाडपर्वको उल्लास छाउने क्रम कमजोर बनेको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले यहाँका ३० जना छिमेकीको ज्यान लिएपछि गाउँलेहरू अझै शोकबाट बाहिर निस्कन सकेका छैनन् । रसुवाको गोसाइँकुण्ड यात्राका लागि ३६ यात्रु बोकेर गएको ग २ ख ११५२ नम्बरको पृथ्वी यातायातको बस बाढीमा बग्दा छ जना मात्रै सकुशल रहेका थिए । एउटै घटनामा ठूलो संख्यामा छिमेकी गुमाउनुपर्दाको पीडा पालुङटार–५ का बासिन्दाका लागि अझै ताजा छ । यस वर्ष गाउँमा दशैँको टीका थाप्ने, जमरा लगाउने र आफन्तसँग भेटघाट गर्ने चहलपहल नभएको बताउँछन् सोही वडाका वडाध्यक्ष दीपक पाण्डे । ‘यसपटक पहिलाको जस्तो दशैँको टीका थाप्ने, जमरा लगाउने र आफन्त भेटघाटको चहलपहल नै छैन,’ उनी भन्छन् । दशैँमा गाउँ फर्किनेहरूका लागि घर मात्र गन्तव्य हुँदैन, त्यहाँ भेटिने आफन्त, छिमेकी र साथीभाइ पनि उत्तिकै प्रिय हुन्छन् । तर, यसपटक पालुङटारका धेरै बासिन्दाका लागि घरमै बसेर पनि आफ्ना मान्छे भेट्न पाउने अवस्था छैन । सँगै दशैँ मनाउनेहरू नै नरहेपछि चाडपर्वको खुसी नै छैन । दशैँको टीका निधारमा लगाइने रङ मात्रै नभएर आफन्तबीचको सम्बन्ध, माया र आशिर्वादको प्रतीक पनि हो । त्यसैले प्रियजन गुमाएका परिवारका लागि टीका र जमराभन्दा उनीहरूसँग बिताएका पुराना क्षणको सम्झना बढी गहिरो बनेको छ । एकातिर देशभर दशैँको रौनक छ । सामाजिक सञ्जालमा टीका र जमराका तस्बिर छरिएका छन् । अर्कातिर, बाढी प्रभावित बस्तीका धेरै घरमा शोकको सन्नाटा छ । उनीहरूका लागि यसपटक दशैँ आएको छ, तर दशैँको खुसी आएको छैन । यस वर्षको दशैँले यही फरक फरक अनुभूति उजागर गरेको छ– कतै रौनक छ, कतै सुनसान ।(रासस)
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन
ललितपुर । पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन गरिएको छ । विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दसैँमा दुई पटक मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्परा छ । नाच... ...

फेरिँदै दसैं, हराउँदै गाउँको रौनक
चंगा उडाउने, पिङ खेल्ने र मौलिक भाकामा रमाउने दसैंका पुराना शैली गाउँघरबाट विस्तारै हराउँदै छन् । बदलिँदो जीवनशैली, बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीले दसैं मनाउने परम्परामा परिवर्तन ल्याएको छ । ...

जापानमा दुर्लभ खनिज ‘इट्रियम’को आपूर्ति ठप्प, मौज्दात केही महिनालाई मात्र
काठमाडौँ । दुर्लभ माटो तत्व इट्रियमको विश्वव्यापी आपूर्ति ठप्प हुँदा जापानमा यसको अभाव गहिरिने चिन्ता बढेको छ । जापानी अधिकारीका अनुसार, आपूर्ति र मागबिच ठुलो असन्तुलन देखिएको छ भने उपलब्ध मौज्दात... ...

यू–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’मा
काठमाडौं । नेपालले बङ्गलादेशसँग संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन् । नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान) ...


