काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको उक्त निकायले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कात्तिक २७ गतेको निर्णयानुसार ती कम्पनीहरूलाई कारबाही गरेको हो। शनिबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन नपाउने स्पष्ट पारेको छ। बागमती गाउँपालिका, मकवानपुरको सिफारिसमा नेसनल कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिएको छ। काभ्रेपलाञ्चोकको रोशी-०६ ठेगाना रहेको उक्त कम्पनीका मुख्य व्यक्ति नबिनकुमार लामा हुन्। त्यसैगरी, सडक डिभिजन जनकपुरको सिफारिसमा बाम्ती भण्डार र नरसिंह जेभीलाई पनि दुई वर्षका लागि प्रतिबन्ध लगाइएको छ। महोत्तरीको जलेश्वर-०७ ठेगानामा रहेको यस संयुक्त उपक्रममा बाम्ती भण्डार प्रालि र नरसिंह कन्स्ट्रक्सन साझेदार छन्। यस कम्पनीका मुख्य व्यक्ति दिपेन्द्र झा हुन्। यस्तै, पूर्वाधार विकास कार्यालय डडेल्धुराको सिफारिसमा नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालि पनि कालोसूचीमा परेको छ। यस कम्पनीका मुख्य व्यक्तिहरू दिपकबहादुर सिंह र दिलराज जोशी रहेका छन्। कार्यालयका अनुसार सूचना प्रकाशित भएको मितिदेखि नै यो निर्णय कार्यान्वयनमा आएको छ।
तीन निर्माण कम्पनी दुई वर्षका लागि कालोसूचीमा

Read Complete Original Article
Published originally on नेपालन्युज





