Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

तिहारमा ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान, गोदावरी फूलको प्रदर्शनी भोलिदेखि

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान, गोदावरी फूलको प्रदर्शनी भोलिदेखि
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं । तिहारमा करिब ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान गरिएको छ । तिहारलाई लक्षित गरी फूलको माग बढिरहेका बेला फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्दैछ । यस वर्ष तिहारमा सयपत्री, मखमली, गोदावरी र विभिन्न फूल मिसाएर तयार गरिने मिक्स गरी करिब ५१ लाख ८० हजार माला खपत हुने फ्यानको प्रारम्भिक अनुमान छ । यसमध्ये सयपत्रीका करिब ४५ लाख, मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका करिब ६० हजार माला खपत हुने अनुमान गरिएको छ । अधिकांश माग स्वदेशमै उत्पादित फूलबाट पूर्ति हुने अपेक्षा गरिएको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको गोदावरी फूलको प्रदर्शनीमा व्यावसायिक, प्लान्ट क्लिनिक, आधिकारिक, प्रतियोगितात्मक तथा फोटो सेल्फी स्टल गरी ८६ वटा प्रदर्शनी कक्ष रहनेछन् । प्रदर्शनीमा नेपालमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएका गोदावरी फूलका विभिन्न जातसँगै यस वर्ष भित्रिएका नयाँ जातका फूलसमेत गरी ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा प्रदर्शन र बिक्री गरिने आयोजकले जनाएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना हुने प्रदर्शनीमा गोदावरी फूलका पाँच विधा—मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर—बीच प्रतिस्पर्धा गराइनेछ । यस वर्ष कट फ्लावरतर्फ उत्कृष्ट पुष्प सजावट विधा पनि थप गरिएको छ । उत्कृष्ट नर्सरी तथा फर्मलाई विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रदर्शनीमा गोदावरी फूलसँगै तिहारका लागि आवश्यक सयपत्री, मखमली तथा अन्य मौसमी फूल र सजावटी बिरुवासमेत बिक्रीका लागि राखिनेछन् । पुष्प व्यवसायका नयाँ प्रविधि तथा उपलब्धिबारे जानकारी दिनुका साथै फूल तथा बिरुवामा लाग्ने रोग र कीरासम्बन्धी समस्या समाधानका लागि विज्ञसहितको टोलीले प्लान्ट क्लिनिक सेवा पनि उपलब्ध गराउनेछ । फ्यानका अनुसार गत वर्षको तिहारमा व्यावसायिक रूपमा उत्पादित करिब ४० लाख सयपत्री फूलका माला खपत भएका थिए । यस वर्ष असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण केही क्षेत्रमा सयपत्री खेतीमा क्षति पुगे पनि आन्तरिक उत्पादनबाट करिब ४० लाख माला बराबरको आपूर्ति हुने अनुमान छ । बाँकी माग पूरा गर्न स्थानीय तथा ग्रामीण क्षेत्रबाट उत्पादित फूल बजारसम्म पुर्‍याउने र आवश्यक परे थप फूलको व्यवस्थापन गर्ने तयारी भइरहेको छ । हाल सातै प्रदेशका विभिन्न जिल्लामा सयपत्री फूलको व्यावसायिक खेती विस्तार भइरहेको छ । फ्यानको प्रारम्भिक सर्वेक्षणअनुसार देशभर २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्रीको व्यावसायिक खेती भइरहेको छ । ग्रामीण तथा उत्पादन क्षेत्रमा सयपत्रीको माग लगभग पूर्ण रूपमा स्वदेशी उत्पादनबाट पूर्ति हुने अवस्था रहे पनि प्रमुख सहरी बजारमा करिब ८८.८९ प्रतिशत माग मात्रै आन्तरिक उत्पादनबाट धानिने अनुमान गरिएको छ । मखमली फूलको उत्पादनमा नेपाल आत्मनिर्भर रहेको फ्यानले जनाएको छ । यस वर्ष तिहारमा मखमलीका करिब ६ लाख माला खपत हुने अनुमान छ । त्यसमध्ये करिब चार लाख माला आन्तरिक बजारमा खपत हुने र दुई लाख माला निर्यात हुने अपेक्षा गरिएको छ । काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी–बडिखेल, धादिङ, पाल्पा, कैलाली तथा इलामलगायतका क्षेत्रमा मखमली फूलको व्यावसायिक उत्पादन हुँदै आएको छ । यस वर्ष तिहारमा गोदावरी फूलका मालाबाट करिब दुई करोड ४० लाख रुपैयाँ र मिक्स मालाबाट पनि करिब दुई करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । सयपत्री, मखमली, गोदावरी र मिक्स मालाको संयुक्त कारोबार करिब ४८ करोड रुपैयाँ पुग्ने फ्यानको अनुमान छ । मालाबाहेक तिहारमा घर, आँगन, कार्यालय तथा व्यावसायिक परिसर सजाउन जीवित फूलका पोली र गमलाको समेत ठूलो कारोबार हुने अपेक्षा गरिएको छ । यस वर्ष करिब ३५ लाख सयपत्री फूलका पोली बिक्रीबाट १० करोड ५० लाख रुपैयाँ र आठ लाख गोदावरी फूलका गमला बिक्रीबाट करिब छ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ । यसरी फूलका पोली तथा गमलाबाट मात्रै करिब १६ करोड ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी पाँच दिनसम्म सञ्चालन हुनेछ । आयोजकले प्रदर्शनीमा ३९ हजारभन्दा बढीले अवलोकन गर्ने र एक करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरेको छ । तिहार नेपाली पुष्प व्यवसायका लागि महत्त्वपूर्ण मौसमी बजार भएकाले स्वदेशी फूलको खपत बढ्दा किसान तथा पुष्प व्यवसायीको आम्दानी वृद्धि, रोजगारी सिर्जना र फूलको आयात प्रतिस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । फ्यानले तिहारका लागि आवश्यक फूल सकेसम्म स्वदेशी उत्पादनबाटै खरिद गर्न उपभोक्ता, व्यापारी तथा सरोकारवालालाई आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा
Latest NewsJust now

विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्मको... ...

रातोपाटी
नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श
Latest NewsJust now

नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान र देवकोटा-लु सुन प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल-चीन द्विदेशीय साहित्यिक गोष्ठी सम्पन्न भएको छ । ‘नेपाल-चीनबीचको सिर्जनात्मक सेतु’ विषयमा केन्द्रित गोष्ठीमा साहित्यले दुई देशका समाज, संस्कृति र मानव आत्मालाई जोड्ने साझा भाषा भएको वक्ताहरूले बताए । लु सुन कल्चर फाउण्डेशनका अध्यक्ष झाउ लिङफीले चिनियाँ साहित्यकार लु सुन र नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटा दुवै देशको आधुनिक साहित्यका महान् ...

हिमालय टाइम्स
एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल
Latest NewsJust now

एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडकको निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल थालेको छ । स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल व्यवस्थापनमा... ...

रातोपाटी
चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान
Latest NewsJust now

चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान

चितवन । चितवनमा लङ्गुर बुर्जा खेल्ने क्रम बढेपछि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी एकाइले दसैँ र तिहारको बिचको अवधिलाई लक्षित गरी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play