काठमाडौं । नेपालीहरूको दोस्रो महान पर्व तिहार फूलहरूको पर्व पनि हो । तिहारमा घर, आँगन र पूजाकोठालाई सयपत्री, मखमली र गोदावरी जस्ता फूलहरूले झिलमिल र आकर्षक बनाइन्छ। त्यसैले यो पर्वमा धेरै फूल खपत हुने गरेको छ । यस वर्षको तिहार पर्वमा सयपत्री, मखमली, गोदावरी लगायतका फूल मिसाएर तयार गरिने करिब ५१ लाख ८० हजार वटा फूलका माला खपत हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसियसन नेपालले जनाएको छ । तिहारमा मालासँगै सयपत्री तथा गोदावरी फूलका पोली तथा गमलाको समेत ठूलो कारोबार हुने भएकाले समग्र तिहार लक्षित पुष्प बजार अझ ठूलो हुने देखिएको फ्लोरिकल्चर एशोसियसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले जनाए । अध्यक्ष श्रेष्ठले भने, ‘प्रारम्भिक अनुमान अनुसार यस वर्ष तिहारमा सयपत्री फूलका करिब ४५ लाख, मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका करिब ६० हजार माला खपत हुने अनुमान गरिएको छ । यी मध्ये अधिकांश माग स्वदेशमै उत्पादित फूलबाट पूर्ति हुने अपेक्षा गरिएको छ ।’ सयपत्रीको माग र आपूर्ति गत वर्षको तिहारमा व्यावसायिक रूपमा उत्पादित करिब ४० लाख सयपत्री फूलका माला खपत भएको थियो । यस वर्ष पनि बजार माग करिब सोही हाराहारीमा रहने अनुमान गरिएको भए पनि उत्पादन तथा बजार विस्तारका कारण करिब ४५ लाख सयपत्री माला कारोबार हुने अनुमान गरिएको छ । यस वर्ष २०८३ असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण केही क्षेत्रमा सयपत्री फूलको खेतीमा क्षति पुगेको छ । त्यसका बाबजुद आन्तरिक उत्पादनबाट करिब ४० लाख माला बराबरको आपूर्ति हुने विश्वास गरिएको छ। बाँकी माग व्यवस्थापन गर्न स्थानीय तथा ग्रामीण क्षेत्रबाट उत्पादित फूललाई बजारसम्म पुऱ्याउने तथा आवश्यक परे नपुग हुने फूलको व्यवस्थापन गर्ने पहल भइरहेको फ्लोरिकल्चर एशोसियसनले जनाएको छ । हाल सातै प्रदेशका विभिन्न जिल्लामा सयपत्री फूलको व्यावसायिक खेती विस्तारको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले प्रारम्भिक सर्वेक्षण अनुसार २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्रीको व्यावसायिक खेती भइरहेको छ र हरेक वर्ष यसको खेती क्षेत्र विस्तार हुँदै गएको देखिएको बताए । उनका अनुसार ग्रामीण तथा उत्पादन क्षेत्रहरूमा सयपत्रीको माग लगभग पूर्ण रूपमा स्वदेशी उत्पादनबाटै धान्न सकिने अवस्था रहेको छ । मुख्य शहरी तथा बजार केन्द्रित क्षेत्रमा भने करिब ८८।८९ प्रतिशत माग आन्तरिक उत्पादनबाट पूर्ति हुने र करिब ११।११ प्रतिशत बराबरको माग व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ । मखमली फूलमा आत्मनिर्भरता यस वर्ष तिहारमा करिब ६ लाख माला बराबरको माला खपत हुने अनुमान गरिएको छ । यसमध्ये करिब ४ लाख माला आन्तरिक बजारमा खपत हुने र करिब २ लाख माला निर्यात हुने जनाइएको छ । अहिले नेपालमै उत्पादन हुने मखमलीले बजारको माग धानिरहेको अवस्था छ । तिहारमा पुष्प व्यवसायबाट हुने अनुमानित व्यापार काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी ९बडिखेल०, धादिङ, पाल्पा, कैलाली तथा इलाम लगायतका क्षेत्रमा मखमली फूलको व्यावसायिक उत्पादन हुँदै आएको छ । गोदावरी तथा मिक्स माला यस वर्ष तिहारमा करिब २० हजार गोदावरी फूलका माला खपत हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसियसन नेपालले जनाएको छ । गोदावरी मालाको औसत थोक मूल्य करिब १ हजार दुई सय रहने अनुमान गर्दा यसको कारोबार करिब २ करोड ४० लाख पुग्ने देखिन्छ । त्यस्तै, विभिन्न फूल समावेश गरी तयार गरिने मिक्स माला करिब ६० हजार वटा खपत हुने अनुमान गरिएको छ । यसको औसत थोक मूल्य करिब ४०० कायम हुँदा मिक्स मालाबाट करिब २ करोड ४० लाख बराबरको कारोबार हुने अनुमान छ । सयपत्री, मखमली, गोदावरी र मिक्स मालाको संयुक्त कारोबारबाट यस वर्षको तिहारमा करिब ४८ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । तिहारमा फूलका पोली तथा गमलाको पनि ठूलो कारोबार तिहारमा फूलका मालाको मात्र नभई घर, आँगन, कार्यालय तथा व्यावसायिक परिसर सजावटका लागि फुलेका सयपत्री तथा गोदावरी फूलका पोली तथा गमलाको समेत उल्लेख्य माग हुने गरेको छ । यस वर्ष करिब ३५ लाख सयपत्री फूलका पोली र बोट बिक्री हुने अपेक्षा गरिएको छ । प्रति पोली औसत ३० रुपैयाँका दरले यसको कारोबार करिब १० करोड ५० लाख हुने अनुमान गरिएको छ । त्यस्तै, करिब ८ लाख गोदावरी फूलका गमला बिक्री हुने र प्रति गमला औसत ७५ रुपैयाँका दरले करिब ६ करोड बराबरको कारोबार हुनेछ । यसरी तिहार लक्षित सयपत्री तथा गोदावरीका जीवित फूलका पोली तथा गमलाबाट मात्रै करिब १६ करोड ५० लाख बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । सातै प्रदेशमा सयपत्रीको व्यावसायिक उत्पादन विस्तार सयपत्री फूलको व्यावसायिक उत्पादन अहिले सातै प्रदेशका विभिन्न जिल्लामा विस्तार भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ, कैलाली लगायतका जिल्लामा सयपत्रीको व्यावसायिक उत्पादन भइरहेको छ। सयपत्री फूल उत्पादनमा आकर्षण बढ्दै जाँदा हरेक वर्ष यसको विस्तार पनि व्यापक रूपमा हुँदै गएको छ । तिहार नेपाली पुष्प व्यवसायका लागि सबैभन्दा महत्वपूर्ण मौसमी बजारमध्ये एक भएकाले यस अवधिमा स्वदेशी उत्पादनको उपयोग बढ्नुले कृषक तथा पुष्प व्यवसायीको आम्दानी वृद्धि, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । स्वदेशी फूलको प्रयोग बढाउन आग्रह तिहारका लागि आवश्यक फूलको माग सकेसम्म स्वदेशमै उत्पादित फूलबाट पूर्ति गर्न उपभोक्ता, व्यापारी तथा सरोकारवाला सबैलाई फ्लोरिकल्चर एशोसियसन नेपालले आग्रह गरेको छ । यस वर्ष केही क्षेत्रमा अविरल वर्षाका कारण सयपत्री खेतीमा क्षति पुगे पनि देशका विभिन्न उत्पादन क्षेत्रबाट बजारमा फूल आपूर्ति भइरहेको छ। फूल उत्पादन क्षेत्रबाट बजार केन्द्रसम्म फूलको सहज ढुवानी, उचित मूल्य निर्धारण तथा बजार व्यवस्थापन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको पनि अध्यक्ष राजेश भक्त श्रेष्ठले जानकारी दिए । तिहारमा स्वदेशी फूलको प्रयोगलाई प्राथमिकता दिनु भनेको नेपाली कृषक र पुष्प व्यवसायीलाई प्रत्यक्ष रूपमा सहयोग गर्नुका साथै स्वदेशी उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्रोत्साहन गर्नु हो । यसर्थ फूलका उपभोक्ताहरू तथा सरोकारवाला निकायहरू सबैबाट आवश्यक सहयोग हुनेछ भन्ने अपेक्षा गरेको पनि अध्यक्ष श्रेष्ठले बताए । The post तिहारमा करिब ५१ लाख ८० हजार फूलका माला खपत हुने, ४८ करोडको कारोबार हुने अपेक्षा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
तिहारमा करिब ५१ लाख ८० हजार फूलका माला खपत हुने, ४८ करोडको कारोबार हुने अपेक्षा

Read Complete Original Article
Published originally on कर्पोरट खबर






