तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं । नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई अन्तरराष्ट्रिय जलवायु वार्ताको प्रमुख विषय बनाउन संयुक्त प्रस्ताव अघि सारेका छन् । आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा ‘हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धि’ शीर्षकको छुट्टै एजेन्डा समावेश गर्न दुई देशले प्रस्ताव गरेका हुन् । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाल र भुटानका तर्फबाट सम्मेलनको मस्यौदा कार्यविधिको नियम १२ अन्तर्गत उक्त प्रस्ताव पेस गरेको वन मन्त्रालयले जनाएको छ । उनले हिमाली समुदायले जलवायु परिवर्तनको पहिलो र सबैभन्दा ठूलो असर व्यहोर्नुपरेको उल्लेख गर्दै त्यसको प्रभाव तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने अर्बौँ मानिससम्म पुग्ने बताए । हिमाली क्षेत्रबाट बग्ने नदीहरूले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने दुई अर्बभन्दा बढी मानिसलाई पानी, खाद्यान्न र ऊर्जा उपलब्ध गराउँदै आएका छन् । त्यस्तै, विश्वका जैविक विविधताका महत्त्वपूर्ण क्षेत्रमध्ये करिब आधा हिमाली क्षेत्रमा रहेका छन् । नेपाल र भुटानले कोप–३१ मा हिमाली क्षेत्रमा १।५ डिग्री तापक्रम वृद्धि र तापक्रम वृद्धिको लक्ष्य नाघ्ने अवस्थासम्बन्धी वैज्ञानिक अध्ययनलाई अघि बढाउन प्रस्ताव गरेका छन् । त्यसैगरी, हिमाल र जलवायु परिवर्तनसम्बन्धी वार्षिक उच्चस्तरीय संवाद आयोजना गर्ने, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी) अन्तर्गत हिमाली पारिस्थितिक प्रणालीसम्बन्धी कार्ययोजना निर्माणको प्रक्रिया सुरु गर्ने तथा जलवायु अनुकूलन, जलवायु वित्त र हानि नोक्सानीसम्बन्धी विषयमा हिमाली क्षेत्रका प्राथमिकता समावेश गर्न प्रस्ताव गरिएको छ । नेपाल र भुटानले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको धारा ४.८ लाई आधार बनाएर प्रस्ताव अघि बढाएका हुन् । यसका साथै यसअघि कोप–२८ को विश्वव्यापी समीक्षा, कोप–३० मा हिमाली क्षेत्रलाई औपचारिक एजेन्डाका रूपमा समावेश गर्ने निर्णय, सन् २०२६ जुन १२ मा एसबी–६४ अन्तर्गत आयोजित हिमाल र जलवायु परिवर्तनसम्बन्धी संवाद तथा सगरमाथा आह्वानलाई पनि प्रस्तावको आधार बनाइएको छ । प्रस्तावमा हिमाली क्षेत्रका विषयहरू संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको मुख्य निर्णय प्रक्रियामा पर्याप्त रूपमा समावेश हुन नसकेको उल्लेख गरिएको छ । हिमाली क्षेत्रलाई छुट्टै एजेन्डाका रूपमा समावेश गर्दा यस क्षेत्रका समस्यालाई नियमित र संस्थागत रूपमा सम्बोधन गर्न सकिने अपेक्षा गरिएको छ । मन्त्री चौधरीले हिमालले कुनै देशको सीमा नचिन्ने र हिमाली क्षेत्रमा उत्पन्न हुने जोखिम पनि सीमाभित्र सीमित नरहने बताए ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक
ललितपुर । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) अवस्थाको विश्लेषण गरी तयार पारेको सूचकाङ्क सहितको तथ्याङ्क प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले... ...

१२ बजे १२ समाचार : प्रहरी विज्ञप्तिको भोलिपल्टै पत्रकारमाथि धावा, सीमा नाका खुलाउन चीनको आनाकानी
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सुनकोशी–मरिनका आयोजना प्रमुख र महानिर्देशक सुरक्षा नियन्त्रणमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा... ...

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन
काठमाडौँ । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन गरेको छ । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६... ...

निर्माणाधीन दमक–चिसापानी सडकको नयाँ ठेक्का स्वीकृत
झापा । सरकारले निर्माणाधीन दमक–चिसापानी सडकको माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको पुरानो ठेक्का अन्त्य गरेर नयाँ ठेक्का स्वीकृत गरेको छ । झापाको दमकदेखि इलामको माङ्सेबुङ हुँदै पाँचथरको रबिसम्म जोड्ने सडकको २५.५ किलोमिटर खण्डको... ...


