काठमाडौं । रसुवागढी नाकाको पुनर्निर्माण तथा सिन्धुपाल्चोकस्थित तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन सरकारले अन्तरमन्त्रालय समन्वय र कूटनीतिक पहल तीव्र पारेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार नियमित प्रेस ब्रिफिङमार्फत नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाकाहरू पुनः सञ्चालनमा ल्याउन आवश्यक समन्वय भइरहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा सम्बन्धित विभाग तथा मन्त्रालयका प्रतिनिधिबीच अन्तरमन्त्रालय समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकामा पुर्याएको क्षतिको मूल्याङ्कन, पुनर्निर्माण तथा नाका पुनः सञ्चालनका विषयमा छलफल भएको उनले जानकारी दिए। अन्य व्यापारिक नाकाहरू सञ्चालनमा ल्याउने विषयमा पनि बैठकमा छलफल भएको थियो। गत भदौ १० गतेको बाढीपछि अवरुद्ध तातोपानी नाका दसैंको अवसरमा तीन दिनका लागि ठूला मालवाहक सवारीसाधन सञ्चालन गर्न खुला गरिएको थियो। तर, नाका नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन। ‘चीनसँगका नाकाहरू खुलाउने सम्बन्धमा मन्त्रालयमार्फत नियमित समन्वय भइरहेको छ,’ प्रवक्ता क्षेत्रीले भने। यसैबीच, दक्षिणपूर्वी एसियाली मुलुकहरूमा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ) गतिविधिमा फसेका नेपाली नागरिकको उद्धारका लागि पनि सरकारले आवश्यक पहल र समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ। – न्युज एजेन्सी नेपाल
तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन कूटनीतिक पहल तीव्र

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






