मानिसको जीवनमा दुःख, निराशा, तनाव र चिन्ता आउनु स्वाभाविक हो। असफलता, पारिवारिक तथा आर्थिक समस्या, सम्बन्धमा उतारचढाव वा प्रियजन गुमाउँदा केही समय मन खिन्न हुन सक्छ। तर उदासी लामो समयसम्म रहिरहे, दैनिक जीवन प्रभावित हुन थाल्यो र पहिले रुचि लाग्ने काममा समेत मन लाग्न छाड्यो भने त्यो डिप्रेसन अर्थात् अवसादको सङ्केत हुन सक्छ। मानसिक स्वास्थ्यबारे चर्चा बढे पनि डिप्रेसनलाई अझै कतिपयले कमजोरी वा नकारात्मक सोचका रूपमा बुझ्ने गरेका छन्। समाजले के भन्ला भन्ने डरले समस्या लुकाउने र उपचार खोज्न हिचकिचाउने प्रवृत्ति पनि छ। तर डिप्रेसन केवल दुःखी हुने अवस्था होइन। यसले व्यक्तिको सोच, व्यवहार, शारीरिक स्वास्थ्य र सामाजिक सम्बन्धमा असर पार्नुका साथै दैनिक कामकाजसमेत प्रभावित गर्न सक्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार अधिकांश दिन उदास रहने वा पहिले रुचि लाग्ने गतिविधिमा रुचि हराउने अवस्था कम्तीमा दुई हप्तासम्म रहनु डिप्रेसनको प्रमुख सङ्केत हुन सक्छ। यससँगै निद्रा, भोक, ऊर्जा, एकाग्रता र आत्मसम्मानमा पनि परिवर्तन देखिन सक्छ। यद्यपि सबैमा एउटै प्रकारका लक्षण देखिँदैनन्। मनोचिकित्सक डा. प्रदीप पाण्डेसँग डिप्रेसनका लक्षण, कारण, पहिचान, उपचार र अपनाउनुपर्ने सावधानीबारे सृष्टि बरालले गरेको कुराकानीको सम्पादित अंश : डिप्रेसन भनेको के हो? डिप्रेसन मानसिक स्वास्थ्यसँग सम्बन्धित विकार हो। यसमा व्यक्तिको मन लामो समयसम्म उदास रहने, निराशा बढ्ने, कुनै पनि काममा रुचि नलाग्ने र दैनिक जीवनप्रतिको उत्साह हराउनेजस्ता समस्या देखिन सक्छन्।सामान्य उदासी र डिप्रेसनबीच फरक हुन्छ। कुनै नराम्रो घटना हुँदा मानिस दुःखी हुन सक्छ। तर केही समयपछि परिस्थिति स्वीकार गर्दै पुनः सामान्य जीवनमा फर्कन सक्छ। डिप्रेसनमा भने उदासी वा रुचि हराउने अवस्था लामो समयसम्म रहन सक्छ र दैनिक कामकाजमा उल्लेखनीय असर पर्न सक्छ। डिप्रेसन जुनसुकै उमेर, पेसा, आर्थिक अवस्था र सामाजिक पृष्ठभूमिका व्यक्तिलाई हुन सक्छ। पुरुष, महिला, किशोरकिशोरी तथा वृद्धवृद्धा सबै यसबाट प्रभावित हुन सक्छन्। चिकित्सकीय रूपमा प्रमुख डिप्रेसिभ एपिसोडको पहिचान गर्दा सामान्यतया कम्तीमा दुई हप्तासम्म अधिकांश दिन उदास मनस्थिति वा पहिले रुचि लाग्ने गतिविधिमा रुचि हराउने अवस्थासहित अन्य लक्षणको मूल्याङ्कन गरिन्छ। तर दुई हप्ता पुगेपछि मात्रै उपचार खोज्नुपर्छ भन्ने होइन। लक्षण गम्भीर छन् वा आत्महत्याको विचार आएको छ भने तत्काल सहयोग लिनुपर्छ। डिप्रेसन जुनसुकै उमेर, पेसा, आर्थिक अवस्था र सामाजिक पृष्ठभूमिका व्यक्तिलाई हुन सक्छ। पुरुष, महिला, किशोरकिशोरी तथा वृद्धवृद्धा सबै यसबाट प्रभावित हुन सक्छन्। डिप्रेसन किन हुन्छ? डिप्रेसन हुनुको एउटै कारण हुँदैन। जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरूको संयोजनले यसको जोखिम बढाउन सक्छ। परिवारमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएको इतिहास, दीर्घकालीन तनाव, बाल्यकालका नकारात्मक अनुभव, प्रियजन गुमाउनु, सम्बन्धविच्छेद, पारिवारिक विवाद, आर्थिक समस्या, बेरोजगारी र सामाजिक एक्लोपनजस्ता अवस्थाले डिप्रेसनको जोखिम बढाउन सक्छन्। त्यस्तै दीर्घकालीन शारीरिक रोग, दीर्घ दुखाइ, हर्मोनसम्बन्धी परिवर्तन र केही औषधिको प्रभावले पनि मानसिक स्वास्थ्यमा असर पार्न सक्छ। कतिपय व्यक्तिमा कुनै स्पष्ट बाह्य कारण नदेखिए पनि डिप्रेसन हुन सक्छ। त्यसैले डिप्रेसन भएका व्यक्तिलाई किन यस्तो भयो भनेर दोष लगाउनु हुँदैन। यो केवल मन कमजोर भएको अवस्था होइन, उपचार र सहयोग आवश्यक पर्ने स्वास्थ्य समस्या हो। लगातार उदास रहनु डिप्रेसनको सङ्केत हो? लगातार उदास मनस्थिति डिप्रेसनको प्रमुख लक्षणमध्ये एक हो। प्रभावित व्यक्तिलाई बिनाकारण मन खिन्न हुने, रुन मन लाग्ने, निराश महसुस हुने वा जीवनप्रति उत्साह हराउने समस्या हुन सक्छ। कतिपयलाई पहिले रमाइलो लाग्ने काममा पनि रुचि लाग्न छोड्छ। साथीभाइसँग भेट्न, घुम्न, परिवारसँग कुराकानी गर्न वा आफूलाई मन पर्ने काम गर्न जाँगर चल्दैन। उनीहरू बिस्तारै सामाजिक गतिविधिबाट टाढिन सक्छन्। एक्लै बस्न मन लाग्ने, कसैसँग कुरा गर्न मन नलाग्ने र आफूलाई अरूले नबुझेको महसुस हुने समस्या पनि देखिन सक्छ। डिप्रेसनले व्यक्तिको निद्राको ढाँचामा परिवर्तन ल्याउन सक्छ। कतिपयलाई रातभर निद्रा लाग्दैन। निदाउन खोज्दा अनेक कुरा मनमा खेल्ने, विगतका घटनाबारे सोचिरहने र भविष्यप्रति चिन्ता बढ्ने हुन सक्छ। तर एक्लै बस्न मन लाग्दैमा डिप्रेसन भएको निष्कर्ष निकाल्नु हुँदैन। यस्तो व्यवहार अन्य कारणले पनि देखिन सक्छ। लगातार उदासी, रुचि हराउनु र दैनिक जीवन प्रभावित हुनुजस्ता लक्षण देखिएमा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श गर्नु आवश्यक हुन्छ। निद्रा र भोकमा परिवर्तन आउन सक्छ? डिप्रेसनले व्यक्तिको निद्राको ढाँचामा परिवर्तन ल्याउन सक्छ। कतिपयलाई रातभर निद्रा लाग्दैन। निदाउन खोज्दा अनेक कुरा मनमा खेल्ने, विगतका घटनाबारे सोचिरहने र भविष्यप्रति चिन्ता बढ्ने हुन सक्छ। कतिपय व्यक्ति राति निदाए पनि पटक-पटक ब्युँझिने वा बिहान धेरै चाँडै निद्रा खुल्ने समस्याबाट प्रभावित हुन्छन्। अर्कोतर्फ केही व्यक्तिलाई आवश्यकताभन्दा बढी सुत्न मन लाग्न सक्छ। लामो समय सुते पनि शरीर थाकेको महसुस हुन सक्छ। डिप्रेसनले खानपानको बानीमा समेत परिवर्तन ल्याउन सक्छ। कतिपय व्यक्तिलाई खान मन लाग्दैन। पहिले मन पर्ने खानेकुरा खाँदा पनि स्वाद महसुस हुँदैन। भोक कम हुने, खाना छोड्ने र तौल घट्ने समस्या देखिन सक्छ। अर्कोतर्फ केही व्यक्तिले तनाव र मानसिक पीडाका कारण आवश्यकताभन्दा बढी खाना खान सक्छन्, जसले तौल बढाउन सक्छ। निद्रा नलाग्नु वा भोक घट्नु मात्रै डिप्रेसनको प्रमाण होइन। तनाव, चिन्ता, शारीरिक रोग, औषधि तथा अन्य निद्रा विकारका कारण पनि यस्ता समस्या देखिन सक्छन्। निद्रा र खानपानमा आएको परिवर्तनले एकाग्रता, स्मरणशक्ति, निर्णय क्षमता र दैनिक काम गर्ने क्षमतामा असर पार्न सक्छ। यद्यपि निद्रा नलाग्नु वा भोक घट्नु मात्रै डिप्रेसनको प्रमाण होइन। तनाव, चिन्ता, शारीरिक रोग, औषधि तथा अन्य निद्रा विकारका कारण पनि यस्ता समस्या देखिन सक्छन्। सानो कुरामा रिस उठ्ने र झर्किने पनि हुन्छ? डिप्रेसन भएका सबै व्यक्ति सधैँ रोइरहन्छन् वा शान्त देखिन्छन् भन्ने हुँदैन। कतिपयमा चिडचिडापन, रिस र आक्रोश बढी देखिन सक्छ। सानो कुरामा रिस उठ्ने, परिवारका सदस्यसँग झर्किने, साथीभाइसँग विवाद गर्ने र सामान्य कुरालाई समेत नकारात्मक रूपमा लिने व्यवहार देखिन सक्छ। विशेषगरी बालबालिका र किशोरकिशोरीमा उदासीभन्दा चिडचिडापन बढी देखिन सक्छ। पढाइमा रुचि घट्ने, साथीहरूसँग टाढिने, विद्यालय जान मन नगर्ने र व्यवहारमा परिवर्तन आउनेजस्ता सङ्केत देखिन सक्छन्। यस्ता परिवर्तनलाई केवल उमेरको प्रभाव वा स्वभाव भनेर बेवास्ता गर्नु हुँदैन। आफूलाई कमजोर र मूल्यहीन ठान्ने किन हुन्छ? डिप्रेसनले व्यक्तिको आत्मसम्मान र सोच्ने तरिकामा गहिरो प्रभाव पार्न सक्छ। आफू केही गर्न नसक्ने, जीवनमा असफल भएको, अरूका लागि बोझ बनेको वा आफूमा कुनै क्षमता नभएको जस्तो महसुस हुन सक्छ। कहिलेकाहीँ विगतका सामान्य गल्तीलाई लिएर अत्यधिक अपराधबोध हुने गर्छ। भविष्यप्रति आशा हराउने र आफूले केही राम्रो गर्न सक्दिनँ भन्ने नकारात्मक सोच विकसित हुन सक्छ। डिप्रेसन भएका व्यक्तिलाई कमजोर इच्छाशक्ति भएको वा नकारात्मक सोच राखेको भन्दै दोष दिनु उचित हुँदैन। उनीहरूलाई भावनात्मक सहयोग, धैर्य र आवश्यक उपचारको आवश्यकता हुन्छ। यस्तो अवस्थामा परिवारका सदस्य वा साथीभाइले सम्झाउँदा पनि व्यक्तिलाई आफ्नो अवस्था परिवर्तन गर्न कठिन हुन सक्छ। डिप्रेसन भएका व्यक्तिलाई कमजोर इच्छाशक्ति भएको वा नकारात्मक सोच राखेको भन्दै दोष दिनु उचित हुँदैन। उनीहरूलाई भावनात्मक सहयोग, धैर्य र आवश्यक उपचारको आवश्यकता हुन्छ। एकाग्रता घट्ने र निर्णय लिन कठिन हुने पनि लक्षण हुन्? डिप्रेसनले व्यक्तिको एकाग्रता, स्मरणशक्ति र निर्णय क्षमतामा असर पार्न सक्छ। प्रभावित व्यक्तिलाई कुनै काममा ध्यान केन्द्रित गर्न, पढेको कुरा सम्झन, निर्णय लिन र काम पूरा गर्न कठिन हुन सक्छ। विद्यार्थीको पढाइमा रुचि घट्न सक्छ भने कामकाजी व्यक्तिको कार्यक्षमता कमजोर हुन सक्छ। सामान्य निर्णय लिनसमेत धेरै समय लाग्ने र सानो जिम्मेवारी पनि ठूलो बोझजस्तो लाग्ने अवस्था आउन सक्छ। कतिपयले आफूलाई बिर्सने रोग लागेको वा बुद्धि कमजोर भएको ठान्न सक्छन्। तर यस्तो समस्या डिप्रेसनसँग पनि सम्बन्धित हुन सक्छ। त्यसैले स्मरणशक्ति र एकाग्रतामा आएको परिवर्तनलाई कामको दबाब वा उमेरसँग मात्रै जोडेर हेर्नु हुँदैन। शरीर दुख्ने र थकान हुने पनि डिप्रेसनसँग सम्बन्धित हुन्छ? डिप्रेसन मानसिक समस्या भए पनि यसको प्रभाव शरीरमा पनि देखिन सक्छ। लगातार थकान हुने, शरीर भारी महसुस हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरमा ऊर्जा नभएको जस्तो लाग्न सक्छ। कतिपय व्यक्तिले पेट दुख्ने, शरीरका विभिन्न भागमा असहजता हुने वा स्पष्ट शारीरिक कारण नभेटिए पनि दुखाइ महसुस गर्ने गर्छन्। समयमै पहिचान र उपचार नभए डिप्रेसनले व्यक्तिको व्यक्तिगत, पारिवारिक, सामाजिक र व्यावसायिक जीवनमा गम्भीर असर पार्न सक्छ। बिहान उठ्न कठिन हुने, सामान्य काम गर्न जाँगर नचल्ने र दिनभरि थकित महसुस हुने समस्या पनि देखिन सक्छ। तर शरीर दुख्ने वा थकान हुने सबै अवस्थामा डिप्रेसन हुन्छ भन्ने होइन। रक्तअल्पता, थाइराइड, निद्रासम्बन्धी समस्या र अन्य शारीरिक रोगको पनि परीक्षण आवश्यक पर्न सक्छ। बेवास्ता गर्दा के जोखिम हुन्छ? समयमै पहिचान र उपचार नभए डिप्रेसनले व्यक्तिको व्यक्तिगत, पारिवारिक, सामाजिक र व्यावसायिक जीवनमा गम्भीर असर पार्न सक्छ। पढाइ र काममा ध्यान दिन नसक्ने, जिम्मेवारी पूरा गर्न कठिन हुने, परिवार तथा साथीभाइसँग सम्बन्ध बिग्रिने र सामाजिक गतिविधिबाट टाढिने अवस्था आउन सक्छ। कतिपय व्यक्तिमा मदिरा तथा अन्य लागूपदार्थको प्रयोग बढ्न सक्छ। यसले मानसिक स्वास्थ्य समस्यालाई थप जटिल बनाउन सक्छ। गम्भीर डिप्रेसनमा आफूलाई हानि पुर्याउने वा आत्महत्यासम्बन्धी विचारसमेत आउन सक्छ। आफू मरेर गए सबैलाई सजिलो हुन्छ भन्ने सोच, बाँच्न मन नलाग्ने अभिव्यक्ति वा आत्महत्याको योजना बनाउनु गम्भीर चेतावनीका सङ्केत हुन्। यस्तो अवस्था देखिएमा व्यक्तिलाई एक्लै छोड्नु हुँदैन। सम्भव भएसम्म सुरक्षित राखेर तत्काल नजिकको अस्पताल वा मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिनुपर्छ। आत्महत्याको जोखिमलाई सामान्य तनाव वा क्षणिक आवेग भनेर बेवास्ता गर्नु हुँदैन। उपचार कसरी हुन्छ? डिप्रेसन उपचार गर्न सकिने मानसिक स्वास्थ्य समस्या हो। यसको उपचार व्यक्तिको अवस्था, लक्षणको गम्भीरता, उमेर र अन्य स्वास्थ्य अवस्थाअनुसार फरक हुन सक्छ। सामान्यतया मनोचिकित्सकले बिरामीसँग विस्तृत कुराकानी गरेर लक्षण, समस्या सुरु भएको समय, दैनिक जीवनमा परेको असर र अन्य स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्छन्। आवश्यकताअनुसार अन्य शारीरिक समस्या वा औषधिको प्रभाव पनि परीक्षण गरिन्छ। मध्यमदेखि गम्भीर डिप्रेसन वा चिकित्सकीय आवश्यकता देखिएमा औषधि पनि प्रयोग गर्न सकिन्छ। एन्टिडिप्रेसन्ट औषधि चिकित्सकको सल्लाहअनुसार प्रयोग गर्नुपर्छ। उपचारका लागि मनोचिकित्सा अर्थात् मनोपरामर्शमा आधारित उपचार प्रभावकारी विधि हो। यसमा बिरामीलाई आफ्नो सोच, भावना र व्यवहार बुझ्न तथा नकारात्मक सोचसँग सामना गर्न सहयोग गरिन्छ। कग्निटिभ बिहेभियरल थेरापी (सीबीटी) डिप्रेसनको उपचारमा प्रयोग हुने प्रभावकारी विधिमध्ये एक हो। मध्यमदेखि गम्भीर डिप्रेसन वा चिकित्सकीय आवश्यकता देखिएमा औषधि पनि प्रयोग गर्न सकिन्छ। एन्टिडिप्रेसन्ट औषधि चिकित्सकको सल्लाहअनुसार प्रयोग गर्नुपर्छ। यसको प्रभाव देखिन केही हप्ता लाग्न सक्छ। बिरामीले आफूखुसी औषधि सुरु गर्ने, बन्द गर्ने वा मात्रा परिवर्तन गर्ने गर्नु हुँदैन। उपचारको विधि व्यक्तिको आवश्यकता र अवस्थाअनुसार तय गरिन्छ। त्यसैले लक्षण देखिँदैमा आफैँ औषधि सेवन गर्नुको सट्टा विशेषज्ञसँग परामर्श गर्नु आवश्यक हुन्छ। मानसिक स्वास्थ्य राम्रो राख्न के गर्ने? डिप्रेसन पूर्ण रूपमा रोक्न सकिन्छ भन्ने हुँदैन। तर स्वस्थ जीवनशैली, सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यप्रतिको सचेतनाले जोखिम कम गर्न तथा लक्षण व्यवस्थापन गर्न सहयोग गर्न सक्छ। नियमित शारीरिक व्यायाम गर्ने, पर्याप्त निद्रा लिने, सन्तुलित खानपान गर्ने र दैनिक जीवनमा सक्रिय रहने बानी उपयोगी हुन्छ। दैनिक हिँडडुल, योग तथा आफूलाई मन पर्ने गतिविधिमा सहभागी हुन सकिन्छ। विशेषज्ञबाट मूल्याङ्कन गराउनु नै सही बाटो हो। समयमै पहिचान, परिवारको साथ र उचित उपचारले डिप्रेसनबाट प्रभावित व्यक्तिलाई पुनः सामान्य जीवनमा फर्कन सहयोग गर्न सक्छ। परिवार र साथीभाइसँग आफ्ना भावना तथा समस्या खुलेर बाँड्ने बानी पनि महत्त्वपूर्ण हुन्छ। मानसिक तनाव बढिरहेको छ भने विश्वासिलो व्यक्तिसँग कुरा गर्ने र आवश्यक परे विशेषज्ञको सहयोग लिने गर्नुपर्छ। मदिरा तथा लागूपदार्थको सेवनबाट टाढा रहनु पनि मानसिक स्वास्थ्यका लागि आवश्यक छ। सामाजिक सञ्जालको अत्यधिक प्रयोग, अरूसँग निरन्तर तुलना गर्ने बानी र अनियमित दिनचर्याले मानसिक तनाव बढाउन सक्छ। त्यसैले प्रविधिको प्रयोगमा सन्तुलन कायम गर्नुपर्छ। अन्त्यमा, लगातार उदास रहनु, पहिले मन पर्ने काममा रुचि हराउनु, निद्रा र भोकमा परिवर्तन आउनु, आत्मविश्वास घट्नु र जीवनप्रति निराशा बढ्नुजस्ता सङ्केतलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन। यस्ता लक्षण देखिँदैमा आफैँ डिप्रेसन भएको निष्कर्ष निकाल्नु पनि उचित हुँदैन। विशेषज्ञबाट मूल्याङ्कन गराउनु नै सही बाटो हो। समयमै पहिचान, परिवारको साथ र उचित उपचारले डिप्रेसनबाट प्रभावित व्यक्तिलाई पुनः सामान्य जीवनमा फर्कन सहयोग गर्न सक्छ। मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्त्वपूर्ण छ भन्ने बुझाइ समाजमा स्थापित हुनु आवश्यक छ।
डिप्रेसन कसरी चिन्ने?

Read Complete Original Article
Published originally on नेपालन्युज






