अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले केही छनोट गरिएका ग्राहकलाई व्यक्तिगत प्रयोगका लागि आफ्नो चालकविहीन विद्युतीय कार ‘साइबरक्याब’ खरिद गर्न दिने भएको छ। टेस्लाले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत केही ग्राहकलाई व्यक्तिगत प्रयोजनका लागि साइबरक्याब खरिद गर्न आमन्त्रण गरिएको जनाएको हो। सन् २०२४ को अक्टोबरमा सार्वजनिक गरिएको दुई सिट क्षमताको साइबरक्याबमा स्टेयरिङ ह्विल र पेडल छैनन् । यो सवारीसाधन टेस्लाको ‘रोबोट्याक्सी’ सेवाअन्तर्गत अमेरिकाका केही सहरमा सञ्चालनमा आइसकेको छ। टेस्लाले सार्वजनिक गरेको तस्बिरअनुसार साइबरक्याबको अनुमानित मूल्य करबाहेक २९ हजार ९९० अमेरिकी डलर तोकिएको छ । कम्पनीले यसको डेलिभरी डिसेम्बरदेखि सुरु हुने अनुमान गरेको छ। साइबरक्याब खरिद गर्न ग्राहकले एक हजार अमेरिकी डलर फिर्ता नहुने अग्रिम रकम बुझाउनुपर्नेछ। साथै, स्वायत्त ड्राइभिङ सुविधाका लागि मासिक २९९ अमेरिकी डलर सदस्यता शुल्क पनि तिर्नुपर्ने व्यवस्था गरिएको छ। टेस्लाले गत वर्ष अस्टिनमा मोडेल वाई एसयूभी प्रयोग गरी आफ्नो स्वचालित ट्याक्सी सेवा सुरु गरेको थियो । त्यसपछि उक्त सेवा टेक्सास, फ्लोरिडा र क्यालिफोर्नियाका अन्य सहरमा विस्तार गरिएको छ। यद्यपि, अमेरिकाका विभिन्न राज्यमा लागू कानुनअनुसार आवश्यक पर्दा सवारीसाधन नियन्त्रणमा लिन सक्ने गरी मानव चालक वा निरीक्षकको उपस्थिति अनिवार्य छ। यसैबीच, गुगलको मूल कम्पनी अल्फाबेटको स्वचालित सवारीसाधनसम्बन्धी सहायक कम्पनी वेमोले अमेरिकाका ११ सहरमा आफ्नो रोबोट्याक्सी सेवा सञ्चालन गरिरहेको छ। गत सेप्टेम्बरमा अमेरिकी सवारीसाधन सुरक्षा नियामक निकायले साइबरक्याबमाथि अनुसन्धान सुरु गरेको थियो । स्टेयरिङ ह्विल, पेडल र साइड मिररसमेत नभएको उक्त सवारीसाधनले सङ्घीय सुरक्षा मापदण्ड कसरी पूरा गर्छ भन्ने विषयमा नियामकले प्रश्न उठाएको थियो। टेस्लाले भने साइबरक्याब अपाङ्गता भएका व्यक्तिका लागि समेत सुरक्षित र सहज हुने दाबी गर्दै आएको छ। कम्पनीका अनुसार यसले सबैका लागि स्वच्छ यातायातको पहुँच विस्तार गर्नेछ। रासस/एएफपी The post टेस्लाले छनोट गरिएका ग्राहकलाई साइबरक्याब बिक्री गर्ने appeared first on Technology Khabar.
टेस्लाले छनोट गरिएका ग्राहकलाई साइबरक्याब बिक्री गर्ने

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






