काठमाडौं – नेपालको पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन् । उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैली समेटिएका भिडियो तथा डिजिटल सामग्री तयार गरी सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ पुर्याउनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई), बङ्गलादेश र श्रीलङ्काका कन्टेन्ट क्रिएटरलाई नेपाल आमन्त्रण गरिएको पर्यटन बोर्डले जनाएको छ । नेपाल आएका उनीहरूले पोखरा, चितवन र बर्दियालगायत प्रमुख पर्यटकीय गन्तव्यका साथै सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्वका स्थल र उत्पादनबारे सामग्री तयार गर्नेछन् । बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यूएई र ट्युनिसियाका तीन जना पोखरामा छन् भने अन्य कन्टेन्ट क्रिएटर काठमाडौंमा रहेर सामग्री उत्पादन गरिरहेका छन् । यस अभियानमार्फत नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटनका सम्भावना र स्थानीय जीवनशैलीलाई छोटा भिडियो तथा डिजिटल सामग्रीका माध्यमबाट अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गरिनेछ । तयार गरिएका सामग्री टिकटकसहित विभिन्न सामाजिक सञ्जालमा प्रकाशन गरिने बोर्डले जनाएको छ । सामाजिक सञ्जालमा प्रभावशाली पहुँच भएका कन्टेन्ट क्रिएटरमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने यस सहकार्यले अन्तर्राष्ट्रिय पर्यटकमाझ नेपाली गन्तव्यको दृश्यात्मक परिचय विस्तार गर्ने विश्वास गरिएको छ ।
टिकटकमार्फत विश्व बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्दै पर्यटन बोर्ड

Read Complete Original Article
Published originally on विश्वखबर






