काठमाडौं, कात्तिक १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । भूमिसुधार विभागअन्तर्गतका भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत रहँदा पदको दुरुपयोग गरी आचार्यले ९ करोड ७२ लाख ७१ हजार ९९८ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ । आयोगले आचार्य, उहाँकी श्रीमती ललिता राजभण्डारी र अन्य व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो । आचार्य २०५४ साल माघदेखि सरकारी सेवामा प्रवेश गरी विभिन्न सार्वजनिक पदमा रहनुभएको थियो । आयोगले २०८० साल मंसिर २१ गतेसम्मको अवधिको सम्पत्ति तथा आयव्यय छानबिन गरेको जनाएको छ । आचार्य खोटाङको जिल्ला विकास समितिको कार्यालयमा गाविस सचिवका रूपमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । आयोगका अनुसार उक्त अवधिमा आचार्य र उहाँको एकाघर परिवारका सदस्यको वैधानिक आम्दानी ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ पैसा रहेको देखिएको छ । पारिश्रमिक, तलबभत्ता, श्रीमतीको आम्दानी, बचत, घरजग्गा बिक्री, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त कर्जा, कृषि आय र ब्याज आम्दानीलाई वैधानिक आयका स्रोतका रूपमा गणना गरिएको आयोगले जनाएको छ । तर, सोही अवधिमा जग्गा तथा घरजग्गा खरिद, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, विभिन्न कम्पनीमा लगानी, सवारीसाधन खरिद, अध्ययन खर्च, सेयर खरिद तथा बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानीलगायतका शीर्षकमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको आयोगको भनाइ छ । वैधानिक आम्दानी र खर्च तथा लगानीबीचको अन्तरका आधारमा ९ करोड ७२ लाख ७१ हजार ९९८ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको आयोगको दाबी छ । आयोगका अनुसार उक्त सम्पत्ति आचार्यले श्रीमती तथा परिवारका अन्य सदस्यको नाममा राख्नुका साथै विभिन्न व्यक्ति र कम्पनीमार्फत सम्पत्ति खरिदबिक्री तथा लगानी गरेका थिए । त्यस्तै, आपराधिक गतिविधिबाट आर्जित सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले सम्पत्ति स्थापना, तहकीकरण र एकीकरणसमेत गरेको आयोगको अनुसन्धानबाट खुलेको जनाइएको छ ।
झण्डै १० करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा नासुविरुद्ध मुद्दा

Read Complete Original Article
Published originally on जनताटाइम्स






