जिम्मेवारी रोज्दा दसैँको माया मार्नेहरु

दसैँ । यो शब्द सुन्नेबित्तिकै हरेक नेपालीको मनमा आफ्नै घरको आँगन, आमाको हातको टीका, बुबाको आशीर्वाद, जमरा, पिङ र परिवारसँग बसेर खाएको मीठो खानाको सम्झना आउँछ। दसैँ नेपालीहरूको सबैभन्दा ठूलो चाड मात्र होइन, यो वर्षभरि टाढिएर बसेका परिवारका सदस्यहरूलाई फेरि एकै ठाउँमा ल्याउने भावनात्मक अवसर पनि हो।जहाँ भए पनि, जसरी भए पनि दसैँमा घर फर्किनुपर्छ भन्ने भावना हरेक नेपालीको मनमा हुन्छ। तर के सबै नेपाली दसैँमा घर फर्किन पाउँछन् त ? दुर्भाग्यवश, पाउँदैनन्। नेपालभित्रै रहेर पनि धेरै नेपालीहरू विभिन्न बाध्यता, जिम्मेवारी र आर्थिक समस्याका कारण दसैँमा आफ्नो घर पुग्न सक्दैनन्। उनीहरूका लागि दसैँ आउँछ, तर घर आउँदैन। अरूको घरमा खुसीको उज्यालो छाउँदा उनीहरूको मनमा भने घरको सम्झना र छुट्टै खिन्नता हुन्छ। जब देशभरिका मानिसहरू दसैँ मनाउन गाउँघर फर्किरहेका हुन्छन्, सुरक्षाकर्मीहरू भने सडक, चोक, बसपार्क, विमानस्थल र विभिन्न संवेदनशील क्षेत्रमा आफ्नो ड्युटीमा खटिरहेका हुन्छन्। जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका हजारौँ जवान तथा अधिकृतका लागि दसैँको टीकाभन्दा ठूलो जिम्मेवारी नागरिकको सुरक्षा हुन्छ। अरूका बुबाआमा, दाजुभाइ, दिदीबहिनी र छोराछोरी सुरक्षित रूपमा घर पुगेको देख्दा उनीहरूलाई खुसी लाग्छ। तर आफ्नो घर जाने बस भने उनीहरुले छुटाइरहेका हुन्छन्। टीकाको दिन घरबाट आमाको फोन आउँछ, “यसपालि पनि आइनस् बाबु ?” उताबाट मुस्कुराउँदै “ड्युटी छ आमा, अर्को साल पक्का आउँछु” भन्ने जवाफ फर्काउँछ। तर फोन राखेपछि उनीहरुका आँखामा बगेका आँसु कसैले देख्दैन । देशको सुरक्षाका लागि आफ्नो परिवारको खुसी त्यागेर ड्युटीमा उभिएका ती सुरक्षाकर्मीहरूको पीडा सायद उनीहरू आफैं बाहेक अरू कसैले बुझ्न सक्दैन। यस्तै कथा स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स र अस्पतालका अन्य कर्मचारीहरूको पनि छ। दसैँमा अधिकांश घरमा परिवारका सदस्यहरू एकै ठाउँमा बसेर टीका लगाइरहेका हुन्छन्, तर अस्पतालमा भने डाक्टर र नर्सहरू बिरामीको उपचारमा व्यस्त हुन्छन्। चाडपर्व भनेर बिरामी हुने क्रम रोकिँदैन, दुर्घटना हुन रोकिँदैन, आपत्कालीन अवस्था आउन रोकिँदैन। त्यसैले होला उनीहरूको जिम्मेवारी पनि रोकिँदैन। अरूका परिवारका सदस्यको जीवन बचाउन उनीहरूले आफ्नै परिवारको खुसीलाई केही समयका लागि थाती राख्नुपर्छ। अस्पतालको आकस्मिक कक्षमा बिरामीको उपचार गरिरहँदा सायद उनीहरूको आफ्नै घरमा आमाले छोराछोरीको बाटो हेरिरहेकी हुन्छिन्। बुबाले “कहिले आउँछ?” भनेर फोन कुरिरहेका हुन्छन्। तर ती स्वास्थ्यकर्मीलाई थाहा हुन्छ—आज आफ्नो परिवारभन्दा पहिले अरू कसैको परिवारलाई आफ्नो ठानेर सेवा गर्नुपर्छ। दसैँको समयमा सबैभन्दा धेरै व्यस्त हुने अर्को समूह हो यातायात क्षेत्रमा काम गर्ने चालक र सहचालकहरू। घटस्थापनादेखि नै लाखौँ नेपालीहरू गाउँघर फर्किन थाल्छन्। बस, माइक्रो, ट्रक र अन्य सवारी साधन दिनरात सडकमा दौडिन्छन्। चालक र सहचालकहरू एकपछि अर्को यात्रुलाई उनीहरूको गन्तव्यसम्म पु¥याउन व्यस्त हुन्छन्। उनीहरूले हजारौँ मानिसलाई उनीहरूको घरको आँगनसम्म पुर्याउँछन्, तर आफ्नै घर भने पुग्न सक्दैनन्। यात्रुहरूलाई परिवारको काखमा पु¥याउने उनीहरू आफैँ टीकाको दिन अपरिचित सहरको बसपार्कमा बसेर घर सम्झिरहेका हुन्छन्। कसैले मोबाइलमा आमाले पठाएको टीकाको फोटो हेर्छन्, कसैले परिवारसँग भिडियो कल गर्छन्। अनि मनमनै सोच्छन्—“अरू सबैलाई घर पुर्याएँ, तर मचाहिँ आफ्नै घर पुग्न सकिनँ।” स्टेरिङ समातेर दिनरात सडकमा दौडिरहेको त्यो हातले आफ्नो निधारमा दसैँको टीका लगाउन नपाउँदा कस्तो महसुस गर्छ होला ? दसैँको रौनक देशभरका नागरिकसम्म पुर्याउने सञ्चारकर्मीहरूको कथा पनि कम पीडादायी छैन। पत्रकार, प्रस्तोता, टेलिभिजनका प्राविधिक, क्यामेरा पर्सन र समाचार कक्षमा खटिने कर्मचारीहरूका लागि पनि चाडपर्वको समयमा बिदा सहज हुँदैन। देशभर कहाँ के भइरहेको छ, कुन ठाउँमा दुर्घटना भयो, कहाँ यात्रुको चाप बढ्यो, कहाँ दसैँको रौनक छ भन्ने जानकारी नागरिकसम्म पुर्याउन उनीहरू स्टुडियो र कार्यक्षेत्रमै खटिएका हुन्छन्। अरूले दसैँ मनाइरहेका हुन्छन्, उनीहरू दसैँको समाचार बनाइरहेका हुन्छन्। अरूले परिवारसँग बसेर टेलिभिजन हेर्छन्, उनीहरू त्यही कार्यक्रम निर्माण गर्न स्टुडियोमा बसेका हुन्छन्। देशलाई दसैँ देखाउने उनीहरूको आफ्नै दसैँ भने क्यामेरा र माइक्रोफोनको पछाडि लुकेको हुन्छ। अर्कोतर्फ, काठमाडौँलगायत ठूला सहरका साना कोठाहरूमा पनि धेरै नेपालीको दसैँ चुपचाप बित्छ। विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदुर तथा आर्थिक रूपमा कमजोर परिवारका मानिसहरू चाहेर पनि घर जान सक्दैनन्। दसैँको समयमा गाडीको टिकट महँगो हुन्छ, कतिपय अवस्थामा टिकट नै पाइँदैन। घर जाने भाडा, बाटो खर्च र परिवारका लागि केही सामान लैजानुपर्ने बाध्यता उनीहरूको आर्थिक क्षमताभन्दा ठूलो हुन्छ। त्यसैले उनीहरू सहरमै बस्न बाध्य हुन्छन्। दसैँको दिन सहर सुनसान हुन्छ। पसलहरू बन्द हुन्छन्, सडकमा चहलपहल हुँदैन, साथीभाइ सबै घर गइसकेका हुन्छन्। एउटा सानो कोठामा एक्लै बसेर उनीहरू गाउँ सम्झिन्छन्। आमाले पकाएको सेलरोटी सम्झिन्छन्, बुबाले हालिदिएको पिङ सम्झिन्छन् र बाल्यकालका ती रमाइला दिनहरू सम्झिन्छन्। उनीहरु मोबाइलमा साथीभाईले पोस्ट गरेका दसैँको फोटो हेर्छन् र मनमनै भन्छन्—“अर्को साल त जसरी पनि घर जान्छु।” उद्योग, कलकारखाना र होटलमा काम गर्ने नेपालीहरूको दसैँ पनि यस्तै जिम्मेवारी र बाध्यताबीच बित्छ। होटल तथा पर्यटन क्षेत्र दसैँ–तिहारको समय झनै व्यस्त हुन्छ। होटलका सेफ, वेटर तथा अन्य कर्मचारीहरू ग्राहक तथा पर्यटकको सेवामा खटिनुपर्ने भएकाले उनीहरूले गाउँको घरमा परिवारसँग बसेर दसैँ मनाउन पाउँदैनन्। अरूका लागि बिदा र उत्सव बनेको समय उनीहरूका लागि सबैभन्दा व्यस्त हुन्छ। होटलमा पाहुनाको मुस्कान देखेर सेवा गरिरहेका उनीहरूको आफ्नै मन भने कतै टाढाको गाउँमा पुगेको हुन्छ। यी नेपालीहरूको दसैँ जमरा, टीका, पिङ र भोजमा मात्र सीमित हुँदैन। उनीहरूको दसैँ जिम्मेवारीमा बित्छ, बाध्यतामा बित्छ र कहिलेकाहीँ आँसु लुकाउँदै बित्छ। अरूको यात्रा सुरक्षित बनाउन कसैले आफ्नो यात्रा रोकेको छ। अरूको जीवन बचाउन कसैले आफ्नै परिवारको खुसीलाई थाती राखेको छ। अरूलाई घर पुर्याउन कसैले आफ्नै घरको बाटो बिर्सिएको छ। अरूलाई समाचार र मनोरञ्जन दिन कसैले आफ्नै परिवारको खुसीबाट टाढा बसेको छ। आर्थिक अभावका कारण सहरमै रोकिएका कसैले भने गाउँको सम्झनालाई सिरानी बनाएर दसैँ काटेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नौरथाभर पूजाआजामा व्यस्त रहन्छु : भवानी राणा
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष राणा भन्छिन्- 'म आफैंले पाठ पनि गर्छु । गुरु राखेर पूजा पनि हुन्छ । १८ वर्षदेखि दसैंमा यही नित्यकर्म गर्दै आएकी छु ।' ...

वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण
काठमाडौं । इजरायली बस्तीका बासिन्दाहरूले कब्जामा रहेको वेस्ट ब्याङ्कमा युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गर्नुका साथै फ्रान्सेली मेयर बर्नार्ड बाउडोक्सलाई कुटपिट गरेका छन्। अमेरिकी फोटो पत्रकारमाथि आक्रमण भएको भोलिपल्टै भएका घटनाप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिन्ता व्यक्त गरेका छन्। उत्तरी फ्रान्सको औल्नोए–आयमेरिसका ७८ वर्षीय मेयर बाउडोक्स प्यालेस्टिनी किसानहरूसँग जैतुन टिप्न सहभागी भएका बेला मुख छोपेका व्यक्तिहरूले उनलाई लात्ती र फलामको बारले प्रहार ...

खोइँछ भर्न जनकपुरको राजदेवी मन्दिरमा महिलाको घुइँचो
जनकपुरधाम । दसैँको महाअष्टमीका अवसरमा जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा दुर्गा माताको खोइँछ भर्न हजारौँ महिलाको घुइँचो लागेको छ। सन्तानको दीर्घायु, पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्दै महिलाहरू बिहानैदेखि विभिन्न शक्तिपीठमा... ...

बुटवलमा दसैं, अर्घाखाँचीमा घुमघाम : चन्द्र टण्डन
सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक टण्डनले यसपालि दसैं बिदामा विदेश घुम्ने योजना बनाएनन् । मुलुकलाई परेको पीडा भुलाउन र रीति तथा परम्परा जोगाउन दसैंलगायत चाडपर्व मनाउनुपर्ने बताए । ...


