जानकी मन्दिरमा डेढ शताब्दी पुरानो परम्परा

जनकपुरधाम। मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमाको आफ्नै विशिष्ट महत्त्व छ। विशेषगरी नवविवाहित जोडीका लागि यस पर्वको छुट्टै महत्त्व हुने गरेको छ। यही सांस्कृतिक विशिष्टतासँग जोडिएको जनकपुरधामस्थित जानकी मन्दिर र महोत्तरीको रतौलीस्थित ठाकुर परिवारबीचको परम्परा अहिले पनि जीवित छ। परम्परागत रूपमा हरेक वर्षझैँ यस वर्ष पनि रतौलीबाट पाहुर (भार) जानकी मन्दिर ल्याइएको छ। करिब डेढ सय वर्षअघि स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको घरबाट सुरु भएको यो परम्परालाई उनका सन्ततिले निरन्तरता दिँदै आएका छन्। यस वर्ष उनका पनाति नवीन ठाकुर पाहुर लिएर मन्दिर आइपुगेका हुन्। सन्तान प्राप्तिको भाकलसँग जोडिएको परम्परा नवीन ठाकुरका अनुसार जानकी मन्दिरका महन्थले आफ्नो परिवारलाई वंश चल्ने आशीर्वाद दिएपछि सन्तान प्राप्त भएको थियो। त्यसपछि परिवारले मन्दिरमा पाहुर चढाउन थालेको र त्यसलाई अहिलेसम्म निरन्तरता दिँदै आएको उनले बताए। उनका अनुसार १४२ वर्षदेखि आफ्नै परिवारले जानकी मन्दिरमा पाहुर पठाउने परम्परा कायम राखेको छ। जानकी मन्दिरमा भार ल्याइँदै। जानकी मन्दिरका अनुसार यस वर्षको पाहुरमा फलफूल, मिठाई, दही, च्युरा, पान, मखान, लुगाफाटालगायत सामग्री छन्। चन्द्रमाको प्रकाशमा भगवान्को चुमाओन कोजाग्रत पूर्णिमाका दिन जानकी मन्दिरमा विशेष पूजा, नाचगान र प्रसाद वितरण गरिन्छ। यस अवसरमा भक्तजन, साधुसन्त तथा नेपाल र भारतबाट आएका तीर्थालुको भीड लाग्ने गर्छ। श्रद्धालुहरूले भगवान्लाई प्रसादका रूपमा पान र मखान चढाउने परम्परा पनि छ। जनकपुरधामका विभिन्न मन्दिरमा पूर्णिमाको साँझ भगवान्लाई बाहिर राखेर दही, मखानलगायत सामग्री चढाउने चलन छ। जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार कोजाग्रत पूर्णिमाका दिन सेतो परिकार खाने परम्परा छ। यस दिन अमृत वर्षा हुने धार्मिक विश्वासका कारण भगवान्लाई बाहिर राखेर विशेष भजनकीर्तन गर्ने, सेतो वस्त्र लगाउने तथा पान, मखान र दही चढाउने चलन रहेको उनले बताए। साँझ चन्द्रमाको शीतल प्रकाशमा भगवान्लाई बाहिर निकालेर ‘चुमाउने’ गरिन्छ। त्यसपछि मन्दिरमा नाचगान गरी मह, पान, मखानलगायत परिकार प्रसादका रूपमा वितरण गरिन्छ। भारमा आएका सामग्री। नवविवाहितका लागि विशेष पर्व मिथिला क्षेत्रका ब्राह्मण समुदायमा विवाहको पहिलो वर्ष कोजाग्रत पूर्णिमाको विशेष महत्त्व हुन्छ। यस अवसरमा बेहुली पक्षबाट बेहुलाको घरमा वस्त्र, च्युरा, दही, पान, मखान, माछा, मिठाईलगायत सामग्रीसहितको पाहुर पठाउने चलन छ। बेहुलाको चुमाओन गरेपछि पाहुरमा आएका सामग्री छिमेकीलाई वितरण गरिन्छ। त्यस दिन घरको आँगनमा अष्टदल अरिपन बनाइन्छ। अरिपनमाथि डालासहितका सामग्री राखेर विशेष मन्त्र उच्चारण गर्दै दुरवाच्छत दिने परम्परा छ। त्यसपछि बेहुलाको घरमा भोजभतेर आयोजना गरिन्छ, जसको सम्पूर्ण खर्च बेहुली पक्षले बेहोर्नुपर्ने चलन रहेको साहित्यकार नित्यानन्द मण्डलले बताए। उनका अनुसार नवविवाहित जोडीको घरमा मनाइने यो पर्व उमंग र उत्सवको अवसर हो। जानकी मन्दिरमा ल्याइएको भार। पान र मखानको विशिष्ट महत्त्व मिथिला क्षेत्रमा पान र मखानलाई विशेष महत्त्व दिने गरिन्छ। मिथिलामा पाइने मखान पौष्टिक तत्त्वले भरिपूर्ण हुने भएकाले पनि यसको महत्त्व रहेको विश्वास गरिन्छ। भोजभतेरपछि पान र मखान बाँड्ने चलन छ। यस दिन बेहुली पक्षबाट बेहुलाको घरमा चाँदीको कौडा पठाउने परम्परा पनि छ। राति बेहुलीका भाइ र बेहुलाले कौडा खेल्ने चलन रहेको छ। दसैँ सकिएपछि आउने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भनिन्छ। यसै दिनदेखि कात्तिक स्नान सुरु हुने धार्मिक मान्यता रहेको छ। मिथिलाञ्चलमा धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सांस्कृतिक परम्परालाई जोड्ने यो पर्व आज पनि उत्तिकै उत्साहका साथ मनाइन्छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

रसुवा बाढीमा बेपत्ता खोज्दै ड्रोन पाइलट प्रदीपले बिताएका ती १६ दिन (भिडिओ)
गत भदौ १० मा एक्कासि उर्लिएको भोटेकोशीले रसुवामा मात्र क्षतविक्षत पारेन, नुवाकोट र धादिङमा समेत ठूलो जनधनको क्षति गर्‍यो। बाढीको सूचना दिने समय समेत मिलेन। घर, सडक, पुल, सवारीसाधनसँगै हजारौँ संख्यामा मानिसहरु लेदोसहितको भेलमा बगे। केहीको शव भेटिए पनि अझै कैयौँ सम्पर्कविहीन छन्। भोटेकोशी र त्रिशूलीले विध्वंस मच्चाएको स्थानमा सवारीसाधन जाने... ...

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको […] ...

पाल्पा च्याम्पियन्स ट्रफी : पाल्पाली क्रिकेट प्लेयर्स र करुवाको सहज जित
पहिलो खेलमा पाल्पालीले न्यू एमएमसिटी क्रिकेट क्लबलाई ६ विकेटले हराएको हो भने दोस्रो खेलमा करुवाले असेर्दी क्रिकेट क्लब रम्भा हुँगीलाई ८७ रनले पराजित गरेको हो । ...

दोस्रो झापा महिला गोल्डकपको तयारी
लीलाराज खड्का बिर्तामोड, कात्तिक ८ गते । देशकै प्रतिष्ठितमध्ये एक मानिने दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मंसिर ५ गतेदेखि १२ गतेसम्म झापाको दुधे रङ्गशालामा हुने भएको छ । प्... ...


