काठमाडौं । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा नेपालको प्रदर्शनी कक्ष उद्घाटन गरिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार नेपालको प्रदर्शनी कक्ष उद्घाटन गरेका हुन् । प्रदर्शनी कक्षमा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लागि नेपालले अघि सारेका योजना, जैविक विविधता संरक्षणका उपलब्धि र स्थानीय समुदायस्तरमा सञ्चालित अनुकूलनका प्रयास प्रस्तुत गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले हिमाली पारिस्थितिक प्रणाली जलवायु परिवर्तनका कारण गम्भीर जोखिममा परेको बताएका छन्। उनले पछिल्लो समय हिमाली क्षेत्रमा हिमनदी तथा हिमतालसँग सम्बन्धित जोखिम बढ्दै गएको उल्लेख गर्दै हालैको भोटेकोशी विपद्लाई ‘हिमाली सुनामी’ को संज्ञा दिएका छन् । खनालले नेपालजस्ता जलवायु परिवर्तनको अग्रपंक्तिमा रहेका मुलुकले असमान रूपमा ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्। उनले जलवायु न्याय सुनिश्चित गर्न, जलवायुजन्य हानि तथा नोक्सानीका लागि स्थापना गरिएको कोषमा सहज पहुँच उपलब्ध गराउन र हिमाली क्षेत्रको उत्थानशीलता बढाउन विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका छन् । उनले हिमाली क्षेत्रको संरक्षणले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षामा समेत महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गरेका छन् । उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, प्रतिनिधिसभा सदस्य सागर ढकाललगायतका प्रतिनिधिले पनि सम्बोधन गरेका थिए । The post जलवायु सम्मेलनमा नेपालको प्रदर्शनी कक्ष उद्घाटन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
जलवायु सम्मेलनमा नेपालको प्रदर्शनी कक्ष उद्घाटन

Read Complete Original Article
Published originally on कर्पोरट खबर






