जनकपुरधाम। हिन्दु धर्मावलम्बीहरू यमपञ्चक पर्व हर्षोल्लासपूर्वक मनाइरहेका बेला जनकपुरधाममा शनिबार हनुमान जयन्ती मनाइएको छ। हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजनकीर्तनलगायत कार्यक्रम आयोजना गरेको छ। यसअघि परिषद्ले हनुमान जयन्तीको अवसरमा जनकपुरधामस्थित रेल्वे स्टेसनबाट शोभायात्रा निकाली नगर परिक्रमा गरेको थियो। शोभायात्रामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवको पनि सहभागिता रहेको थियो। सभामुख यादवले भगवान् हनुमान हिन्दु धर्मावलम्बीहरूको घरघरमा पूजिने देवता रहेको र उहाँको जन्मोत्सवका अवसरमा निकालिएको शोभायात्राले सनातन संस्कृति संरक्षणमा बल पुर्याउने बताए। परिषद्का अध्यक्ष शम्भु साहले यमपञ्चक पर्वकै बीच हनुमान जयन्ती पर्ने भएकाले ओझेलमा परिरहेको समयमा भगवान् हनुमानको जयन्ती भव्यतापूर्वक मनाउन लागिएको बताए। उनका अनुसार परिषद्ले विगत २० वर्षदेखि हनुमान जयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यता, जनकपुरधामस्थित संकटमोचन मन्दिरमा पनि बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। भगवान् हनुमानको पूजाअर्चना तथा मन्त्र–स्तोत्र पाठ गर्नाले शुभ फल प्राप्त हुने, शनिग्रहको दोष नलाग्ने तथा भूतप्रेत–पिशाचको दुःख नहुने जनविश्वास रहेको छ। हनुमानको पूजा गरेमा वैवाहिक सुख प्राप्त हुने र पति–पत्नीबीचको कलह हट्ने विश्वाससमेत रहँदै आएको छ। चैत्र शुक्ल पूर्णिमालाई पनि हनुमान जयन्तीका रूपमा व्याख्या गरिए पनि कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई समेत हनुमान जयन्तीका रूपमा लिइने गरिन्छ। शास्त्रमा यस विषयमा मतैक्य नभएकाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्मदिवस मनाउने गरिन्छ। यद्यपि वायु पुराण आदिका अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन मनाइने हनुमान जयन्ती बढी प्रचलित छ। पहिलो जन्मदिवस र दोस्रो विजय अभिनन्दन महोत्सवका रूपमा लिइने गरिन्छ। – न्युज एजेन्सी नेपाल
जनकपुरधाममा मनाइयो हनुमान जयन्ती

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






