काठमाडाैँ । रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका नेपालका जनकपुरधाम र भारतको अयोध्याबीच रेल सेवा सञ्चालनको तयारी अघि बढेको छ । रेल सेवा सञ्चालनका लागि प्राविधिक परीक्षण शुरु गरिने भएको छ । रेल सेवा सञ्चालनमा आएपछि जनकपुर र अयोध्याबिचको धार्मिक सम्बन्ध थप प्रगाढ हुनुका साथै पर्यटन, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा समेत वृद्धि हुनेछ । जनकपुरधाम र अयोध्याबीचको पौराणिक सम्बन्धलाई रेल कनेक्टिभिटीले थप मजबुत बनाउने विश्वास व्यवसायीले गरेका छन् । विशेषगरी अयोध्यामा रामको दर्शन गर्न पुग्ने भारतीय पर्यटकलाई सीताको जन्मस्थल जनकपुरधामसम्म ल्याउन रेल सेवाले महत्वपूर्ण भुमिका खेल्ने जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताए । उनले रेल सेवा सञ्चालनले जनकपुरको पर्यटन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । वर्षौंदेखि प्रतीक्षा गरिएको रेल सेवा अहिले प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा दुई देशबिचको कनेक्टिभिटी विस्तार हुने अवस्थामा पुगेको उनको भनाइ छ । महासेठका अनुसार रेल सेवा सञ्चालन भएपछि भारतीय पर्यटकको आगमन बढ्ने, बजार तथा व्यवसाय चलायमान हुने र स्थानीय अर्थतन्त्रले गति लिनेछ । तर यात्रुवाहक रेल सञ्चालनसँगै मालवाहक रेल सञ्चालनको विषयलाई पनि प्राथमिकतामा राख्नुपर्नेछ । महासेठकाअनुसार आफू जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा नै रेलमा मालवाहक बोगी जोड्नुपर्ने र मालसामान ढुवानीका लागि छुट्टै रेल सञ्चालन गर्नुपर्ने माग रेल्वेसँग राखिएको थियो । त्यसबेला मालसामान भण्डारणका लागि होल्डिङ सेन्टर निर्माण गर्ने स्थानबारे समेत छलफल भएको थियो । तर त्यसको प्रगति अहिले कहाँ पुगेको छ भन्नेबारे आफूहरूलाई जानकारी नभएको उनले बताए । मालवाहक रेल सञ्चालन हुनसके आयात लागत उल्लेख्य रूपमा घटाउन सकिने महासेठको भनाइ छ । अहिले दक्षिणबाट चामल आयात गर्दा प्रतिकिलो १४ देखि १५ रूपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको भन्दै उनले रेलमार्फत ढुवानी गर्नसके उक्त खर्च प्रतिकिलो तीन रूपैयाँसम्म झार्न सकिने बताए । त्यसैले यात्रुवाहक सेवासँगै मालवाहक रेल र आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ । यता रेल्वे कम्पनीले पनि सेवा जतिसक्दो छिटो सञ्चालनमा ल्याउने गरी तयारी अघि बढाएको जनाएको छ । कम्पनीका प्रवन्ध सञ्चालक परिवेश पराजुलीकाअनुसार रेल सेवा सञ्चालनका लागि विभिन्न निकायसँग समन्वय भइरहेको छ भने प्राविधिक जाँचसमेत अगाडि बढाइएको छ । उनकाअनुसार अहिले अन्तिम लाइसेन्स प्राप्त भइसकेको छैन । सञ्चालन प्रक्रियालाई अन्तिम रूप दिने विषयमा छलफल भइरहेको छ । रेल्वे, भन्सार, सुरक्षा लगायतका विषयमा सम्बन्धित निकायबिच समन्वय र आवश्यक निर्णय गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । पराजुलीले प्राविधिक परीक्षणका लागि भोलिदेखि ट्रायल रन सुरु गर्ने तयारी रहेको जानकारी दिनुभयो । यद्यपि रेल सेवा सञ्चालन हुने निश्चित मिति भने तय भइसकेको छैन । आवश्यक प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो सेवा शुरु गर्ने कम्पनीको तयारी रहेको उनले बताए । अयोध्यामा पछिल्लो समय ठूलो संख्यामा पर्यटक पुगिरहेको उल्लेख गर्दै पराजुलीले त्यहाँबाट सिधै रेलमार्फत जनकपुर आउने व्यवस्था भए भारतीय पर्यटकलाई जनकपुरधामसम्म आकर्षित गर्न सकिने बताए । रामको दर्शन गर्न अयोध्या पुग्ने पर्यटकले सीताको जन्मस्थल जनकपुरधामको समेत दर्शन गर्ने उनको भनाइ छ । जनकपुर–अयोध्या रेल कनेक्टिभिटीलाई धार्मिक पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा मात्र नभई दुई देशबिचको व्यापारिक सम्बन्ध र आर्थिक गतिविधि विस्तार गर्ने अवसरका रूपमा समेत हेरिएको छ ।
जनकपुर-अयोध्या रेल सेवा सञ्चालनको तयारी, धार्मिक पर्यटनसँगै व्यापार विस्तार हुनसक्ने

Read Complete Original Article
Published originally on टक्सार






