Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो
Photo / Coverage: पर्दाफास

छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई–मधेसका बजारमा केराको किनबेच बढेको छ । छठ पर्वमा केरालाई महत्त्वपूर्ण प्रसादका रूपमा चढाउने परम्परा रहेकाले यतिबेला बजारमा केराको माग उच्च छ । पर्वको तयारी अन्तिम चरणमा पुग्दा व्यापारीहरू केरा विक्री गर्न व्यस्त छन् भने उपभोक्ताहरू पनि पूजाका सामग्री जुटाउन बजार धाउन थालेका छन् । यस वर्ष छठका लागि आवश्यक केरा भारतबाट आयात नभए पनि स्वदेशी उत्पादनले बजारको माग धानिरहेको व्यवसायीहरूले बताएका छन् । जनकपुर फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर यादवकाअनुसार यसपटक भारतबाट एउटा पनि केरा आएको छैन । नेपालकै विभिन्न जिल्लामा उत्पादन भएको केराले बजारको माग पूरा गरिरहेको छ । यादवले कैलालीको टीकापुर, नवलपरासी, चितवन, त्रिवेणी, हेटौँडा, निजगढदेखि पूर्वको बिर्तामोड, शनिश्चरे र इनरुवालगायत क्षेत्रबाट केरा आपूर्ति भइरहेको बताए । उनकाअनुसार नेपालमा केराको उत्पादन बढ्दै गएकाले छठ पर्वका लागि अभाव हुने अवस्था छैन । उनले बजारमा मिर्चमान जातको केरा एक हजारदेखि १२ सय रुपैयाँसम्म र गोपाल जातको केरा पाँच सयदेखि एक हजार रुपैयाँसम्ममा विक्री भइरहेको जानकारी दिए । उपभोक्ताले सहज रूपमा केरा खरिद गरिरहेको दाबी गर्दै उनले यस वर्ष मूल्यमा थप वृद्धि नहुने पनि बताए । विगतमा भारतबाट मिर्चमान र चम्पा जातका केरा बढी आउने गरे पनि पछिल्लो समय नेपालमै केराखेती विस्तार हुँदै गएको यादवको भनाइ छ । अहिले गोपाल र बन्सीबोट जातका केराको उत्पादन पर्याप्त रहेको तथा आगामी एक–दुई वर्षमा मिर्चमान र चम्पा जातका केराको उत्पादनसमेत बढ्ने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘यस वर्ष छठ पर्वका लागि भारतबाट केरा आयात गर्नुपर्ने अवस्था छैन । नेपालकै उत्पादनले बजारको माग पर्याप्त रूपमा धान्न सक्छ । पश्चिममा टीकापुर, नवलपरासी, चितवन, त्रिवेणी, हेटौँडा र निजगढदेखि पूर्वमा बिर्तामोड, शनिश्चरे, इनरुवा तथा कोशी क्षेत्रसम्म केरा उत्पादन राम्रो भइरहेको छ । अहिले बजारमा मिर्चमान केरा प्रतिघरी १ हजारदेखि १ हजार २ सय र गोपाल केरा ५ सयदेखि १ हजारसम्ममा उपलब्ध छ । उपभोक्ताहरू पनि सन्तुष्ट छन् र छठ पर्वका लागि खुशीसाथ केरा खरिद गरिरहेका छन् । यस वर्ष केरा अभाव हुने वा मूल्य अस्वाभाविक रूपमा बढ्ने अवस्था छैन । नेपाली किसानले केराखेती विस्तार गर्दै उत्पादनसमेत बढाइरहेका छन् । अहिले गोपाल र बन्सीबोट केरा पर्याप्त मात्रामा उपलब्ध छन् । मिर्चमान र चम्पा केराको खेती पनि विस्तार भइरहेको छ । आगामी एक–दुई वर्षमा यी जातका केरा पनि नेपालमै पर्याप्त उत्पादन हुने विश्वास लिएका छौँ । त्यसैले छठ पर्वका लागि केरा अभाव हुँदैन । नेपाली उत्पादनले नै बजारको माग पूरा गर्नेछ र किसान तथा उपभोक्ता दुवैलाई लाभ पुग्नेछ ।’ तर व्यवसायीले बजारमा केराको अभाव नरहेको बताए पनि उपभोक्ता भने मूल्यप्रति सन्तुष्ट देखिएका छैनन् । भारतबाट केरा आयात हुँदा तुलनात्मक रूपमा सस्तो पर्ने गरेकोमा अहिले स्वदेशी केराको मूल्य गत वर्षको तुलनामा महँगो भएको उनीहरूको गुनासो छ । एक उपभोक्ताले भारतबाट केरा आउँदा बजारमा सहज उपलब्धता र मूल्यमा प्रतिस्पर्धा हुने गरेको बताए । अहिले आयात कम हुँदा महँगो मूल्यमा केरा खरिद गर्नुपरेको उनको भनाइ छ । छठ पर्वमा केराको विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व रहेकाले यसको मूल्यवृद्धिले सर्वसाधारणलाई थप आर्थिक भार परेको अर्का उपभोक्ताको गुनासो छ । व्यापारीले केराको घरीको मूल्य १२ सयदेखि १५ सय रुपैयाँसम्म भनेको उल्लेख गर्दै उनले पहिले ६–७ सय रुपैयाँमा पाइने केरा अहिले निकै महँगो भएको बताए । उनले छठजस्तो महत्त्वपूर्ण पर्वमा आवश्यक पर्ने सामग्रीको मूल्य नियन्त्रण तथा उपभोक्तालाई राहत दिन सरकारले ध्यान दिनुपर्ने मागसमेत गरे । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिँदा केरासहित विभिन्न फलफूल तथा पूजा सामग्री चढाउने चलन छ । त्यसैले पर्व नजिकिँदै जाँदा केराको माग झन् बढ्ने गरेको छ । यस वर्ष स्वदेशी उत्पादनले बजारको माग धान्ने व्यवसायीको दाबी र महँगो मूल्यका कारण उपभोक्तामा देखिएको असन्तुष्टिबीच छठको किनमेल चलिरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु सङ्कट र एल निनो : सन् २०२७ मा विश्वसँगै दक्षिण एशियामा पनि बढ्दै जोखिम
OthersJust now

जलवायु सङ्कट र एल निनो : सन् २०२७ मा विश्वसँगै दक्षिण एशियामा पनि बढ्दै जोखिम

जलवायु परिवर्तनका कारण विश्वको तापक्रम निरन्तर बढिरहेका बेला प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोले सन् २०२७ मा विश्वका विभिन्न क्षेत्रमा चरम मौसमी घटनाको जोखिम थप बढाउने सङ्केत देखिएको छ । विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) र अमेरिकी राष्ट्रिय समुन्द्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) का पछिल्ला पूर्वानुमानले एल निनो आगामी वर्षको सुरुसम्म शक्तिशाली अवस्थामा रहने सम्भावना देखाएका छन् । यसको प्रभावले विश्वव्यापी ...

पर्दाफास
राप्रपा महाधिवेशन : ४-१० मंसिरमा प्रतिनिधि छनोट
OthersJust now

राप्रपा महाधिवेशन : ४-१० मंसिरमा प्रतिनिधि छनोट

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया ४-१० मंसिरसम्म सम्पन्न गरिने भएको छ । पार्टीको विधान तथा निर्देशिकाबमोजिम हिमाल, पहाड र तराईको प्रतिशतका आधारमा निर्धारित संख्या र आवश्यक प्रक्रिया पूरा गरेका सक्रिय सदस्यहरूमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रगत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गरिने प्रवक्ता मोहन श्रेष्ठले जानकारी… ...

अनलाइन खबर
भिमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरुको सामुहिक अन्त्येष्टि
OthersJust now

भिमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरुको सामुहिक अन्त्येष्टि

मकवानपुरको भीमफेदीमा भएको दर्दनाक दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १३ जनामध्ये १२ जनाको सामुहिक अन्त्येष्टिका गरिएको छ। उनीहरूको सुन्दरपुरस्थित लखनदेही खोलामा सामूहिक दाहसंस्कार गरिएको हो । मृतक १३ जनामध्ये सुन्दरपुरका १२ जनाको शव गाउँमा ल्याएर दाहसंस्कारगरिएको छ भने सुन्दरपुरकै एक जना बासिन्दा, जो हाल सदरमुकाम मलङ्गवाको वडा नम्बर ४ मा बसोबास गर्दै आएका थिए, उनको शव भने मलङ्गवा–४ मै लगिएको जनाइएको छ। ...

पर्दाफास
अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र
OthersJust now

अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र

करिब ४ घण्टापछि अमेरिकामा उडानमाथिको रोक हटाइएको छ र एयरलाइन्सहरूले सेवा सुचारु गर्न थालेका छन्। यद्यपि, केही कम्पनीहरूले शनिबारसम्म उडानमा ढिलाइ वा रद्द हुन सक्ने आशंका व्यक्त गरेका छन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play