काठमाडौं । चौथो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) आगामी २०८३ फागुन २३ गतेदेखि सुरु हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै किफको शुभारम्भ गरिनेछ । महोत्सवअन्तर्गत फागुन २४ गते सुर्खेतस्थित होटल शुभमा कर्णाली पर्यटन तथा चलचित्र संवाद र विशेष चलचित्र प्रदर्शन गरिनेछ । साथै ‘कर्णाली हेरौं, कर्णाली घुमौं’ भिडियो प्रतियोगिता पनि आयोजना हुनेछ । महोत्सवको मुख्य आकर्षणका रूपमा २०८४ वैशाख ११ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र अवार्ड समारोह आयोजना गरिने निर्देशक चक्रबहादुर चन्दले जानकारी दिनुभयो । त्यसपछि सन् २०२७ मेमा भारतको सिक्किम र सिलिगुडीमा नेपाल–भारत पर्यटन तथा चलचित्र सहकार्य संवाद आयोजना गर्ने तयारी छ । कर्णालीलाई चलचित्र पर्यटनको गन्तव्य र छायांकन हबका रूपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको हो । कर्णालीका पर्यटकीय तथा धार्मिकस्थल, कला, संस्कृति, भाषा, भेषभूषा र स्थानीय कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने महोत्सवको लक्ष्य रहेको आयोजकले जनाएको छ । महोत्सवमार्फत स्थानीय कलाकार तथा चलचित्रकर्मीको पहिचान र प्रोत्साहन, गाउँगाउँमा नेपाली चलचित्र प्रदर्शन, चलचित्र साक्षरता अभियान तथा पर्यटन र जलवायु परिवर्तनसम्बन्धी चलचित्रलाई विशेष सम्मान गरिनेछ । घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, निर्माता तथा निर्देशक दीपकराज गिरी, रेखा थापा, आकाश अधिकारी, सन्तोष सेन, अभिनेता प्रदीप खड्कालगायत चलचित्र क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।
चौथो संस्करणको किफ फागुन २३ देखि

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






