चितवनका कैदीबन्दीलाई दशैंको उत्साह छैन

चितवन। विगतका वर्षमा दशैं उत्सवका रूपमा मनाउँदै आएका कारागारका कैदीबन्दीहरूमा अहिले उत्साह देखिँदैन। गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण देश शोकमा रहेकाले पनि कारागार कैदीहरूमा उत्साह छैन। विगत १५ वर्षदेखि कारागारमा कैद जीवन बिताउँदै आएका पदमबहादुर थारू (नाम थर परिवर्तित) अघिल्ला वर्षहरूको जस्तो उत्साह दशैंमा नभएको बताउँछन्। उनले भने, “अघिल्ला वर्षहरूमा दशैंमा जस्तो रमाइलो गर्ने सोचमा हामी छैनौं।” यो वर्ष शुद्ध शाकाहारी तरिकाले दशैं मनाउने योजना रहेको उनले जानकारी दिए। अघिल्ला वर्षहरूमा विभिन्न किसिमका खेलकुद, सांस्कृतिक कार्याक्रम तथा सामूहिक भोज जस्ता कार्यक्रमहरू हुने गरेको भए पनि यस वर्ष त्यस्तो नहुने अर्का कैदी कृतन शर्मा (नाम थर परिवर्तित) बताउँछन्। अघिल्ला वर्षहरूमा सामूहिक भोजका लागि राँगा, कुखुरा, बोका, खसीलगायत पशु चौपाया ल्याएर काट्ने गरिएको भए पनि यस वर्ष त्यस्तो नगरिने उनले बताए। उनले भने, “कसैले व्यक्तिगत रूपमा खान्छ भने खाउन तर सामूहिक रूपमा हुने काम हुँदैन यो वर्ष।” टीकाको तीन दिन घर परिवारसँग बसेर टीका लगाउने बाहेक अन्य कार्यक्रमहरू नगर्ने उनले जानकारी दिए। कारागारभित्र आएपछि सबै साथीहरू आफ्नै परिवार जस्तो लाग्ने भन्दै उनले बाहिर हुँदाभन्दा यहाँ भित्र फरक किसिमको रमाइलो पाएको बताए। अघिल्ला वर्षहरूमा यहाँ बसेर दशैं मनाउँदा पनि त्यस्तो खासै घरको याद नआएको उनको भनाइ छ। अहिले पहिलेको जस्तो नगर्ने मनस्थितिमा कारागारको आन्तरिक प्रशासन पुगेको छ। अघिल्ला वर्षहरूमा दशैंको बेलामा नाचगान गर्ने गरिएकामा कारागारका दिदीबहिनीहरू यस वर्ष नाचगान गर्ने सोचमा छैनन्। उनीहरू आन्तरिक रूपमा कुनै कार्यक्रम गर्ने पक्षमा नभए पनि टीकाको दिन परिवारसँग टीका थाप्ने योजनामा रहेका छन्। विगत १० वर्षदेखि कैद जीवन बिताउँदै आएकी उर्मिला सुब्बा (नाम थर परिवर्तित) अहिलेको दशैं बाढी पहिरोले लगेको बताउँछिन्। देश नै शोकमा रहेको समयमा उत्साहसहित दशैं मनाउने सोच आफूहरूमा नरहेको उनले बताइन्। अहिले कारागार कार्यालयमा ७३९ जना कैदीबन्दी रहेका छन्। जसमध्ये ४६ महिला र ६९३ पुरुष रहेका छन्। कारागार कार्यालय चितवनका सूचना अधिकारी चेतनाथ ढुङ्गाना अहिले कारागार प्रशासन र आन्तरिक प्रशासनले दशैंलाई उत्साहका साथ नमनाउने योजना बनाएको बताए। आम नेपालीलाई उमङ्ग नभएको समयमा यहाँ रहेका कैदीबन्दीहरूलाई पनि नरमाइलो लागेको उनले बताए। अहिले सबैले सामान्य तरिकाले मनाउने योजना बनाएको उनको भनाइ छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नौरथाभर पूजाआजामा व्यस्त रहन्छु : भवानी राणा
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष राणा भन्छिन्- 'म आफैंले पाठ पनि गर्छु । गुरु राखेर पूजा पनि हुन्छ । १८ वर्षदेखि दसैंमा यही नित्यकर्म गर्दै आएकी छु ।' ...

वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण
काठमाडौं । इजरायली बस्तीका बासिन्दाहरूले कब्जामा रहेको वेस्ट ब्याङ्कमा युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गर्नुका साथै फ्रान्सेली मेयर बर्नार्ड बाउडोक्सलाई कुटपिट गरेका छन्। अमेरिकी फोटो पत्रकारमाथि आक्रमण भएको भोलिपल्टै भएका घटनाप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिन्ता व्यक्त गरेका छन्। उत्तरी फ्रान्सको औल्नोए–आयमेरिसका ७८ वर्षीय मेयर बाउडोक्स प्यालेस्टिनी किसानहरूसँग जैतुन टिप्न सहभागी भएका बेला मुख छोपेका व्यक्तिहरूले उनलाई लात्ती र फलामको बारले प्रहार ...

खोइँछ भर्न जनकपुरको राजदेवी मन्दिरमा महिलाको घुइँचो
जनकपुरधाम । दसैँको महाअष्टमीका अवसरमा जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा दुर्गा माताको खोइँछ भर्न हजारौँ महिलाको घुइँचो लागेको छ। सन्तानको दीर्घायु, पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्दै महिलाहरू बिहानैदेखि विभिन्न शक्तिपीठमा... ...

बुटवलमा दसैं, अर्घाखाँचीमा घुमघाम : चन्द्र टण्डन
सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक टण्डनले यसपालि दसैं बिदामा विदेश घुम्ने योजना बनाएनन् । मुलुकलाई परेको पीडा भुलाउन र रीति तथा परम्परा जोगाउन दसैंलगायत चाडपर्व मनाउनुपर्ने बताए । ...


