काठमाडौं। चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर २ मा प्रवेश गरेको छ। मंगलबार सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले अघिल्लो चरणमा स्थान पक्का गरेको हो। यो जितसँगै चितवनले फाइनल प्रवेशका लागि भोलि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। पराजित काठमान्डु भने प्रतियोगिताबाट बाहिरिएको छ। कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रनको विशाल योगफल तयार पारेको थियो। चितवनका लागि कामिल मिशाराले नटआउट १२० रनको शतकीय इनिङ्स खेले। उनले ५३ बलमा शतक पूरा गर्दै एनपीएल इतिहासकै उच्च व्यक्तिगत स्कोरको कीर्तिमान बनाएका छन्। यसअघि यो कीर्तिमान मार्क वाटको नाममा ११४ रनको थियो। त्यस्तै, कप्तान रवि बोपाराले ४२ बलमा ५३ रनको अर्धशतकीय योगदान दिए। काठमान्डुका लागि करण केसी र राशिद खानले दुई-दुई विकेट लिए। २०५ रनको लक्ष्य पछ्याएको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो। काठमान्डुका लागि भीम सार्कीले नटआउट ३० र विलियम बोसिस्टोले ३७ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। चितवनको बलिङमा रिजन ढकालले चार र उसामा मीरले तीन विकेट हात पारे। कुशल मल्ल र सलाहुद्दिन खानले एक-एक विकेट लिए।
चितवन राइनोज एनपीएलको क्वालिफायर २ मा प्रवेश

Read Complete Original Article
Published originally on नेपालन्युज






