काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले स्थापनाको १९औँ वर्ष प्रवेश गरेको अवसर पारेर बुधबारदेखि काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकका अध्यक्ष दिलीप प्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखाको उद्घाटन गरेका थिए । नयाँ शाखाबाट ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार आम नागरिकको बैंकिङ सेवामा पहुँच विस्तार, वित्तीय समावेशीकरणलाई सुदृढ बनाउने र ग्राहकलाई सहज तथा विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिइएको हो । बैंकले २०६४ कात्तिक १८ गतेदेखि पहिलोपटक कारोबार सुरु गरेको थियो । बैंकले शाखा विस्तारलाई भौगोलिक उपस्थितिमा वृद्धि गर्ने माध्यमका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधि प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण आधारका रूपमा लिएको जनाएको छ । बालुवाटारमा नयाँ शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका व्यक्तिगत तथा संस्थागत ग्राहकलाई आवश्यक वित्तीय सेवा सहज रूपमा उपलब्ध हुने र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाका रूपमा मान्यताप्राप्त गरिमा विकास बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई सेवा दिँदै आएको छ ।
गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






