मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार ७२५ मेट्रिकटन फलफूल चीनतर्फबाट आयात भएको छ । गत भदौ २० गतेदेखि कोरला नाकाबाट चिनियाँ फलफूलजन्य मालवस्तु नेपाल भित्रिन थालेको हो । यो नाकाबाट हालसम्म ११ किसिमका फलफूल चीनबाट नेपालतर्फ भित्रिएका कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको क्वारेन्टाइन कार्यालयले जानकारी दिएको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीपछि रसुवा(केरुङ नाका भदौ १० गतेपछि पूर्ण रूपमा बन्द हुनुका साथै सिन्धुपाल्चोकको तातो पानी नाका लामो समयदेखि बन्द छ । ठूलो परिमाणमा चीनियाँ मालवस्तु नेपाल भित्रिने गरेकामा यी दुवै नाका बन्द हुँदा कोरला नाकाबाट चिनियाँ फलफूल नेपालतर्फ आयात हुन थालेको हो । रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछिको करिब दुई महिनाको अवधिमा चीनतर्फबाट फलफूल आयातको परिमाण बढ्दै जान थालेको क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरले जानकारी दिइन् । दसैँ–तिहार र छठपर्वलाई लक्षित गरी कोरला नाकाबाट चिनियाँ फलफूल नेपालतर्फ आयात भइरहेको उनको भनाइ छ । घर्तीमगरका अनुसार चीनबाट स्याउ, ड्रागन फ्रुट, नासपाती, आँप, अङ्गुर, किसमिसलगायत फलफूल कोरलानाका हुँदै नेपाल भित्रिएको छ । अन्य फलफूलजन्य खाद्य पदार्थमा फर्सीको बीउ, लसुन र फापर नेपाल भित्रिएको उनले जानकारी दिइन् । करिब दुई महिनाको अवधिमा चाडपर्व लक्षित सबैभन्दा बढी बोक्रा भएको ओखर र स्याउ नेपाल भित्रिएको उनको भनाइ छ । यसअघि रसुवागढी नाकाबाट मार्ग परिवर्तन भई कोरला नाकाबाट भित्रिएका फलफूलजन्य पदार्थ ढुवानी गर्न गत असोज ११ गतेको बाढीपहिरो र नदी कटानले दुई साता बढी बेनी–जोमसोम सडक अवरुद्ध हुँदा समस्या परेको थियो । नाकाबाट भित्रिएका फलफूलको क्वारेन्टाइन परीक्षण तथा भन्सार जाँचपास भइसक्दासमेत गन्तव्यमा पुग्न सकेको थिएनन् । व्यवसायीद्वारा आयात गरिएको एक कन्टेनर ड्रागन फ्रुट बिग्रन थालेपछि मुस्ताङका स्थानीयलाई नि:शुल्क वितरण गरिएको थियो । The post कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

Read Complete Original Article
Published originally on कर्पोरट खबर






