काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले धरानमा सञ्चालित टेम्पु तथा सिटी सफारी चालकलाई २०० थान डस्टबिन वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत धरान शाखामार्फत धरान उपमहानगरपालिका–१२ क्षेत्रमा सञ्चालनमा रहेका टेम्पु तथा सिटी सफारी चालकलाई डस्टबिन वितरण गरेको हो। बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले यातायात व्यवसायी संघका अध्यक्ष मिनकुमार श्रेष्ठ तथा धरान उपमहानगरपालिका–१२ का कार्यवाहक वडाध्यक्ष आयन्द्रविक्रम बेघाको उपस्थितिमा डस्टबिन हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भुसालले स्वच्छ वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको बताए। सार्वजनिक यातायातका साधनमा डस्टबिन राख्दा फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्नुका साथै यात्रुमा सरसफाइप्रति सकारात्मक सन्देश प्रवाह हुने उनको विश्वास थियो। यातायात व्यवसायी संघका अध्यक्ष श्रेष्ठले टेम्पु तथा सिटी सफारीमा यात्रा गर्ने यात्रुलाई जथाभावी फोहोर नफाल्न प्रोत्साहित गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताए। नगरको स्वच्छता र वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले बैंकलाई धन्यवादसमेत दिए। बैंकले आफ्नो व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सचेतना तथा सामुदायिक हितका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
कामना सेवा विकास बैंकद्वारा टेम्पु तथा सिटी सफारी चालकलाई २०० डस्टबिन वितरण

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






