काठमाडौं । भारतमा आयोजना हुने काभा पुरुष भलिबल लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको रुकुमपश्चिमले पहिलो खेल इरानको बलियो टोली फुलाड सिरजान इरानियनसँग खेल्ने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार रुकुमपश्चिमले नोभेम्बर १५ मा इरानियन टोलीसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा नोभेम्बर १५ देखि २२ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित पाँच देशका ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालबाट रुकुमपश्चिम सहभागी हुँदा आयोजक भारतका मुम्बई मेटियर्स र बेंगलुरु टोरपेडोज, इरानको फुलाड सिरजान इरानियन, काजकिस्तानको झेतिसु तथा अफगानिस्तानको काम एयरले चुनौती प्रस्तुत गर्नेछन् । रुकुमपश्चिमले लिग चरणमा पाँच खेल खेल्ने तालिका छ । पहिलो खेल नोभेम्बर १५ मा इरानसँग खेलेपछि नोभेम्बर १६ मा झेतिसु, १७ मा बेंगलुरु टोरपेडोज, १९ मा काम एयर र २० नोभेम्बरमा मुम्बई मेटियर्ससँग आमनेसामने हुनेछ । लिग चरणका खेलबाट अंकतालिकामा शीर्ष चार स्थान हासिल गर्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलमा पहिलो स्थानको टोलीले चौथो स्थानको टोलीसँग तथा दोस्रो स्थानको टोलीले तेस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका सेमिफाइनल खेलहरू नोभेम्बर २१ मा हुनेछन् । त्यसको भोलिपल्ट तेस्रो स्थानका लागि प्रतिस्पर्धासँगै उपाधि भिडन्त हुनेछ । अन्तर्राष्ट्रियस्तरका पाँच टोलीसँग प्रतिस्पर्धा गर्न लागेको रुकुमपश्चिमका लागि प्रतियोगिता आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहनेछ ।
काभा भलिबलमा रुकुमपश्चिमको पहिलो भिडन्त इरानसँग

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






