ललितपुर, मंसिर ८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ। आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले विभिन्न समसामयिक तथा सांगठनिक विषयलाई छलफलको कार्यसूचीमा राखेको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गर्नुभएको थियो। महामन्त्री पौडेलले प्रस्तुत गर्नुभएको कार्यसूचीमा पार्टी सङ्गठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषय समेटिएका छन्। कार्यवाहक मुख्यसचिव दुलालका अनुसार सङ्गठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने विषयमा छलफल हुनेछ। त्यस्तै, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण र विस्थापित सुकुमवासीको व्यवस्थापनका विषय पनि बैठकको कार्यसूचीमा राखिएका छन्। बैठकमा सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूचीसमेत तय गरिएको छ। नागरिक सरोकारसँग सम्बन्धित अन्य विषय र विविध विषयमा पनि छलफल हुने जनाइएको छ। आज दिउँसो बसेको बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गर्नुभएको थियो।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने

Read Complete Original Article
Published originally on जनताटाइम्स






