काठमाडौं। नेपाली काँग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ। काँग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकले पार्टीविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको संसद, संसदीय समिति र आम नागरिकबीच भण्डाफोर गर्ने निर्णय गरेको बताए। राज्य संरक्षित तथा राज्य नियन्त्रित व्यक्तिहरूमार्फत नेपाली काँग्रेस र पार्टी नेतृत्वमाथि भ्रम सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउँदै रसाइलीले त्यस्ता गतिविधिको पार्टीले खुलेर विरोध र प्रतिरोध गर्ने बताए। उनका अनुसार यस विषयलाई प्रतिनिधिसभा र संसदीय समितिमा समेत सशक्त रूपमा उठाइनेछ। काँग्रेसले संसद् बैठक आह्वानको माग गरिसकेको उल्लेख गर्दै उनले संसद् र संसदीय समितिमार्फत घटनाको वास्तविकता बाहिर ल्याउने बताए। पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूको बैठकले पार्टी नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास, संसद् अधिवेशन आह्वान र भोटेकोशी बाढी प्रभावित नागरिकलाई सहयोग गर्ने विषयमा छलफल गरेको उनले बताए। “राज्य संरक्षित व्यक्तिहरूमार्फत नेपाली काँग्रेस पार्टी र यसको नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै पार्टीले त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको छ। यस विषयलाई प्रतिनिधिसभा, संसदीय समितिहरू तथा आम नागरिकमाझ तथ्यसहित उठाइनेछ,” रसाइलीले भने। पार्टीको निर्वाचनका बेला काँग्रेसको अद्यावधिक अवस्था र वैधानिकतासँग सम्बन्धित नरहेका व्यक्तिलाई समेत जोडेर पार्टी नेतृत्वविरुद्ध भ्रम फैलाउने काम भएको निष्कर्ष बैठकले निकालेको उनले बताए। राज्यले जुनसुकै प्रकारको छानबिन गर्न चाहे पनि काँग्रेस त्यसबाट पछि नहट्ने स्पष्ट पार्दै रसाइलीले पार्टीमाथि लागेका आरोप र सिर्जना गरिएका भ्रमको यथार्थ आम नागरिकसमक्ष पु¥याउने बताए। यसैगरी बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा समेत छलफल गरेको छ। चाडपर्वको समयमा प्रभावित नागरिकलाई पार्टीका तर्फबाट आवश्यक सहयोग गर्ने उद्देश्यले प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिलाई पार्टी कार्यालयमा बोलाइएको रसाइलीले बताए। उनका अनुसार सभापति र पार्टी नेतृत्वले प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिसँग छलफल गरी आवश्यक सहयोगका विषयमा निर्णय गर्नेछ। प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिलाई शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालयमा बोलाइएको छ। – न्युज एजेन्सी नेपाल
काँग्रेसले भन्यो, ‘पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ’

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






