सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा फ्रिक्वेन्सी दस्तुरबापत साना ठूला गरी विभिन्न एघार ओटा दूरसञ्चार सेवा प्रदायकहरूबाट करिब ३ अर्ब ९२ करोड रुपैयाँ संकलन गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार तीमध्ये नेपाल टेलिकम र एनसेलले सबैभन्दा बढी फ्रिक्वेन्सी दस्तुर बुझाएका छन्। नेपाल टेलिकमले १ अर्ब ९४ करोड ८५ लाख ३२ हजार ४०० रुपैयाँ र एनसेल आजियाटाले १ अर्ब ९६ करोड ९५ लाख ३९ हजार रुपैयाँ सरकारलाई बुझाएका छन्। प्राधिकरणको प्रतिवेदनअनुसार फ्रिक्वेन्सी दस्तुर तथा थप दस्तुरसमेत गरी ११ वटा सेवा प्रदायक तथा संस्थाले कुल ३ अर्ब ९१ करोड ८२ लाख ८० हजार ५०० रुपैयाँ बुझाएका छन्। यस अवधिमा आईफोर टेक्नोलोजिजले ६४ हजार रुपैयाँ, कन्स्टेलेसनले १ लाख १२ हजार रुपैयाँ, मर्कन्टाइल कम्युनिकेसन्सले ४ हजार रुपैयाँ र सिटा बीभीले १ हजार रुपैयाँ फ्रिक्वेन्सी दस्तुर बुझाएका छन्। त्यस्तै, बुटवल पावर कम्पनीले १ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले २४ हजार रुपैयाँ, भोटेकोशी पावर कम्पनीले १ हजार रुपैयाँ, एसएसभीसी रेडियो काठमाडौंले १ हजार १०० रुपैयाँ र भेरिस्क नेपालले १ हजार रुपैयाँ बुझाएका छन्। यसैबीच सोही अवधिमा दूरसञ्चार सेवा प्रदायकहरूबाट सरकारले टेलिफोन स्वामित्व शुल्कबापत १ अर्ब २ करोड ९ लाख ५८ हजार १९६ रुपैयाँ ६५ पैसा राजस्व प्राप्त गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस शीर्षकमा १ अर्ब १७ करोड ५८ लाख ७८ हजार ४४० रुपैयाँ २४ पैसा राजस्व संकलन भएको थियो। यसअनुसार टेलिफोन स्वामित्व शुल्कबापतको राजस्व करिब १३.२ प्रतिशतले घटेको छ। तर दूरसञ्चार सेवा दस्तुरबापतको राजस्व भने बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १७ करोड ६ लाख ७० हजार २०२ रुपैयाँ ६३ पैसा संकलन भएकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर ७ अर्ब ५१ करोड ६८ लाख २४ हजार ६६ रुपैयाँ ७५ पैसा पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा करिब ४.८ प्रतिशत बढी हो। आर्थिक ऐन, २०८२ को दफा १३ को उपदफा (४) अनुसार टेलिफोन स्वामित्व शुल्क र दफा १४ को उपदफा (५) अनुसार दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरेबमोजिम हुने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार प्राधिकरणले यी राजस्व शीर्षकको प्रशासन गर्दै आएको छ। The post गत आर्थिक वर्षमा फ्रिक्वेन्सी दस्तुरबापत ११ सेवा प्रदायकबाट ३ अर्ब ९२ करोड रुपैयाँ संकलन appeared first on Technology Khabar.
गत आर्थिक वर्षमा फ्रिक्वेन्सी दस्तुरबापत ११ सेवा प्रदायकबाट ३ अर्ब ९२ करोड रुपैयाँ संकलन

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






