काठमाडौं । सरकारले संघीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउने भएको छ । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षाको दायरा विस्तार गरी सबै श्रमिकलाई योगदानमा आधारित प्रणालीमा समेट्ने सरकारको नीति रहेको बताएकी छन् । चालु आर्थिक वर्षमा विनियोजित १ अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई कोषमा आबद्ध गराउने प्रक्रिया सुरु गरिएको उनले जानकारी दिइन्। अनौपचारिक क्षेत्रका श्रमिकका लागि स्थानीय तहको सहयोगदानसहित संघीय सरकारले एक प्रतिशत सह-योगदान गर्ने व्यवस्था पनि अघि बढाइएको छ । सरकारले प्रधानमन्त्री, मन्त्री तथा संघीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको जनाएको छ । हाल कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत छन्। कोषमा १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी योगदान रकम संकलन भएको छ भने २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ । यस वर्षको सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता : वर्तमान र भविष्यको सुरक्षा’ नारासहित मनाइएको हो । The post करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सरकारको तयारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
करार कर्मचारी र अस्थायी शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सरकारको तयारी

Read Complete Original Article
Published originally on कर्पोरट खबर






