दाङ। उद्योग वाणिज्य सङ्घ, दाङका अध्यक्ष विनील केसीले कर तिर्नु असल नागरिकको पहिचान भएको बताएका छन्। पन्ध्रौँ राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा तुलसीपुरमा आज आयोजित कार्यक्रममा धारणा राख्दै उनले नागरिकबाट सङ्कलित करबाटै मुलुकको समृद्धि सम्भव हुने बताए। राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय, तुलसीपुरले आज करसम्बन्धी सचेतना फैलाउने उद्देश्यले प्रभातफेरि आयोजना गरेको थियो। त्रिसिद्धेश्वरी मन्दिरको धर्मशालास्थित कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरिले तुलसीपुर बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो। कार्यक्रममा सहभागी अन्य वक्ताले कर तिर्ने संस्कृतिको विकास र कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिए। कर अधिकृत उपेन्द्र पुनले कर प्रशासनले करदाताको हितमा काम गर्ने बताए। करबाटै देश विकास हुने भएकाले सबै उद्योगी, व्यवसायी तथा व्यापारीलाई राज्यले तोकेको मापदण्डअनुसार समयमै कर तिर्न उनले आग्रह गरे। कार्यक्रममा उद्योगी, व्यवसायी र सरकारी प्रतिनिधिको सहभागिता थियो। कार्यालयले मङ्सिर ७ गते विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट करदातालाई सम्मान गर्दै कर सप्ताह समापन गर्ने जनाएको छ। लुम्बिनी प्रदेशका दाङ, रुकुम पूर्व, रोल्पा र प्युठान तथा कर्णाली प्रदेशका सल्यान र पश्चिम रुकुम कार्यक्षेत्र रहेको यस कार्यालयमा करिब एक लाख करदाता रहेको जनाइएको छ।
‘कर तिर्नु असल नागरिकको पहिचान’

Read Complete Original Article
Published originally on नेपालन्युज






