ओपनएआईले आफ्ना उन्नत एआई मोडल गुगल क्लाउडमार्फत उपलब्ध गराउने

ओपनएआईले आफ्ना उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडल र कोड लेख्ने एआई सहायक कोडेक्स आगामी केही साताभित्र गुगल क्लाउडमार्फत उपलब्ध गराउने भएको छ। दुई कम्पनीले बुधबार यसबारे जानकारी दिएका हुन्। यस सम्झौताले प्रतिस्पर्धी रहेका दुई कम्पनीबीचको सहकार्य थप विस्तार गरेको छ। सम्झौताअनुसार ओपनएआईका जीपीटी–६ एस्ट्राजस्ता नयाँ मोडल गुगल क्लाउडको मोडल गार्डेनमा उपलब्ध हुनेछन्। ग्राहकले गुगल क्लाउड मार्केटप्लेसमार्फत यी मोडल खरिद गर्न सक्नेछन्। साथै, गुगल क्लाउडमा यसअघि नै खर्च गर्ने प्रतिबद्धता जनाएका ग्राहकले सोही बजेटबाट ओपनएआईका मोडल खरिद गर्न सक्नेछन्। रोयटर्सका अनुसार ओपनएआईले आफ्ना एआई मोडल धेरै व्यावसायिक ग्राहकसम्म पुर्याउने प्रयास गरिरहेका बेला यो सम्झौता भएको हो। यसबाट नियमनको दायरामा रहेका उद्योगका ग्राहकले पनि गुगल क्लाउडका पहुँच नियन्त्रण, तथ्यांक व्यवस्थापनका उपकरण र पूर्वाधार प्रयोग गरी एआई एजेन्टमा आधारित प्रणाली निर्माण गर्न सक्नेछन्। माइक्रोसफ्टसँगको ओपनएआईको विशेष वितरण सम्झौता अप्रिलमा समाप्त भएपछि गुगल क्लाउड आफ्ना ग्राहकलाई ओपनएआईका मोडल उपलब्ध गराउने पछिल्लो ठूलो क्लाउड सेवा प्रदायक बनेको छ। यसअघि ओपनएआईले अमेजन वेब सर्भिसेजमार्फत पनि आफ्ना नयाँ एआई मोडल र कोडेक्स उपलब्ध गराएको थियो। ओपनएआई र गुगल एआईका मुख्य उत्पादन तथा सर्च बजारमा प्रतिस्पर्धा गरिरहेका छन्। तर, ठूला एआई मोडल निर्माण र सञ्चालन गर्न लाग्ने खर्च तथा आवश्यक पूर्वाधारका कारण यी कम्पनीबीच सहकार्य पनि बढिरहेको छ। गुगलले आफ्नो क्लाउड व्यवसायलाई विभिन्न कम्पनीका एआई मोडल उपलब्ध गराउने खुला मञ्चका रूपमा विकास गरिरहेको छ। आफ्नै एआई मोडलमा मात्र निर्भर नभई ग्राहकलाई विभिन्न विकल्प उपलब्ध गराउने रणनीतिअन्तर्गत ओपनएआईका मोडल पनि थपिएका हुन्। गुगल क्लाउडका प्रमुख कार्यकारी थोमस कुरियनले यसअघि विकासकर्तामाझ लोकप्रिय जुनसुकै मोडललाई आफ्नो क्लाउड मञ्चमा स्वागत गर्ने बताएका थिए। गत वर्ष गुगलले ओपनएआईलाई थप कम्प्युटिङ क्षमता उपलब्ध गराउने सम्झौता पनि गरेको थियो। ठूला क्लाउड सेवा प्रदायक एआई कम्पनीका मोडल बिक्री गर्ने प्रमुख माध्यम बन्दै गएका छन्। यस्ता मञ्चमार्फत मोडल बिक्री हुँदा क्लाउड सेवा प्रदायकले आम्दानीको केही हिस्सा प्राप्त गर्छन्। ओपनएआईको प्रतिस्पर्धी एन्थ्रोपिकको सन् २०२५ को कुल आम्दानीमध्ये ४७ प्रतिशत अमेजन र गुगलका क्लाउड मञ्चबाट आएको थियो। रोयटर्सले समीक्षा गरेको कम्पनीको सेयर निष्कासनसम्बन्धी विवरणमा यो तथ्य उल्लेख छ। The post ओपनएआईले आफ्ना उन्नत एआई मोडल गुगल क्लाउडमार्फत उपलब्ध गराउने appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

नेपाल राष्ट्र बैंकको वेबसाइट बन्द: PHP सुरक्षा जोखिम र वित्तीय क्षेत्रका लागि महत्वपूर्ण साइबर सुरक्षा निर्देशिका
६ कात्तिक, काठमाडौं। वेब प्रविधि (PHP) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइट तथा सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। यस घटनाले डिजिटल बैंकिङ र वित्तीय प्रणालीको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। यस लेखमा हामी यस सुरक्षा जोखिम, राष्ट्र बैंकको अपिल र अपनाउनुपर्ने सुरक्षा उपायहरूबारे चर्चा गर्नेछौं। […] The post नेपाल राष्ट्र ...

एआई प्रयोग गरेर साइबर आक्रमणको अभ्यास गर्ने टोली गठन गर्दै जापान
जापानले विश्वभर इन्टरनेटमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा देखिएका कमजोरीका कारण साइबर आक्रमणको जोखिम बढेपछि प्रविधि प्रणालीका कमजोरी पत्ता लगाउन कृत्रिम बुद्धिमता प्रयोग गरेर साइबर आक्रमणको अभ्यास गर्ने टोली गठन गर्ने शुक्रबार जनाएको छ। व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी सार्वजनिक भएपछि यसै साता विश्वभरका सरकारी तथा कम्पनीका वेबसाइटहरू बन्द भएका थिए। ती कमजोरी सार्वजनिक भएपछि लाखौँ पटक ह्याकिङ ...

क्रोएसियाले एआई क्षेत्रमा करिब एक अर्ब यूरो लगानी गर्ने
क्रोएसियाले सन् २०३२ सम्म कृत्रिम बुद्धिमत्ता (एआई) विकासका लागि ९३ करोड २० लाख यूरो लगानी गर्ने योजना बनाएको छ। यसमा क्रोएसियाली भाषाका लागि ठूलो भाषा मोडेल निर्माण गर्ने र ई–सिटिजन प्रणालीमा कृत्रिम बुद्धिमत्ता सहायक विकास गर्ने योजना पनि समावेश छ। क्रोएसियाका न्याय, प्रशासन तथा डिजिटल रूपान्तरणमन्त्री दामिर हाबियानले शुक्रबार सार्वजनिक गरेको कृत्रिम बुद्धिमत्ता विकाससम्बन्धी राष्ट्रिय योजनामा यस्तो व्यवस्था गरिएको छ। सन् २०३२ ...


