एमालेसँग तत्काल पार्टी एकताको सम्भावना छैन : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन्। राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका विषयमा आवश्यकताअनुसार सहकार्य गर्न सकिने भए पनि त्यसलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उनको भनाइ छ। शनिबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’को शुभारम्भ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले नेपाली कम्युनिस्ट पार्टी र एमालेको राजनीतिक दृष्टिकोण तथा कार्यशैली फरक रहेको दाबी गरे। उनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिएको उल्लेख गर्दै एमालेमाथि सुशासनको सवालमा कमजोर देखिएको आरोप लगाए। दाहालले तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत २६ वटा साना–ठूला कम्युनिस्ट घटक एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी गठन भएको बताए। पार्टीको नाम परिवर्तन हुँदैमा राजनीतिक विचार, उद्देश्य र जनपक्षीय एजेन्डा समाप्त नहुने उनको भनाइ थियो। उनले वर्तमान पार्टीलाई विघटन नभई विभिन्न कम्युनिस्ट शक्तिको रूपान्तरण र एकीकरणका रूपमा व्याख्या गरे। एमाले र नेपाली कांग्रेसबीचको गठबन्धनप्रति टिप्पणी गर्दै दाहालले संसद्का दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको स्मरण गरे। सुशासन, सामाजिक न्याय र समृद्धिका लागि अभियान सञ्चालन गरिरहेका बेला आफू नेतृत्वको सरकार विस्थापित गरिएको उनको दाबी थियो। उनले दुई ठूला दलको गठबन्धनले मुलुकमा राजनीतिक तथा संवैधानिक जटिलता निम्त्याउन सक्ने भन्दै यसअघि नै सचेत गराएको पनि बताए। ‘हामी भ्रष्टाचारविरुद्ध लड्ने र सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि प्रतिबद्ध छौँ। राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जोसँग पनि सहकार्य गर्न तयार छौँ। तर यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छ भन्ने होइन,’ दाहालले स्पष्ट पारे। उनले कम्युनिस्ट आन्दोलनको भविष्यबारे उठाइने प्रश्न र आलोचना नयाँ नभएको उल्लेख गर्दै विगतमा पनि यस्तै निराशाजनक भाष्य निर्माण हुने गरेको बताए। २०४६ सालको जनआन्दोलनपछि समेत कम्युनिस्ट आन्दोलनको सम्भावनाबारे संशय व्यक्त गरिएको स्मरण गर्दै उनले परिवर्तनका लागि आफूहरूले निरन्तर संघर्ष गरेको बताए। सामाजिक सञ्जाल र नयाँ प्रविधिको प्रभावका बीच कम्युनिस्ट आन्दोलनको सान्दर्भिकतामाथि प्रश्न उठिरहेका बेला दाहालले आलोचना र नकारात्मक प्रचारमा अल्झिनुभन्दा राजनीतिक लक्ष्य तथा जनताका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले पार्टीभित्र विभिन्न घटकका विचार र भावनालाई समेट्दै आन्दोलनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। दाहालका अनुसार राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूबीच सहकार्य सम्भव भए पनि पार्टी एकताका लागि इतिहास, राजनीतिक पृष्ठभूमि र वैचारिक भिन्नताबारे गम्भीर समीक्षा आवश्यक हुन्छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News
![नारायणी किनारमा बढ्न थाल्यो चहलपहल [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/nadikinar-chalpahal1-24102026025215-watermarked.jpg)
नारायणी किनारमा बढ्न थाल्यो चहलपहल [तस्बिरहरू]
बाढीले नारायणगढतर्फको नदी किनार क्षतविक्षत पारे पनि हिजोआज साँझपख घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । ...

दसैंमा मुस्ताङबाट ३६ करोडभन्दा बढीको भेडाच्याङ्ग्रा बिक्री
मुक्तिनाथ समाचारदातामुक्तिनाथ (मुस्ताङ), कात्तिक ७ गते । दसैंंमा मुस्ताङबाट ३६ करोडभन्दा बढी मूल्य बराबरको भेडाच्याङ्ग्रा बिक्री भएको छ । मुस्ताङका पाँचवटा स्थानीय तहका कृषकले पाले... ...

डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपालमा प्रवेश
ओटीटी प्लाटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ। दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै, डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको हो। भारतसँगको गहिरो सांस्कृतिक सम्बन्ध र भारतीय सिनेमा तथा टेलिभिजनप्रतिको लामो स... ...

गुल्मीमा ५५ प्रतिशतभन्दा बढी नागरिक स्वास्थ्य बिमाको दायरामा
गुल्मी। जिल्लामा ५५.९२ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्। सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले सुरु गरिएको यस कार्यक्रममा हालसम्म एक लाख ३७ हजार ८४५ जनाले बिमा गराएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीले जनाएको छ। कार्यालयका संयोजक सुवास घिमिरेका अनुसार २०७६ साल माघ १९ गतेदेखि जिल्लामा यो कार्यक्रम सुरु गरिएको हो। २०७८ सालको जनगणनाअनुसार दुई ...


