प्रयोगकर्ताको अनुमति नलिई एन्ड्रोइड डिभाइसमा रहेका फोटो तथा भिडियोमा पहुँच बनाएको भन्दै इटालीले सामाजिक सञ्जाल कम्पनी मेटालाई ८८ करोड ७० लाख अमेरिकी डलर जरिवाना गरेको छ। इटालीको डाटा संरक्षण निकायले शनिबार मेटालाई ८० करोड ५० लाख यूरो जरिवाना गरेको हो। कम्पनीले प्रयोगकर्तालाई जानकारी नदिई र उनीहरूको सहमति नलिई व्यक्तिगत ग्यालरीमा रहेका फोटो तथा भिडियोमा पहुँच बनाएको अनुसन्धानबाट पुष्टि भएको निकायले जनाएको छ। मेटाले फेसबुक एपमा रहेको एउटा सुविधामार्फत प्रयोगकर्ताको व्यक्तिगत ग्यालरीमा भएका फोटो तथा भिडियो पहुँच गरी फेसबुकमा पोस्ट गर्न सकिने सामग्री सुझाव दिने गरेको थियो। उक्त सुविधा पूर्वनिर्धारित रूपमा बन्द गर्न र प्रयोगकर्ताबाट छुट्टै अनुमति लिन मेटालाई ६० दिनको समय दिइएको छ। रोयटर्सका अनुसार मेटाका प्रवक्ताले भने कम्पनीले उक्त निर्णयविरुद्ध अपिल गर्ने बताएका छन्। उनले जरिवानालाई असमानुपातिक भन्दै निर्णयप्रति कडा असहमति जनाएका छन्। उनका अनुसार यो सुविधा फेसबुकमा फोटो तथा भिडियो साझा गर्न सहयोग गर्ने सामान्य सुविधा हो। यो सञ्चालन हुनुअघि प्रयोगकर्ताले आफ्नो डिभाइसमा अनुमति दिनुपर्ने र चाहेको समयमा सेटिङमार्फत अनुमति परिवर्तन गर्न सक्ने व्यवस्था रहेको कम्पनीको दाबी छ। सन् २०२५ मा सुरु भएको अनुसन्धानमा प्रयोगकर्ताका फोटो तथा भिडियो कृत्रिम बुद्धिमताका मोडेललाई तालिम दिन प्रयोग गरिएको विषय भने समेटिएको थिएन। मेटाले यस्तो अभ्यास गरेको आरोप अस्वीकार गर्दै आएको छ। त्यस्तै, प्रयोगकर्ताको ग्यालरीमा रहेका सामग्रीलाई क्लाउडमा प्रशोधन गर्न सक्ने सन् २०२६ मा सुरु गरिएको नयाँ सुविधाको पनि छुट्टै मूल्याङ्कन गर्न सक्ने अधिकार आफूसँग सुरक्षित रहेको इटालीको डेटा संरक्षण निकायले जनाएको छ। निकायका अनुसार मेटालाई गरिएको जरिवाना कम्पनीको विश्वव्यापी आम्दानीको करिब ०.४७ प्रतिशत बराबर हो। यो घटनाबाट इटालीका करिब २ करोड एन्ड्रोइड प्रयोगकर्ता प्रभावित भएका छन्। The post एन्ड्रोइड प्रयोगकर्ताका फोटो र भिडियोमा अनुमतिबिना पहुँच बनाएको भन्दै मेटालाई ८८ करोड ७० लाख डलर जरिवाना appeared first on Technology Khabar.
एन्ड्रोइड प्रयोगकर्ताका फोटो र भिडियोमा अनुमतिबिना पहुँच बनाएको भन्दै मेटालाई ८८ करोड ७० लाख डलर जरिवाना

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






