एक महिनामा राष्ट्र बैंकबाट १ खर्ब बाहिरियो, १६ अर्ब साना दरका नोट

काठमाडौं । यही असोज महिनामा मात्र राष्ट्र बैंकबाट थप करिब १ खर्ब रुपैयाँ बाहिरिएको छ । जसमा करिब १६ अर्ब रुपैयाँ ५ देखि १ सय दरका नयाँ नोट र बाँकी ८४ अर्ब रुपैयाँ ५ सय र एक हजार दरका (नयाँ तथा सुकिला) नोट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । यसरी दसैं र तिहारका लागि नयाँ नोटसँगै अरू रकम पनि बाहिरिएकाले अहिले चलनचल्तीमा रहेको रकमको परिमाण पनि बढेको छ । असोजमा मात्र चलनचल्तीमा रहेको रकम १ खर्ब रुपैयाँले बढेको हो । यससँगै चलनचल्तीमा रहेको रकम बढेर ८ खर्ब ९८ अर्ब २५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको असोजमा ७ खर्ब ८६ अर्ब रहेको थियो । यस वर्ष दसैंमा मात्र १६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिएको छ । १ असोजदेखि ३० सम्म उल्लिखित रकम बराबर नयाँ नोट सटही भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख अनुज दाहालले बताए । उक्त अवधिमा बाहिरिएको करिब १६ अर्बमध्ये १२ अर्ब बैंक तथा वित्तीय संस्थाका लागि र ४ अर्ब रुपैयाँ सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिइएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थालाई दिइएको नयाँ नोट पनि सर्वसाधारणलाई सटही गरिदिन रहेको राष्ट्र बैंकले प्रस्ट्याएको छ । अघिल्ला दुई वर्ष सुकिला (प्रयोगमा रहेका) नोट मात्र वितरण गरेको राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नै सटही सुविधा दिएको हो । राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना जारी गर्ने चलन यसपालि हटाएको छ । इच्छुक सर्वसाधारणले राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट सजिलै नयाँ नोट सटही सुविधा पाउने व्यवस्था मिलाइएको थियो । यस वर्ष राष्ट्र बैंकले सार्वजनिक बिदाबाहेक सबै दिन सर्वसाधारणले नोट साट्न पाएका थिए । काठमाडौं उपत्यकामा थापाथलीस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण गरिएको थियो । सबै बैंक तथा वित्तीय संस्थालाई पनि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकले निर्देशन दिएको थियो । विगतमा ५ रुपैयाँदेखि १ सय रुपैयाँका एक/एक सेट (बन्डल) गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबरका नोट सटही सुविधा दिँदै आएको राष्ट्र बैंकले यस वर्ष एक बन्डलभन्दा बढी पनि सटही गर्ने सुविधा दिएको थियो । यस वर्ष नयाँ नोट स्टकको समस्या नभएकाले पनि सर्वसाधारणलाई एक/दुई सेटसम्म सटही दिइएको बताइएको छ । राष्ट्र बैंकले वर्षभर (नियमित रूपमा) नयाँ अथवा सुकिला नोट सटी सुविधा दिँदै आएको छ । दसैं, तिहार र छठमा नयाँ नोटको माग बढी हुने भएकाले विगतका वर्षमा दसैं नजिकिँदै गर्दा निश्चिम मिति नै तोकेर उत्सवका रूपमा नयाँ नोट वितरण गरिँदै आएको थियो । यस वर्ष भने कुनै तामझाम र उत्सवबिनै नोट सटही गर्न चाहनेहरूका लागि सटही सुविधा दिइएको हो । यस वर्ष राष्ट्र बैंक तथा वित्तीय संस्थालाई एटीएममा एक सयका नोट पनि राख्न निर्देशन दिएको छ । उक्त निर्देशनअघि बैंक तथा वित्तीय संस्थाले एटीएममा ५ सय र हजार दरका मात्र नोट राख्दै आएका थिए । एटीएमबाटै एक सय दरका नोट पाइने भएकाले पनि नयाँ नोट सटहीका लागि बैंकहरूमा भीड कम भएको राष्ट्र बैंकले जनाएको छ । विगतमा दसैं, तिहार र छठका अवसरमा हरेक वर्ष औसतमा ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यद्यपि गएका दुई आर्थिक वर्ष सुकिला नोट मात्र सटही सुविधा दिइएको थियो । दसैंतिहारमा बाहिरिने उक्त रकममध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । कोभिडको एक वर्ष भने राष्ट्र बैंकले नयाँ नोट वितरण गरेन । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै बिक्री हुँदै आएको छ । दसैं र तिहारका लागि नयाँ नोटको माग बढ्दो छ । गत वर्ष गुणस्तरीय सुन अभाव भएको भन्दै राष्ट्र बैंकले असर्फी वितरण गरेको थिएन । दसैंतिहारका बेला राष्ट्र बैंकबाट बाहिरिने रकमले बजारमा मुद्रा आपूर्ति बढाउँछ । यसको अर्थ नागरिकको हातहातमा धेरै पैसा पुग्छ । हातहातमा पैसा भएपछि खर्च गर्ने प्रवृत्ति बढ्छ । खर्च गर्ने क्षमता बढेपछि माग बढ्छ । माग बढेपछि बजारमा वस्तु तथा सेवाको मूल्य बढ्छ । यसले समग्र राष्ट्रको मूल्य वृद्धिदर बढाउँछ । मूल्य वृद्धिदर बढ्नु भनेको पैसाको क्रयशक्ति (भाउ) घट्नु हो । यसकारण पैसाको मूल्य तीव्र रूपमा घट्न नदिन अर्थशास्त्री सुझाउँछन् । नयाँ नोट वितरण राष्ट्र बैंकका लागि चुनौतीपूर्ण बन्दै गएको उनीहरूले बताएका छन् । पछिल्ला वर्षमा डिजिटल बैंकिङ बढेकाले पनि नगद कारोबार घटेको छ । मुलुकमा आएको प्राकृतिक विपत्तिसँगै यस वर्ष नयाँ नोटको माग घट्नुको एक कारण डिजिटल बैंकिङ पनि भएको जानकार बताउँछन् । राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्छ । नोटको माग बढेअनुसार यस्तो खर्च पनि बढ्छ । यसले राष्ट्रको व्ययभार बढाउँछ । यो क्षेत्रमा गरिने लगानी तुलनात्मक रूपमा अनुत्पादक मानिन्छ । नोटको आयु यति नै वर्ष हुन्छ भन्ने नतोकिए पनि जतनले उपयोग गरे धेरै वर्षसम्म टिकाउन सकिन्छ । यो वर्ष वितरण गरेको नयाँ नोट राष्ट्र बैंकमा फर्किंदा पुरानो भएर आउँछ । नागरिकका माग पूरा गर्न राष्ट्र बैंकले ठूलो धनराशि खर्च गर्नुपर्छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नौरथाभर पूजाआजामा व्यस्त रहन्छु : भवानी राणा
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष राणा भन्छिन्- 'म आफैंले पाठ पनि गर्छु । गुरु राखेर पूजा पनि हुन्छ । १८ वर्षदेखि दसैंमा यही नित्यकर्म गर्दै आएकी छु ।' ...

वेस्ट ब्याङ्कमा कूटनीतिज्ञ र फ्रान्सेली मेयरमाथि आक्रमण
काठमाडौं । इजरायली बस्तीका बासिन्दाहरूले कब्जामा रहेको वेस्ट ब्याङ्कमा युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गर्नुका साथै फ्रान्सेली मेयर बर्नार्ड बाउडोक्सलाई कुटपिट गरेका छन्। अमेरिकी फोटो पत्रकारमाथि आक्रमण भएको भोलिपल्टै भएका घटनाप्रति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिन्ता व्यक्त गरेका छन्। उत्तरी फ्रान्सको औल्नोए–आयमेरिसका ७८ वर्षीय मेयर बाउडोक्स प्यालेस्टिनी किसानहरूसँग जैतुन टिप्न सहभागी भएका बेला मुख छोपेका व्यक्तिहरूले उनलाई लात्ती र फलामको बारले प्रहार ...

खोइँछ भर्न जनकपुरको राजदेवी मन्दिरमा महिलाको घुइँचो
जनकपुरधाम । दसैँको महाअष्टमीका अवसरमा जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा दुर्गा माताको खोइँछ भर्न हजारौँ महिलाको घुइँचो लागेको छ। सन्तानको दीर्घायु, पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्दै महिलाहरू बिहानैदेखि विभिन्न शक्तिपीठमा... ...

बुटवलमा दसैं, अर्घाखाँचीमा घुमघाम : चन्द्र टण्डन
सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक टण्डनले यसपालि दसैं बिदामा विदेश घुम्ने योजना बनाएनन् । मुलुकलाई परेको पीडा भुलाउन र रीति तथा परम्परा जोगाउन दसैंलगायत चाडपर्व मनाउनुपर्ने बताए । ...


