विराटनगर । विभिन्न माग राख्दै इलाममा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। रगतमा ग्लुकोजको मात्रा निकै कम र पिसाबमा एसिटोनको मात्रा बढेपछि चिकित्सकले उनको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुनसक्ने चेतावनी दिएका छन्। उनले बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन शुरु गरेका थिए। अनशनमा बसेका केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई शनिबार साँझ इलाम अस्पताल भर्ना गरिएको इलाम अस्पतालले जनाएको छ । इलाम अस्पतालका डा. अमिताभ ठाकुरले डा. केसीको स्वास्थ्य अवस्था निरन्तर बिग्रिरहेको बताए । उनले केसीलाई ग्लुकोज दिन खोजिए पनि डा. केसीले अस्वीकार गरिरहेका छन् । डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, मेडिकल कलेज सञ्चालनमा मापदण्डको पालना, पदाधिकारी नियुक्तिमा निष्पक्ष छानबिन, सरकारी संस्थामा ७५ प्रतिशत छात्रवृत्ति अनिवार्य गर्नेलगायत ६ बुँदे माग राखेका छन्। उनले विभिन्न मेडिकल कलेजमा मापदण्डविपरीत बढाइएको सिट खारेज गर्नुपर्ने, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने तथा इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना गर्ने पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने मागसमेत अघि सारेका छन्।
इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






