वासिङ्टन । इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गरेको अर्को व्यापारिक जहाजलाई अमेरिकी सेनाले ओमानको खाडीमा निष्क्रिय बनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले शुक्रबार उक्त जानकारी दिएको हो । अमेरिकी सेनाका अनुसार बिहीबार सैन्य विमानबाट पलाउको झण्डा बोकेको ‘एमभी प्यासिफिक आर्चर’ जहाजको पछिल्लो भागमा सटीक हतियार प्रहार गरिएको थियो । प्रहारपछि जहाजको इन्जिन तथा सञ्चालन प्रणाली निष्क्रिय भएको र त्यसमा सवार सर्वसाधारण चालक दलका सदस्यहरू सुरक्षित रहेको जनाइएको छ । सेनाका अनुसार उक्त जहाज इरानको बन्दर अब्बास बन्दरगाहबाट निस्किएपछि अमेरिकी नाकाबन्दी उल्लंघन गर्दै अघि बढ्ने प्रयासमा थियो । जहाज ट्र्याकिङ वेबसाइटहरूले यसको गन्तव्य सिंगापुर रहेको देखाएका छन् । यसैबीच, इरानी नौसेनाका प्रमुख शाहराम इरानीले शुक्रबार सरकारी टेलिभिजनमार्फत अमेरिकी नाकाबन्दी तोड्ने र क्षेत्रीय जलक्षेत्रबाट शत्रुलाई हटाउने उद्देश्यले अभियान सञ्चालन गर्ने बताएका छन् । अमेरिकाले गत अप्रिलदेखि इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाउँदै आएको छ । तेहरानसँगको वार्ताका क्रममा गर्मीयाममा केही समय हटाइएको नाकाबन्दी जुलाईमा पुनः लागू गरिएको थियो । अमेरिकी सेनाका अनुसार नाकाबन्दी पुनः सुरु भएयता १५८ व्यापारिक जहाजलाई बाटो परिवर्तन गराइएको छ । प्यासिफिक आर्चर यस नाकाबन्दीअन्तर्गत निष्क्रिय बनाइएको कम्तीमा १५औँ जहाज हो । यसअघि नोभेम्बर ७ मा अर्को जहाजलाई निष्क्रिय बनाइएको थियो । यस घटनाले अमेरिका र इरानबीचको तनाव पुनः बढ्न सक्ने चिन्ता थपिएको छ । यसअघि जुनमा अमेरिकी सैन्य कारबाहीमा गिनी–बिसाउको झण्डा बोकेको एक ट्यांकरका तीन जना चालक दलका सदस्यको मृत्यु भएको थियो ।
इरान–अमेरिका तनाव चर्किंदै, नाकाबन्दी तोड्ने अर्को जहाजमाथि अमेरिकी हमला

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






