नेपालस्थित इजरायली दूतावासले साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई) र उदीयमान प्रविधिमा इजरायलको अनुभव तथा विशेषज्ञता आदानप्रदान गर्ने उद्देश्यले मंगलबार काठमाडौंमा ‘इजरायल साइबर एन्ड एआई’ कार्यक्रम आयोजना गरेको छ। सोमबार आयोजित कार्यक्रममा सरकार, सूचना प्रविधि, एआई, बैंकिङ तथा अन्य सम्बन्धित क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले इजरायलले अनुसन्धान र नवप्रवर्तनमा गरेको लगानीबाट नेपालले सिक्न सक्ने बताए। उनले इजरायलले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशतभन्दा बढी रकम अनुसन्धान तथा विकासमा खर्च गर्ने गरेको उल्लेख गरे। नेपालले पनि इजरायललगायत मित्रराष्ट्रसँग सरकारी तहमा सहकार्य गर्नुका साथै निजी क्षेत्रका अनुसन्धान केन्द्र, नवप्रवर्तन संस्था र उद्योगबीच साझेदारी बढाउनुपर्ने उनको भनाइ थियो। यस्तो सहकार्यले नयाँ प्रविधिको विकास र आर्थिक उन्नतिका अवसर सिर्जना गर्न सक्ने उनले बताए। कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्तामा इजरायलको अनुभव नवप्रवर्तन, सिर्जनशीलता र प्रविधिको व्यावहारिक प्रयोगमा आधारित रहेको बताए। नेपालसँग अनुभव आदानप्रदानले प्रविधि क्षेत्रमा सहकार्यका नयाँ अवसर खोल्ने उनको भनाइ थियो। उनले नोभेम्बर ९ देखि १२ सम्म नेपाली एआई तथा साइबर क्षेत्रको प्रतिनिधिमण्डलले गरेको इजरायल भ्रमणबारे पनि जानकारी गराए। कार्यक्रममा इजरायलका विभिन्न प्रविधि तथा आर्थिक क्षेत्रका विज्ञहरूले प्रस्तुति दिएका थिए। सहभागी विज्ञमा प्रेसिजन सिस्टम्सका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत इटाय डानेनबर्ग, भ्यालु कन्सल्टिङ ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एरेज आर्ये, इजरायलको अर्थतन्त्र तथा उद्योग मन्त्रालयअन्तर्गत नेसनल ग्रोथ डाइरेक्टरेटकी हाईटेक क्लस्टर प्रमुख इनबल मिन्कम्यान र फास्ट लेन इजरायलका प्रमुख कार्यकारी अधिकृत योसी मेलामेड थिए। कार्यक्रममा आयोजित छलफलमा इजरायलको प्रविधि तथा नवप्रवर्तन प्रणाली र जटिल चुनौती समाधानमा उन्नत प्रविधिको प्रयोगबारे चर्चा गरिएको थियो। छलफलमा नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास–आईटी) का उपाध्यक्ष विभूषण बिष्ट र कार्यकारी बोर्ड सदस्य नारायण कोइराला पनि सहभागी थिए। कार्यक्रममा एआई प्रयोग गरी तयार पारिएका इजरायल स्थापनाको इतिहास तथा त्यहाँको उत्पादन र प्रविधि क्षमतासम्बन्धी भिडियोसमेत प्रदर्शन गरिएको थियो। दूतावासले ज्ञान आदानप्रदान, संस्थागत साझेदारी र प्रविधिसम्बन्धी अनुभव साटासाटमार्फत नेपाल–इजरायल सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। The post इजरायलको साइबर सुरक्षा र एआई प्रविधिबारे काठमाडौंमा छलफल appeared first on Technology Khabar.
इजरायलको साइबर सुरक्षा र एआई प्रविधिबारे काठमाडौंमा छलफल

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर





