कैलाली । घरायसी विवादका क्रममा आमाको हत्या गरेर १६ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ का ५८ वर्षीय प्रेमबहादुर शाही रहेका छन् । शाहीले २०६७ पुस २८ गते घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया आमा सुनरुपा शाहीको टाउकोमा ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट गम्भीर घाइते भएकी सुनरुपाको उपचारका क्रममा पुस २९ गते नेपालगञ्जस्थित नर्सिङ होममा मृत्यु भएको थियो । आमाको मृत्यु भएपछि शाही फरार भएका थिए । त्यतिबेला ४२ वर्षका रहेका शाहीविरुद्ध उनकी श्रीमती जमुनाले नै सासूको हत्या गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । आमाको हत्या गरेपछि भारतको दिल्ली पुगेका शाही पछि उत्तर प्रदेशको मेरठमा बस्न थालेका थिए । उनले हिमाञ्चल प्रदेशबाट जडीबुटी संकलन गरेर ल्याउने र मेरठका गाउँगाउँमा पुगेर बिक्री गर्ने व्यवसाय गर्दै आएका थिए । शाही मेरठमा जडीबुटीको व्यापार गरिरहेको गोप्य सूचना पाएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो । नेपालको प्रहरीले भारतीय भूमिमा आफैंले पक्राउ गर्न कानुनी अधिकार नपाउने भएकाले भारतीय प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका शाहीलाई कैलाली जिल्ला अदालतबाट पक्राउ मितिदेखि लागू हुने गरी पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरी हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीसँगको बयानमा शाहीले आमाको हत्या गर्ने आफ्नो मनसाय नरहेको र रिसको झोकमा ढुंगा प्रहार गर्दा टाउकोमा लागेको बताएका छन् ।
आमाको हत्या गरेर १६ वर्षदेखि फरार रहेका प्रेमबहादुर भारतबाट पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






