कैलाली । तिहारको बिदा सकिएलगत्तै कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा पर्यटकको चहलपहल बढेको छ । बिहीबार बिहानैदेखि पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको थियो। परिवार, आफन्त र साथीभाइसँग घुमफिर गर्न पुगेका पर्यटकका कारण पार्क दिनभरजसो भरिभराउ बनेको थियो । पार्कको टिकट बिक्री काउन्टरका विनोद चौधरीका अनुसार बिहीबार मात्रै २ लाख ६० हजार रुपैयाँ बराबरको टिकट बिक्री भएको हो । उनका अनुसार एकै दिन १० हजार बढी पर्यटक यहाँ पुगेका हुन् । टीकापुर पार्क घुम्न कैलालीसहित बाँके, बर्दिया, कञ्चनपुर, दाङ, बुटवल र सुर्खेतलगायत विभिन्न जिल्लाबाट पर्यटक पुगेका थिए । चाडपर्वका समयमा पार्कमा देखिएको पर्यटकको चहलपहलले यसको लोकप्रियता र पर्यटकीय सम्भावना थप उजागर गरेको छ । घोडाघोडी नगरपालिका–२ का रनिल चौधरीले टीकापुर पार्कलाई सुदूरपश्चिमकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चित्रण गरे । हरियाली वातावरण, सुन्दर बगैँचा र कर्णाली नदीको निकटताले पार्कको प्राकृतिक सौन्दर्य थप आकर्षक बनाएको उनको भनाइ छ । यद्यपि पर्यटकको सुविधाका लागि सरसफाइ, शौचालय, खानेपानी, बस्ने ठाउँ र सुरक्षा व्यवस्थामा थप सुधार आवश्यक रहेको उनले बताए । त्यस्तै, जानकी गाउँपालिका–२ बढरियाकी सुशीला चौधरीले पार्कमा नयाँ आकर्षण थप्नुपर्ने आवश्यकता औँल्याइन् । पार्कभित्र सङ्ग्रहालय स्थापना गरी यसको इतिहास, स्थापना, विकासक्रम, पुराना तस्बिर तथा प्राकृतिक सम्पदाबारे जानकारी दिने व्यवस्था गर्न सके पर्यटकले मनोरञ्जनसँगै ज्ञानसमेत प्राप्त गर्ने उनको सुझाव छ । बर्दियाको राजापुरबाट पार्क घुम्न आएका राजाराम थारुले टीकापुरको पर्यटन विकासका लागि पार्कसँगै आसपासका पर्यटकीय स्थललाई पनि जोड्नुपर्ने बताए। दौलतपुरघाटको झोलुङ्गे पुल र सनकट्टी घाटको पुललाई पर्यटकीय गतिविधिसँग जोड्न सके पर्यटकको आकर्षण थप बढ्ने उनको भनाइ छ । पार्कभित्र कृत्रिम ताल निर्माण गरी बोटिङ, वाटर पार्क, बाल उद्यान तथा व्यवस्थित विश्रामस्थल निर्माण गर्न सके पर्यटकको बसाइ अवधि बढाउन सकिने उनले बताए । जानकी गाउँपालिका–२ का विकास चौधरीले टीकापुर पार्कलाई केवल घुमफिर गर्ने स्थानमा सीमित नराखी मनोरञ्जन, प्रकृति, इतिहास र पारिवारिक रमाइलोको साझा गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए । यसका लागि स्थानीय सरकार, पार्क व्यवस्थापन समिति, पर्यटन व्यवसायी र सरोकारवाला निकायबीच समन्वय र दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ छ । तत्कालीन राजा महेन्द्रसँग ऐतिहासिक सम्बन्ध रहेको टीकापुर पार्क २०२८ सालमा स्थापना भएको हो । करिब ८५ बिघा क्षेत्रफलमा फैलिएको पार्कमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका र ऐश्वर्य उद्यानलगायत संरचना रहेका छन् । सुरुमा ‘बंगला’ नामले चिनिने यो पार्क अहिले सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । पार्कमा पर्यटकको बढ्दो आगमनले टीकापुरको पर्यटन विकासको सम्भावना उजागर गरेको छ । तर पर्यटकको आकर्षणलाई दिगो बनाउन पार्कको संरक्षण, पूर्वाधार विकास, सरसफाइ र नयाँ पर्यटकीय गतिविधि थप्न आवश्यक देखिएको छ । व्यवस्थित योजना र प्रभावकारी व्यवस्थापन गर्न सके टीकापुर पार्क देशकै महत्वपूर्ण पर्यटकीय केन्द्रका रूपमा स्थापित हुने देखिन्छ ।
आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






